वायु प्रदूषणबाट इरानमा वर्षेनि २० हजार बढीको मृत्यु, ८ अर्ब अमेरिकी डलरको क्षति
तेहरान । इरानमा वायु प्रदूषणबाट वर्षेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ । तीन करोड ५० लाख जनसङ्ख्या भएको इरानका २७ वटा शहरमा गरिएको अध्ययनबाट ज्यान गुमाउनेको उक्त सङ्ख्या अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका वायु स्वास्थ्य तथा जलवायु परिवर्तन विभागका प्रमुख अब्बास शासवानीले तासनिमलाई बताए । वायु प्रदूषणका कारण हुने रोगबाट वार्षिक रूपमा १२.६ प्रतिशत मृत्यु हुने गरेको तथा वायु प्रदूषणकै कारण देशले आठ अर्ब २० करोड अमेरिकी डलर वार्षिक क्षति व्यहोर्नु परेको उनले बताए । राजधानी तेहरानको वायु प्रदूषणको स्थितिबारे टिप्पणी गर्दै उनले एक वर्षमा उक्त शहरमा छ हजार चार सयले ज्यान गुमाएका जानकारी दिए । मृतकको उक्त सङ्ख्या सन् २०२२ को मार्च महिनासम्मको हो । इरानी पात्रोअनुसार मार्चमा वर्ष समाप्त हुन्छ । शासवानीका अनुसार पुराना मोटरकार र डिजेलबाट सञ्चालन हुने मोटरसाइकल तेहरानको वायु प्रदूषणका प्रमुख कारक हुन् । तेहरानका पचास प्रतिशत यातायातका साधन थोत्रा र पुराना छन् भने ९० प्रतिशत डिजेल मोटरसाइकलले वायु प्रदूषण बढाएका छन् । शिशिर यामको आगमनसँगै तेहरानलगायत देशका प्रमुख शहरको वायु प्रदूषण डरलाग्दो रूपमा बढ्ने गरेको छ जसले स्थानी वासिन्दाको स्वास्थयमा जोखिम बढाउने गरेको छ । इरानी तथा विदेशी विज्ञले लामो समयदेखि अमेरिकाले लगाएको नाकाबन्दी, धैरै पहिले नै सञ्चालन रोक्नुपर्ने पुराना सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै वायु प्रदूषणको डरलाग्दो कारण हो । विश्वका सर्वाधिक वायु प्रदूषण भएका शहरहरूमध्ये तेहरान एक हो । लामो समयदेखि लम्बिएको अमेरिकी नाकाबन्दीका कारण सर्वसाधारण थोत्रा र पुराना सवारी साधन प्रयोग गर्न बाध्य भएका छन् । सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्ने उपकरण र प्रविधि प्राप्त गर्न इरानका निम्ति असम्भव भएको गत महिना राष्ट्रसङ्घीय मानव अधिकार विज्ञको एक टोलीले घोषणा गरेको थियो । नाकाबन्दीका कारण इरानका वैज्ञानिक विदेशमा हुने वातावरणसम्बन्धी अध्ययन, अनुसन्धानका परियोजनामा सहभागी हुन पाएका छैनन भने वातावरणीय विषय र त्यसको दिगोपन सुनिश्चित गर्ने तालिमबाट पनि उनीहरू वञ्चित छन् ।
न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा
न्युजिल्याण्ड । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उनले आज अप्रत्यासितरूपमा घोषणा गरेकी हुन् । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छिन् । बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । ‘म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,’ पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनिन् । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए । कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन् । सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उहाँ विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छिन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री हुन् । रासस
अफगानिस्तानमा कठ्याङ्ग्रिएर २५ जनाको मृत्यु
अफगानिस्तान । बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूका अनुसार जाज्जान प्रान्तको खमाब, खानका र आक्चा जिल्लामा बिगत दुई दिनदेखि भारी हिमपात हुँदा कठ्याङ्ग्रिएर नौ जना पुरुष, चार बालबालिका र पाँच जना महिलासहित १८ जनाको ज्यान गएको हो । त्यसैगरी निरन्तर बढिरहेको चिसोसँगै अनवरत हिमपात भएका कारण जाज्जानको छिमेकी सारी पुल प्रान्तमा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको प्रान्तीय प्रशासनका अधिकारी सैयद सफतुल्लाह सफवानले बताएका छन् । अधिक चिसो मौसममा भएको हिमपातले युद्धग्रस्त अफगानिस्तानका केही भागमा बाक्लो हिउँ जमेको छ । अघिल्लो साता अफगानिस्तानका केही स्थानको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको थियो । कुन्दुज , फर्याब, बादघिस, जज्जान र सारीपुल प्रान्तमा हालसम्म महिला र बालबालिकासहित ६० जनाले चिसोका कारण ज्यान गुमाएका थिएभने हजारौँ चौपाया पनि मरेका थिए । यसैबीच, चिसोबाट घरलाई न्यानो पार्न हेरत प्रान्तमा प्रयोग गरिएको ग्यासबाट विषाक्त कार्बन मोनोअक्साड उत्पन्न हुँदा बिरामी भएका एक सय ४० जनालाई प्रान्तीय अस्पतालमा भर्ना गरिएको छ । देशमा दाउरा तथा अन्य आधारभूत वस्तुको मूल्य आकाशिएपछि अफगान नागरिकले घर कोठा तताउन ग्यास प्रयोग गर्दै आएका छन् । रासस