मिस इङ्ल्याण्डकाे ताज उतारेर कोराना संक्रमितको उपचारमा खटिन भाषा मुखर्जी

काठमाडाैं । संकटको बेला बिरामीको सेवा नै सबैभन्दा ठूलो धर्म हुने गर्दछ । बेलायतकी सुन्दरी भाषा मुखर्जीले पनि अहिले आफ्ना मिस इङ्ल्याण्ड २०१९ को ताज उतारेर आफ्नो पेशामा फर्केकी छिन् । भारतीय मूलकी भाषा मुखर्जी बेलायती नागरिक हुन् । उनको बाल्यकाल भने कलकत्तामा बितेको थियो । ९ वर्षको उमेरमा परिवारसँगै बेलायत गएकी उनी गत अगष्ट २०१९ मा मिस इङ्ल्याण्ड २०१९ चुनिएकी थिइन । सिएनएनलाई दिएको एक अन्तर्वातामा भाषाले गत साता बेलायत फर्केको बताइन् । सुन्दरीको ताज पहिरिएपछि संसारका बिभिन्न देशको भ्रमणमा गएकी उनी कैयन् सामाजिक संस्थाको सदभावना राजदूत हुन् । संसारका बिभिन्न देशमा सामाजिक र मानवीय काममा नै सहभागी भएपनि अहिले देशमा कोरोना भाइरस फैलिएपछि आफूले सबै छोडेर पुरानो पेशामा फर्केको उनले बताइन् । संयोग नै भनौं मिस इङ्ल्याण्ड २०१९ चुनिनु अघि उनी बोस्टनको पिलग्रिम अस्पतालमा जुनियर डाक्टरको रुपमा कार्यरत थिइन् । उनी श्वासप्रश्वाससँग सम्बन्धि रोगको विशेषज्ञ पनि हुन् । यो त्यसै पनि कठिन निर्णय नभएको बताउँदै उनले देशलाई आफ्नो आवश्यकता परेकोले अरु देश जाने यात्रा बन्द गरेर बेलायत फर्केको बताइन् । बीबीसी हिन्दी

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोना भाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये एक हुन् । “म ७० दिनभन्दा बढी समयदेखि घरबाहिर निस्किएको थिइनँ,” भावुक मुद्रामा झेङकुनले भने । शहरको मध्यभागबाट बग्ने विशाल याङ्जी नदीको पुलबाट शहरको झिलिमिली नियाल्न आइपुग्नु भएका झेङकुन अनायाश भावुक भएका थिए । “यति धेरै दिन घरभित्र बस्दा म पागलझैं भएको थिएँ ।” झण्डै १ करोड १० लाख मानिसको बसोबास रहेको उहानका सडकहरू एकाएक सवारी साधनले भरिएका थिए भने बिमानस्थल, रेल र बस स्टेशनहरूमा लामालामा लाइन देख्न सकिन्थ्यो । उहानबाट आफ्ना घर फर्कन चाहने तथा अन्यत्रै काम गर्ने हजारौं मानिस सबेरै यहाँ भेला भएका थिए । सडकका ठाउँठाउँमा राखिएका पहेंला अवरोधहरू हटाइएका थिए । यद्यपि आवासीय घरहरुका ढोकामा सुरक्षा पहरा अझै राखिएको छ । टोङले आफ्नो अपार्टमेन्ट कम्प्लेक्सका बासिन्दालाई भाइरस देखिएपछि अरु मानिसको आउजाउका लागि बन्द गरिएको थियो । छिमेकी कामदारहरुले ती कठिन दिनहरुमा खानेकुरा ल्याइदिने गरेको टोङले सम्झिए । शहर बन्द भएपछि त्यस्ता उपायहरू अपनाउनुको विकल्प थिएन । शहरमा भाइरसको प्रकोप बढेसँगै अस्पतालमा मानिसको भिड देखिन थालेपछि जनवरी २३ देखि उहानमा लकडाउन शुरू भएको थियो । विद्यालयहरू अझै बन्द छन्, भवनमा प्रवेश गर्नेक्रममा सबै मानिसको शरीरको