विश्व अर्थराजनीति : चीनको नेतृत्वमा ब्रिक्सको विस्तार, अमेरिकालाई चुनौती
काठमाडौं । विश्व अर्थराजनीतिमा लामो समयदेखि प्रभुत्व कायम राख्दै आएको अमेरिकालाई उदयीमान चीन चुनौती बन्न सक्ने चर्चा हुँदै आएको विषय हो । तर, चीनले अर्थराजनीतिक संगठनकै विकास गरेर अमेरिकी साम्राज्यलाई तोड्ने प्रयास शान्त हिसाबले परिणाममै देखाउन खोजिरहेको छ । चिनीयाँ विश्वव्यापी उद्देश्यको एकटा महत्वपूर्ण कडीको रुपमा ‘ब्रिक्स’को विस्तारलाई हेरिएको छ । विश्व अर्थतन्त्रमा चीन दोस्रो बनिसकेको छ । तर, सम्पूर्ण आयामहरुमा चीन पहिलो शक्तिशाली बन्न सजिलो छैन । त्यसका लागि उसले शक्ति राष्ट्र तथा उदयीमान शक्ति राष्ट्रहरुलाई सहयात्री बनाउने प्रयास गरिरहेको छ । सन् २००९ बाट औपचारिक रुपमा शुरुवात भएको ब्राजिल, रसिया, भारत र चीन सम्मिलित राष्ट्रहरुको सहयात्रा सन् २०१० मा पुग्दा दक्षिण अफ्रिका समेत जोडिएर ब्रिक्सको रुप लियो । पछिल्लो १३ वर्षको अन्तरालमा सो संस्थाले बलियो आफूलाई एउटा बलियो अन्तर्राष्ट्रिय संगठनको रुपमा प्रस्तुत गरेको छ । भर्खरै दक्षिण अफ्रिकामा सम्पन्न ब्रिक्सको सम्मेलनमा अर्जेन्टिना, मिश्र, ईरान, इथियोपिया र साउदी अरब पर्यवेक्षक सदस्यको रुपमा सहभागी भए, जुन राष्ट्रहरु आगामी वर्ष ब्रिक्सको सदस्य राष्ट्र हुने बताइएको छ । ब्रिक्समा भएको सदस्य राष्ट्रहरुको सहभागिता अमेरिका सहित शक्ति राष्ट्रहरुको जी सेभेन भन्दा ठूलो हुन पुगेको छ । ब्रिक्स सम्मेलनको क्रममा चिनियाँ राष्ट्रपति सि जिङ पिनले ब्रिक्सको विस्तारलाई एतिहासिक भएको र सो विस्तारले विश्वमा शान्ति तथा विकासलाई थप बलियो बनाउने बताएका थिए । त्यस्तै दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ब्रिक्स देशको साथ साझेदारी गर्ने राष्ट्रहरुको पुरा ध्यान राख्ने बताएका थिए । सम्मेलनमा प्रत्यक्ष सहभागी नभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भिडियोमार्फत सम्बोधन गर्दै नवउदारवादले विकासशील देशहरुको परम्परागत मूल्यको लागि खतरा पैदा गरिरहेको विचार व्यक्त गरेका थिए । साथै सो विचार विश्वमा बहुध्रुवीय व्यवस्थाको लागि समेत चुनौति भएको उनको भनाइ थियो । पुटिनको यो भनाइ अहिले अमेरिकाको नेतृत्वमा विश्वमा जर्बजस्त हाबी भइरहेको नवउदारवादी विचार र एकध्रुवीय अभ्यासप्रति नै परिलक्षित छ । अहिले ब्रिक्समा जोडिएका देशहरु भूगोल, जनसंख्या र प्राकृतिक स्रोतका हिसाबले धनी रहेका छन् । खासगरी अमेरिकी प्रभुत्वमा कायम रहिआएको एकध्रबीय विश्व अर्थराजनीतिलाई चुनौती दिने हिसाबले चीनको पहलमा ब्रिक्स अगाडि आएको र रसिया र भारत लगायतका मुलुकहरुले पनि सो संगठनलाई आफ्नो अन्तर्राष्ट्रिय शक्ति विस्तारका निम्ति प्रयोग गर्ने कोसिस गरिरहेका छन् । पछिल्लो समयमा रुस युक्रेनबीच युद्धको विषयलाई लिएर अमेरिकाले विश्वलाई रुस विरुद्ध उभ्याने प्रयत्न गर्न खोज्यो तर, बलियो रसियन एलाइन्सले गर्दा सो विषयमा अमेरिका सफल हुन सकेन । त्यस्तै, चीन विरुद्धको घेराबन्दीमा पनि अमेरिका असफल हुँदै आएको छ, जसको कारण पनि चीनको अर्थराजनीतिक रुपमा विश्वमा विस्तारित उपस्थिति नै हो । अमेरिका भने ब्रिक्स विस्तारको विषयलाई लिएर चिन्तित नभएको प्रतिक्रिया अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवनले दिएका छन् । उनले ब्रिक्समा सहभागी भएका राष्ट्रहरुको मुख्य मुद्दामा समानता नरहेकाले कसैको भू-राजनीतिक प्रतिद्वन्दमा उत्रिने सम्भावना नरहेको उनको भनाइ छ ।
गर्मीले फ्रान्समा जनजीवन अस्तव्यस्त, १९४७ पछिकै बढी तातो
