जापानमा भारी हिमपात, यातायात अवरुद्ध

टोकियो । भारी हिमपात र शक्तिशाली हुण्डरीका कारण जापानका अधिकांश भागको यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेलसेवा बन्द गरिएका छन् भने केही स्थगन भएका छन् । बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही सेवामा विलम्ब भएको छ । बुलेट रेलसेवाको हालत पनि यस्तै छ । इष्ट जापान रेलवे कम्पनीले तोहोकु– शिङ्कासेन सेवाका साथै यामागाता– शिङ्कानसेन सेवा बुधबार बन्द रहने जनाएको छ । तोकाइदो र सान्यो शिङ्कानसेन क्षेत्रका प्रमुख रेलसेवा बन्द भएका छन् । परिस्थितिको विश्लेषण गरेरमात्र सेवा पुनः शुरु गरिने रेल सेवाका अधिकारीले बताएका छन् । हिउँ हटाउन राष्ट्रिय राजमार्ग पनि बन्द गर्नुपर्ने अवस्था आएको यातायात मन्त्रालयले जनाएको छ । चालकहरूलाई अत्यावश्यक अवस्थामा बाहेक सवारी साधन सञ्चालन नगर्न आदेश दिइएको छ । हिमपातका बेला प्रयोग गरिने टायर प्रयोग गर्न पनि गाडीका चालकलाई मन्त्रालयले आग्रह गरेको छ । जापान एयरलाइन्स र अल निप्पोन एयरवेजले पनि बुधबारका सयौँ उडान रद्द गर्ने योजना बनाएका छन् । उनीहरूले यात्रीलाई यथाशीघ्र आफ्नो उडान सुनिश्चित भएनभएको यकिन गर्न अनुरोध गरेका छन् । जापानको जल तथा मौसम विज्ञान विभागले देशको तापक्रम अझ घट्ने जनाएको छ । बिहीबार पनि बुधबारको झै मौसम सफा नरहने विभागको अनुमान छ । रासस

श्रीलङ्काकाको वैदेशिक रोजगारीको ८२ लाख डलर राज्यकोषमा

श्रीलङ्काका । श्रीलङ्काको वैदेशिक रोजगार विभागले ८२ लाख अमेरिकी डलर राज्यकोषमा योगदान गरेको छ । सन् २०२२ मा विभागले आर्जन गरेको उक्त रकम राज्यकोषमा दाखिला गरिएको हो । श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले वैदेशिक रोजगार ब्यूरोले गत वर्ष कमाएको तीन अर्ब राज्यकोषलाई सोमबार हस्तान्तरण गरिएको बताए । रोजगारीका निम्ति विदेश जाने देशका नागरिकबाट दर्ता शुल्कबापत उक्त रकम सङ्कलन भएको हो । राज्यकोषमा दाखिला गरिएको उक्त रकम इन्धन, चिकित्सा र अन्य कल्याणकारी कार्यमा खर्च गरिने तथा रु १० करोड क्यान्सर अस्पताललाई उपलब्ध गराइने मन्त्री नानायक्काराले बताए । गत वर्ष आप्रवासी कामदारहरूबाट देशलाई तीन अर्ब ८० करोड अमेरिकी डलर विप्रेषण प्राप्त भएको केन्द्रीय ब्याङ्कले जनाएको छ । रासस

पाकिस्तानभरी विद्युत अवरुद्ध

इस्लामाबाद । पाकिस्तानभरी सोमबार बिजुली अवरुद्ध भएको छ । यस विद्युत अवरुद्धको कारण कराँची र लाहोरका सहरहरुसहित देशका २२ करोड भन्दा बढी मानिसहरू प्रभावित भएका छन् । पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रिडको एक भागमा समस्याले देशभरि ब्रेकडाउन निम्त्याउन सक्छ । तीन घण्टा लामो विद्युत अवरुद्ध विगत दुई वर्षमा दोस्रो पटक भएको हो । सोमबार बिहान ७ः३० बजे राष्ट्रिय ग्रिडमा त्रुटि आएको कारण यस प्रकार देशभर विद्युत अवरुद्ध भएको जनाइएको छ । ‘विद्युतीय प्रणाली फ्रिक्वेन्सीमा बिहान राष्ट्रिय ग्रिडमा घट्यो जसले ठूलो ब्रेकडाउन निम्त्यायो,’ ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राजधानी र उत्तरपश्चिमी सहर पेशावरका केही भागमा सीमित विद्युत पुर्नस्थापनासँगै मर्मत कार्य चलिरहेको थियो। एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह सहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युतविहीन रहेको जनाइएको छ । जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखा पर्दा सम्पूर्ण देश अन्धकारमा डुबेको थियो ।कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु र भण्डारण सुविधाको अभाव जस्ता कारकहरूको संयोजनका कारण पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ । अस्पतालहरू प्रायजसो जेनेरेटरहरूसँग ब्याकअप हुन्छन् जबकि विद्यालयहरूले आफ्नो कक्षा कोठा तताउन ग्यास प्रयोग गर्छन् । यस हिउँदमा लोडसेडिङले घरेलु घरपरिवार र कपडा उत्पादनलगायतका उद्योगहरूलाई असर गरेको छ, पाकिस्तानको सबैभन्दा ठूलो उद्योगहरूमध्ये एक, केही प्लान्टहरू अस्थायी रूपमा बन्द छन् । रासस