तापक्रम जाँचिन्छ र मास्क लगाएर मात्र खुला ठाउँमा जान कडा नियमहरु जारी गरिएका छन् । शहरको नेतृत्वले सामाजिक र व्यावसायिक जीवन फिर्ता ल्याउने सन्दर्भमा कोरोनाभाइरसको दोस्रो संक्रमणको खतरालाई विचार गरेको बताएका छन् । तैपनि, यात्रा गर्न पाउनु पनि ठूलो राहत हो । बिमान र रेलद्वारा बुधबार मात्र ६५ हजार भन्दा बढी मानिस आआफ्ना गन्तव्यतर्फ लाग्ने अपेक्षा गरिएको छ । उहानका बासिन्दाहरूलाई अब कुनै आधिकारिक अनुमति बिना यात्रा गर्न पाउने छुट दिइएको छ तर सबैले मोबाइलमा स्वास्थ्य विवरण अनिवार्य रुपमा अद्यावधिक गर्नु पर्नेछ । यसबाट व्यक्तिको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी प्राप्त गर्न र अनुगमन गर्न सरकारी निकायहरुलाई सहज हुनेछ । लकडाउन खुलेसँगै पुल, सुरुङ र राजमार्गका टोल बुथहरूमा सवारी साधन र मानिसको भिड देखिन केही समय लागेन । मानिसहरु घुम्न, बाहिर निस्कन र शहर छाड्न कति आतुर थिए भन्ने यसैबाट देखिन्थ्यो । जिल्ला प्रहरी प्रमुख यान सियाङशेङका अनुसार करिब एक हजार सवारी साधन त मध्यरातमा उहानको सिमानाको व्यस्त राजमार्ग टोल बुथबाट बाहिरिएका थिए । बिमानस्थलका अधिकारी लोउ ग्वेइका अनुसार एमयु२५२७ ले उहान तियान्हे अन्तर्राष्ट्रिय एयरपोर्टबाट बिहान ७.२५ बजे नै हैनान प्रान्तको तटीय शहर सान्याका लागि पहिलो उडान भरेको थियो । यो शहर समुद्री बीचहरुका लागि प्रख्यात छ । “चालक दलले उडान अवधिभर चश्मा (गगल्स), मास्क, र पञ्जा लगाउने छन्,” चीफ उडान कर्मचारी गुओ बिन्क्सुलाई उद्धृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ । “यो धेरै सहज हुनेछ किनकि हामीले यस उडानका लागि धेरै तयारी गरेका थियौं ।” बिमानस्थलमा चेन यातिङले आफूलाई सुरक्षित राख्न थप व्यवस्था गरेका थिए । उनले सेतो सुरक्षा कवज पहिरिनुका साथै ग्लोभ्स, मास्क र बेसबल टोपी लगाउनु भएको थियो । उनले दक्षिणी शहर ग्वान्झाउतर्फ उड्ने तयारीमा थिए । “हामी एक राम्रो युगमा बाँचिरहेका छौं,” चेनले भने, “आजको यो उपलब्धि त्यति सजिलो थिएन ।” चीनमा भेटिएका कूल संक्रमितमध्ये यही शहरमा मात्र ८२ हजारभन्दा बढी हुनुका साथै ३ हजार ३ सयभन्दा बढीको मृत्यु भएको थियो । यहाँ नयाँ संक्रमितको संख्या निरन्तर घट्दै गएको छ । सरकारले बुधबार शहरमा कुनै नयाँ घटना नदेखिएको जनाएको छ । कोरोनाभाइरस सम्बन्धी चीनको गणनाको सत्यताका बारेमा प्रश्नहरू गरिए पनि उहान र हुबेको अभूतपूर्व लकडाउन सफल भएको छ र यही विधि विश्वका अन्य देशले पनि अपनाउन थालेका छन् । “उहानका मानिसहरूले धेरै नै संकट झेले र उनीहरुमा मानसिक र मनोवैज्ञानिक असर पनि परेको थियो,” स्थानीयबासी झाङ सियाङले बताए । “उहानका मानिसहरु आफ्नो दृढ इच्छाका लागि अब विश्वभर नै चिनिने भए ।” लकडाउनको अवधिमा उहानका बासिन्दाहरूले खाना किन्न वा बिल्कुलै आवश्यक मानिने अन्य कार्यहरूमा भाग लिन मात्र आफ्नो घर छोड्न पाउँथे । केहीलाई शहर छोड्न अनुमति दिइएको थियो, तर उनीहरूसँग कोरोना संक्रमण नभएको बलियो प्रमाण हुनु आवश्यक थियो । उनीहरुले कहाँ र किन जान लागेको भन्ने सरकारी प्रमाण पनि साथमै राख्नु पर्दथ्यो । त्यसपश्चात पनि अधिकारीहरूले उनीहरूलाई चिठीमा छाप छैन भन्दै फिर्ता पठाउन सक्थे । हुबे प्रान्तकै अन्य भागका बासिन्दाहरूलाई तीन साता पहिले उहानबाट बाहिर जान खुला गरिएको थियो । तर उनीहरुले पनि आफू स्वस्थ रहेको प्रमाण पेश गर्नु पर्ने व्यवस्था गरिएको थियो । शहर छोड्ने मानिसहरूले अन्तिम गन्तव्यमा पुग्नेक्रममा धेरै किसिमका चुनौती पार गर्नुपर्ने हुन्थ्यो, जस्तै १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तथा न्यूक्लिक एसिड परीक्षण गरियो। उहान शहर ठूलाठूला उद्योगका लागि प्रमुख केन्द्र हो, विशेषगरी सवारी साधन यहाँ उत्पादन हुने गर्दछन् । धेरैजसो प्रमुख प्लान्टहरुले उत्पादन पुनः सुरु गरेका भए पनि धेरै मानिसलाई रोजगारीको अवसर सिर्जना गर्ने साना र मझौला व्यवसायहरू संघर्षरत छन् किनभने यस्ता उद्यमका उत्पादनको माग अहिले ह्वात्तै घटेको छ । उहान नगर सरकारका अनुसार यस्ता उद्यम व्यवसायका लागि सरकारले २० अर्ब युआन (२ अर्ब ८० करोड डलर) को प्राथमिकताप्राप्त ऋणको व्यवस्था गरेको छ । रासस–एपी

इरानले आईएमएफलाई भन्योः ऋण दिनमा भेदभाव हुनु हुँदैन, हामीलाई पनि ५ अर्ब डलर सहयाेग चाहियाे

काठमाडौं । इरानका राष्ट्रपति हसन रूहानीले बुधबार अन्तर्राष्ट्रिय य मुद्रा कोष (आईएमएफ) लाई कोरोना भाइरस विरुद्ध लड्न ५ अर्ब अमेरीकी डलरको आपतकालीन कोष प्रदान गर्न अपील गरेका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रोहानीले मन्त्रिपरिषद्को बैठकमा भनेका छन, ‘म अन्तर्राष्ट्रिय संस्थाहरूलाई आफ्नो दायित्व पूरा गर्न अपिल गर्दछु, हामी आईएमएफका सदस्य हौं, ऋण दिनेमा कुनै भेदभाव हुनु हुँदैन ।’ उनले याे संकटकाे समयमा अन्तर्राष्ट्रिय मुद्रा कोषले इरानलाई ऋण सहयाेग गर्नु पर्ने धारणा राखेका छन् । उनले विश्वभर फैलिरहेकाे काेराेना भाइरससँग लड्नकाे लागि ५ अर्ब अमेरिकी डलर ऋण सहयाेगकाे अपील गरेका हुन् । इरानी राष्ट्रपतिले पनि अमेरिकाले लगाएको प्रतिबन्धको घोर भर्त्सना गर्दै यसलाई आर्थिक र चिकित्सा आतंकवाद भएको धारणा राखेका छन् । इरानमा हालसम्म ६२ हजार ५ सय ८९ जना कोरोना संक्रमित रहेका छन् । जसमा ३ हजार ८ सय ७२ जनाको मृत्यु भइसकेको छ । हालसम्म २७ हजार ३९ जना निको भएर घर फर्किसकेका छन् । (बीबीसी हिन्दी)