मूल्य बढेपछि भारतका किसान गोलभेँडा बेचेर नै करोडपति बन्दै

एजेन्सी । गोलभेँडाको मूल्यमा अत्याधिक वृद्धि भएपछि भारतका किसानहरु गोलभेँडा बेचेर नै करोडपति बन्ने भएका छन् । पुणे नारायणगंजका किसान तुकाराम भागोजीले एक महिनामा १३ हजार क्रेट गोलभेँडा बेचेर डेढ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । तुकारामको आफ्नै १८ एकड जमिन रहेको छ, जसमध्ये उनले १२ एकडमा गोलभेँडा खेती गरेका छन्। पछिल्लो महिनामा उनले एकहजार देखि १८ सय भारतीय रुपैयाँसम्मको मूल्यमा प्रतिक्रेट गोलभेँडा बिक्री गरेका थिए । सोमबार र मंगलबार चंडीगढको बजारमा गोलभेँडाको मूल्य ३५० रुपैयाँ प्रतिकिलो पुगेको थियो । शनिबारसम्म पनि त्यहाँ गोलभेँडाको मूल्य दुई सय भन्दा धेरै रहेको थियो । भारतमा अहिले गोलभेँडामा कायम भएको मूल्य केही वर्ष यताकै उच्च मूल्य हो । शुक्रबार नै दिल्लीमा गोलभेँडा २२० भारतीय रुपैयाँमा बिक्री भएको थियो । आज भने सो मूल्यमा भारी गिरावट आएको छ । केही ठाउँमा मूल्य कमी भएपनि यतिबेला भारतको सहरी क्षेत्रमा गोलभेँडामा सामान्यतया तेब्बर भन्दा धेरै मूल्य वृद्धि भएको देखिएको छ । हरेक वर्षायाममा भारतमा गोलभेँडाको मूल्य वृद्धि हुने गर्छ ।

भारतको बिहारमा चट्याङ लागेर २२ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा २२ जनाको मृत्यु भएको सरकारी टेलिभिजन अल इन्डिया रेडियोले शनिबार जनाएको छ । चट्याङसहित परेको भारी बर्षाका कारण शुक्रबार राज्यका केही भाग प्रभावित भएका छन् । भारतीय मौसम विज्ञान विभागले आगामी दिनमा बिहारको पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । वर्षाको समयमा घरबाहिर ननिस्कन पनि सचेत गराइएको छ । सरकारी तथ्याङ्कलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले प्रशारण गरेका समाचारअनुसार सन् २०२२ मा भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु भएको थियो ।

नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको पिंकको दाबी

एजेन्सी । नारीवादी सङ्गठन कोड पिङ्कले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) विश्वव्यापी सुरक्षाको लागि नभएको आरोप लगाएको छ । नेटो अमेरिकी साम्राज्यको तर्फबाट युद्धलाई उत्प्रेरित गर्ने संस्था भएको एक ब्लग पोस्टमा उसले उल्लेख गरेको छ । इतिहासको यो नाजुक क्षणमा नेटोले विश्वलाई अझ ठूलो सैन्यीकरण तर्फ धकेलेको, पृथ्वीको भविष्य र पारिस्थितिकीय प्रणालीलाई ध्वस्त पारेको, डढेलो र बाढीले बढाएको जलवायु सङ्कटको जोखिम घटाउनुको सट्टा हातहतियारमा गरिएको लगानीले नेटोको कार्यक्षेत्र विश्वशाान्ति एवम् समृद्धि नभएर फगत युद्ध भएको टिप्पणी गरिएको छ । नेटोले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को स्वीकृति बिना सन् १९९९ मा युगोस्लाभियामा आक्रमण गरेको, अफगानिस्तानमा २० वर्षको युद्ध छेडेर त्यहाँ तहसनहस पारेको र सन् २०११ मा अवैध रूपमा लिबियाको सरकारलाई ध्वस्त पारेको ब्लगमा लेखिएको छ । रूससँगको वर्तमान युद्धको अतिरिक्त नेटोले चीनको सामना गर्न दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र न्युजील्याण्डसँग उत्तेजक एशिया–प्रशान्त सैन्य गठबन्धन निर्माण गरेको तथा राष्ट्रसङ्घीय बडापत्र विपरीत आणविक हतियारको प्रवद्र्धनलाई भित्रभित्रै प्रोत्साहन गरेको आरोप ब्लगमा लगाइएको छ ।