भारतमा कोरोना संक्रमितकाे संख्या बढ्दाे, २४ घण्टामै १ हजार २११ थपिए

भारत । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् । भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसैगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (रासस/एएनआई)

मुद्राकोषले नेपालसहित विभिन्न देशको ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो

न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ । कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेका विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ । उनले भनेका छन् , “कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ ।” मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए। जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्राष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए । “संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ ।” (रासस-एपी)

विदेशमा रहेका ७७ प्रतिशत गैरआवासीय नेपाली स्वदेश फर्किने चाहनामा

लण्डन । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्नेमध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका संघले जानकारी दिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् । हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले नेपालबाट विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् । मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् । सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् । युएई, भारत, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपाएको महासचिव डा. शर्माले जानकारी दिए । विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्त भएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए । यसअघि संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ । वैदेशिक रोजगारी तथा विदेशमै बसोबास गर्ने नेपालीको संख्या ६० लाखको हाराहारीमा भएको अनुमान गरिएको छ ।