पेट्रोल पम्पमा आगो लाग्दा २७ जनाको मृत्यु

मस्को । रुसको ककेसस गणतन्त्र दागेस्तानमा रहेको एक पेट्रोल पम्पमा आगलागीसँगै विस्फोट हुँदा २७ जनाको मृत्यु भएको छभने सयभन्दा बढी घाइते भएका छन् । आपतकालीन प्रतिकार्य मन्त्रालयका अनुसार माखचकलामा रहेको पेट्रोल पम्मपमा सोमबार राति उक्त दुर्घटना भएको हो । अग्नि नियन्त्रण कार्यालयका साथै सुरक्षा निकायको सहयोगमा आगो पूर्णरुपमा निभाइएको छ । रूसी स्वास्थ्य मन्त्रालयले भने मखाचकलाका अस्पतालमा धेरै घाइते भर्ना भएका र मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ । दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले पत्रकारहरूसँगको कुराकानीमा दुर्घटनाको अनुसन्धान भइरहेको जनाउँदै व्यक्तिगत लापरबाहीका कारण घटना भएको हो वा होइन भन्ने यकिन भइनसकेको बताएका छन् । दुर्घटनाको खवर प्राप्त हुनेबित्तिकै सुरक्षालगायत अन्य सम्बद्ध निकायका अधिकारी घटनास्थल पुगेर नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । रासस

बङ्गलादेशमा डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो, सङ्क्रमितको सङ्ख्या ८५ हजार भन्दा बढी

बङ्गलादेश । बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा दैनिक दुई हजार ९०५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको र जनवरीयता डेङ्गुका सङ्क्रमितको सङ्ख्या ८५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा अस्पताल र क्लिनिकबाट थप दुई हजार ९९१ जना निको भएर घर फर्केपछि निको हुनेको सङ्ख्या ७५ हजार २८० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस वर्षको अगष्टमा १४७, जुलाईमा २०४ र जुनमा ३४ जनाको मृत्यु भएको छ । गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएपछि अगस्टको पहिलो १३ दिनमा थप ३३ हजार ५७९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग डेङ्गु ज्वरा आउँदा टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नी दुख्ने, ग्रन्थी सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षण हरू देखा पर्छन् । एडिस मूलतः उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पाइने लामखुट्टेको प्रजाति हो । तर यो प्रजाति अहिले अन्टार्कटिका बाहेक सबै महादेशहरूमा फैलिएको पाइन्छ । रासस

उड्नै लागेको विमानमा चरा ठोक्किएपछि…

बङ्गलादेश । बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा उड्नलागेका दुई वटा विमानमा चरा ठोक्किएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एयरलाइन्सको ब्याङ्कक उड्नलागेको विमानमा चरा ठोक्किएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको उक्त विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो । दोस्रो घटनामा, रिपोर्ट अनुसार, त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोक्किएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेण्ड बाँकी हुँदा अकष्मात रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि पग्लिएका अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उक्त अखबारले खबर छापेको छ । यसअघि गत डिसेम्बरमा पनि सोही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोक्किएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो । रासस