श्रीलंकाको वित्तीय बजार ५ दिनसम्म बन्द
काठमाडौं । श्रीलंकाको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलंकाका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् । श्रीलंकाले गत वर्षको अप्रिलमा आर्थिक संकट घोषणा गर्दै आफ्नो विदेशी ऋणको लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ । एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन् । उनले स्थानीय टेलिभिजन नेटवर्कसँग भने,’ऋण पुनर्संरचनाको बारेमा संसदमा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ ।’ उनले भने, ‘संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन । हामी आशा गर्छौं कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ । यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैंक र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ ।’ चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ । सरकारले गत अगष्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो । कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ । आईएमएफको शर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कनका लागि आफ्नो आन्तरिक र विदेशी ऋण सेवालाई आधाभन्दा बढी घटाउनुपर्छ । गत वर्षको शुरुमा अत्यावश्यक वस्तुको आयातका लागि समेत भुक्तानी गर्न विदेशी मुद्राको अभाव भएको थियो जसका कारण खाद्यान्न, इन्धन र औषधिको नसोचिएको (अकल्पनीय) अभाव भएको थियो । अर्थव्यवस्थाको कुव्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोधप्रदर्शनका कारण जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई अपदस्थ गरिएको थियो । राजापाक्षका उत्तराधिकारी, छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन प्रदर्शनमाथि कडा कदम चालेका छन्, मूल्य वृद्धि गरेका छन्, अनुदान खारेज गरेका छन् र कर दोब्बर पारेका छन्। यसै महिनाको सुरुमा आईएमएफले श्रीलंकाको अर्थतन्त्रमा ‘सुधारका अस्थायी सङ्केतहरू’ देखापरेको तर सुधार चुनौतीपूर्ण रहेको र कोलम्बोले पीडादायी सुधारहरू अघि बढाउनुपर्ने बताएको थियो । रासस
बङ्गलादेशी इस्लामिक लडाकू समूहका प्रमुख पक्राउ, होला त शान्ति ?
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा रहेको एक इस्लामिक सङ्गठनका नेतालाई प्रहरीले पक्राउ गरेको छ । देशको अशान्त चटगाउँ पहाडी क्षेत्रमा लडाकू प्रशिक्षण शिविर सञ्चालन गर्न सहयोग गरेको आरोप लागेका जमात अल अन्सार फिल हिन्दल शारकियाका संस्थापक शमिन महफुजलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार महफुजलाई शुक्रबार राति राजधानीको एक औद्योगिक उपनगरबाट उहाँकी श्रीमतीसहित पक्राउ गरिएको थियो । उनीहरू पेस्तोल, विस्फोटक पदार्थ र बम बनाउने सामग्रीसहित फेला परेका थिए । ‘महफुजविरुद्ध आतङ्कवाद विरोधी मुद्दा दायर गरिएको छ, ढाका नगर प्रहरी काउन्टर, आतङ्कवाद नियन्त्रण एकाइका मोहम्मद असदुज्जमानले पत्रकारहरूसँग भने, ‘हामी उहाँसँग सोधपुछ गर्नका लागि उहाँलाई १० दिनको लागि हिरासतमा लिएका हौँ ।’ महफुजका वकिलहरूसँग टिप्पणीका लागि सम्पर्क हुन सकेन । असदुज्जमानका अनुसार शारकियाका संस्थापकलाई सन् २०१४ मा पहिलो पटक हिरासतमा लिइएको थियो र जेलमा रहँदा उनी अन्य प्रतिबन्धित चरमपन्थी समूहको सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार महफुजले सङ्गठनलाई क्रिश्चियन जातीय समूह, कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ), द्वारा सञ्चालित प्रशिक्षण शिविरहरू प्रयोग गर्नका लागि मध्यस्थता गरेको थियो । गत अक्टोबरमा देशको विशिष्ट ‘¥यापिड एक्सन बटालियन’ ले भारतीय सीमा नजिकका तीन दुर्गम पहाडी शहरहरूमा केएनएफ र शारकिया शिविरहरूमा आक्रमण गरेको र दर्जनौं मानिसहरूलाई गिरफ्तार गरेको बताएको थियो । यस कारबाहीका कारण सयौं गाउँलेहरू सीमापारी भाग्न र उत्तरपूर्वी भारतीय राज्य मिजोरममा शरण लिन बाध्य भएका थिए । केएनएफ र बङ्गलादेशी सेनाबीच पछिल्लो चार महिनामा भएको झडपमा कम्तीमा पाँच सैनिकको मृत्यु भएको सेनाले जनाएको छ । केएनएफले भने गत वर्ष एक फेसबुक पोस्टमा शारकियासँग कुनै पनि सम्बन्ध अस्वीकार गरेको थियो । करिब एक दर्जन नास्तिक लेखक, धर्मनिरपेक्ष र समलिंगी अधिकारकर्मी र अल्पसङ्ख्यकको ज्यान जाने गरी भएको शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणपछि बङ्गलादेशको सुरक्षा बलले गत दशकमा इस्लामी अतिवादीहरूविरुद्ध देशव्यापी अभियान चलाएको थियो । सन् २०१६ मा ढाकाको एक रेष्टुरेन्टमा इस्लामिक स्टेटसम्बद्ध समूहका सदस्यले १७ जना विदेशीसहित २२ जना सर्वसाधारणको हत्या गरेका थिए । बङ्गलादेश प्रहरीले चरमपन्थीहरूको लुकेका स्थानहरूमा राष्ट्रव्यापी छापामा १०० भन्दा बढी व्यक्तिहरूलाई गोली हानेर मारेको छ र हजारौं कथित चरमपन्थी समूहका सदस्यहरूलाई गिरफ्तार गरेको छ ।
अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने
काठमाडौं । ई–कमर्श कम्पनी अमेजनले भारतमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । अमेजनका प्रमुख कार्यकारी अधिकृत एन्डी जस्सीले शुक्रबार वासिङ्टनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी उक्त घोषणा गरेका हुन् । भारतीय प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी शनिबार मोदी र जस्सीबीच ई–कमर्सको क्षेत्रमा छलफल भएको र भारतमा उपकरण आपूर्तिको क्षेत्रमा अमेजनसँग थप सहकार्यको सम्भाव्यताबारे पनि छलफल भएको जनाएको छ । प्रधानमन्त्री मोदीले भारतमा सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई)को डिजिटाइजेसनलाई बढावा दिने अमेजनको पहलको स्वागत गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।