एजेन्सी । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य सुरक्षामा शतर्कता अपनाउन चेतावनी दिइएको छ । फ्रान्सका केही भूभागमा यतिबेलाको तापक्रम ४० डिग्रि सल्सियससम्म पुगेको छ । गर्मीले हुनसक्ने क्षतिलाई रोक्न १९ वटा फ्रान्सेली विभागहरु रेड अलर्टमा रहेका छन् । गर्मी उच्चस्तरमा पुग्ने भएसँगै होसियार हुन आग्रह गरिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य सुरक्षाको लागि विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् । बाहिरका गतिविधि नगर्न, आगोबाट बच्न र डढेलो लाग्न नदिने कुरामा शतर्क रहन आग्रह गरेका छन् । राष्ट्रिय मौसम विज्ञान निकाय मेटियो फ्रान्सका अनुसार यो यस वर्षकै धेरै गर्मी हो । गत सोमवार फ्रान्समा १९४७ पछिकै सबैभन्दा धेरै गर्मी भएको थियो । ड्रोमको न्योन्समा ४२.२ डिग्रि सेल्सियसको उच्च तापक्रम मापन गरिएको थियो ।
पूर्वराष्ट्रपति ट्रम्पद्वारा आत्मसमर्पण, दुई लाख धरौटीमा रिहा
अमेरिका । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी जेलमा ३० मिनेटभन्दा कम समय बिताएका उनी दुई लाख डलर धरौटी बुझाएर रिहा भएका छन् । जेलका अधिकारीले लागूऔषध कारोबार, तस्करी, मदिराले मातेर सवारी हाक्ने चालकलगायत अन्य फौजदारी अभियोग लागेकाहरूको औँठाछाप र टाउकोसहित अनुहारको तस्बिर लिने लज्जास्पद काम अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपतिको फोटो लिएर भएको छ । यो लज्जास्पद क्षण अमेरिकाका लागि दुःखद भएको दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय एनेनबर्ग स्कूल अफ कम्युनिकेसन्सका प्राध्यापक मार्टी कपलान बताउँछिन् । भविष्यमा इतिहासका पुस्तकहरूमा पूर्वराष्ट्रपति ट्रम्पको त्यो आपराधिक छवि स्थायी तस्बिर भएर रहने उनले टिप्पणी गरिन् । कानुन कार्यान्वयन गर्ने फुल्टन काउन्टी कार्यालयले अपराधको आरोप लागेका एक सामान्य नागरिकका रुपमा सार्वजनिक गरेको पूर्वराष्ट्रपतिको तस्बिरमा उनी निक्के रिसाको देखिन्छन् । हल्का खैरो पृष्ठभूमिमा खिचिएको तस्बिरमा उनले नीलो सूट, सेतो शर्ट र रातो टाई लगाएका छन् । उनको काँधको ठ्याक्कै माथि शेरिफको प्रतीक चिह्न पनि देखिन्छ । सतहत्तर वर्षीय पूर्वराष्ट्रपतिले आफू दोषी नरहेको दाबी गरेका छन् । यद्यपि उनीमाथि जर्जियामा जो बाइडेनले पाएको मतपरिणाम उल्ट्याउने प्रयास गरेको आरोप लगाइएको छ । उक्त कार्यालयले जारी गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल र चुनावी अभियान वेबसाइटमा पोस्ट गर्दै उनले आफूले केही गलत नगरेको र आफूमाथि निराधार आरोप लगाइएको उल्लेख गरेका छन् । राजनीतिबाट प्रेरित भएर आफ्नो आगामी निर्वाचन बिथोल्न आफूमाथि अभियोग लगाइएको उनले दाबी गरेका छन् । अर्बपति व्यापारी ट्रम्पलाई गत अप्रिलदेखि चार पटक आपराधिक रूपमा अभियोग लगाइएको छ तर उनी आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा भाग लिने दृढ निश्चयका साथ अघि बढेका छन् । जर्जियामा उनीमाथि जालसाजी गरेको, सरकारी अधिकारीलाई झुठा बयान दिन अभिप्रेरित गरेकोलगायत चार वटा मुद्दा दायर गरिएको छ । यसअघि उनीमाथि वयस्क चलचित्रकी नायिका स्टोर्मी डेनियललाईसँगको यौन सम्बन्ध, त्यसलाई सार्वजनिक नगर्न निजलर्या भुक्तान गरिउको ठूलो रकम, आफ्नो निजी निवासमा गोप्य सरकारी कागजात राखेको र सरकारलाई फिर्ता गर्न अस्वीकार गरेको तथा संसद् भवनमा समर्थक परिचालन गरेर तोडफोड र आक्रमण गराएको अभियोग लगाइएको छ । सन् २०२० को जनवरी छ तारिखमा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा सात जनाको मृत्यु हुनका साथै संसद्, महानगर र स्थानीय सुरक्षा निकायका एक सय ५० जना सुरक्षाकर्मी घाइते भएका थिए । त्यहाँ ट्रम्पले परिचालन गरेको भीडले अन्धाधुन्ध आक्रमण गरेको आरोप छ । रासस