काठमाडौं । ट्रम्प प्रशासनले कतारलाई ४.५ अर्ब अमेरिकी डलर बराबरको ‘केसी–४६ए’ एरियल रिफ्युलिङ विमान र सोसँग सम्बन्धित सैन्य उपकरणहरू विक्री गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयबारे जानकारी दिएको हो ।
विज्ञप्तिअनुसार कतारले चार थान केसी–४६ए विमान, चार थान जगेडासहित आठ थान पिडब्ल्यु ४०६२ टर्बोफ्यान इन्जिन, राडार वार्निङ रिसिभर र इन्फ्रारेड काउन्टरमेजर सिस्टम लगायतका अन्य प्राविधिक उपकरण र सहयोग सेवा खरिदको माग गरेको थियो ।
अमेरिकी विदेश मन्त्रालयले कतारले यी सैन्य सामग्री र सेवाहरूलाई आफ्नो सशस्त्र बलमा सहजै समाहित गर्न सक्ने क्षमता राख्ने बताएको छ । साथै, यस प्रस्तावित बिक्रीले त्यस क्षेत्रको आधारभूत सैन्य सन्तुलनमा कुनै परिवर्तन नल्याउने समेत स्पष्ट पारिएको छ ।