भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

भारत । बढ्दो बैंक ब्याज दरका बावजुद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो । नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ । प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष आठ रियल्टी बजारमा कुल तीन लाख १२ हजार छ सय ६६ आवासीय भवन बिक्री भएका थिए भने तीन लाख २८ हजार एक सय २९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो । आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो । बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलव्ध गराइने ऋणको दर पाँच पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो । रासस

नाइजेरियामा रेल स्टेसनबाट ३० जनाभन्दा बढी व्यक्ति अपहरण

नाइजेरिया । नाइजेरियाको दक्षिणी इडो राज्यस्थित रेल स्टेसनबाट शनिबार एके(४७ राइफल बोकेका हतियारधारीहरूले ३० जनाभन्दा बढी व्यक्तिलाई अपहरण गरेको जनाएको छ । इडो गभर्नरको कार्यालयले जनाएअनुसार बन्दुकधारीहरूको आक्रमण इग्वेबेनमा करिब ४ बजे स्थानीय समयमा भएको थियो । एके ४७ असल्ट राइफल लगायतका हतियार लिएर आएका मानिसहरूले आक्रमणको सो स्टेशनमा ट्रेनको पर्खाइमा रहेका यात्रुहरूलाई आक्रमण गरेका थिए । सूचना मन्त्री क्रिस ओसा नेहिखारेले आक्रमणमा ३२ जना अपहरणमा परेको तर एकजना बेपत्रा भएको बताएका छन् । अहिले, सुरक्षाकर्मीहरू परिचालन गरी पीडितहरूको उद्धार कार्य अगाडि बढाइएको नेहिखरेले जनाएका छन् । रासस

पाकिस्तानको दक्षिण पश्चिममा बस र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा आइतबार राति यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा सात जनाको मृत्यु हुनाका साथै अन्य २० जना घाइते भएका छन् । प्राप्त जानकारी अनुसार त्यहाँस्थित राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन् । पाकिस्तानमा प्रायः सडक मुख्य कारण जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ । रासस