हिमालयन एभरेस्ट इन्स्योरेन्सको नवनियुक्त सीईओ श्रेष्ठले गरिन् पदबहाली
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठले पदबहाली गरेकी छन् । निर्जीवन बीमा कम्पनीमाहरूमा दोस्रो महिला सीईओ बनेकी उनले बिहीबार पदबहाली गरेकी हुन् । नव नियुक्त सीईओ श्रेष्ठसँग बीमा क्षेत्रको २९ वर्षको अनुभव रहेको छ । वि.सं २०५२ फागुन १६ गते सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा प्रवेश गरेकी उनी विभिन्न पदमा काम गर्दै सीईओ बनेकी हुन् । सीईओ बनेपछि नयाँ योजनाको साथ उनले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व सम्हालेकि हुन् । नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक केन्द्रीत सेवा प्रदान गर्ने र समस्या समाधानमा जोड दिने उनको भनाइ छ । ‘मेरो लक्ष्य भनेको कम्पनीका सबै सदस्यमा जिम्मेवारी बोधको भावना सिर्जना गर्ने तथा कम्पनीको समग्र वृद्धिको वातावरण बनाउने हो,’ उनले भनिन् । कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठ नवनियुक्त सीईओ श्रेष्ठले बीमा क्षेत्रको अवसरहरू र चुनौतीहरू राम्रोसँग बुझेको र इन्स्योरेन्स कम्पनीलाई अझ उचाइमा लैजान सहयोग पुग्ने बताए ।
नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रामेन्द्र रायमाझी
काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ निर्वाचित संघको कार्यसमितिमा रामेन्द्र रायमाझी अध्यक्ष भएका छन् । यस्तै, मनिष नारायण जोशी उपाध्यक्ष, निर्मल भट्टराई महासचिव र शिभान्त राज पाण्डे कोषाध्यक्षमा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सन्दिप कार्की, पुष्पा शर्मा र लेखनाथ पोख्रेल निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उनीहरु निर्वाचित भएको संघले जनाएको छ ।
परिश्रम गर्ने युवालाई दैशमै अवसर, अकबरे खुर्सानी बेचेर ६ महिनामै १० लाख आम्दानी
ढोरपाटन । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे खुर्सानीको खेतीमा लागेका छन् । पाँच वर्ष अगाडि गाउँ फर्किएर सुरुमा कुखुरापालन गरेका कार्की व्यवसाय राम्रो नभएपछि बाख्रापालनमा लागेका थिए । उनी बाख्रापालनसँगै गत वैशाखदेखि अकबरेखेतीमा लागेका हुन् । कार्कीले अकबरेखेतीमा राम्रो आम्दानी देखेपछि अहिले यसको खेतीतर्फ जोड दिएका छन् । वैशाखमा लगाएका अकबरेका बिरुवाले अहिले फल दिएपछि कार्कीको खुर्सानीबारी राताम्यै बनेका छन् । छ महिनामै १० लाख रुपैयाँको अकबरे बिक्री गरेकाका कार्की खेती विस्तार गर्ने योजनामा छन् । बढ्दो बसाइँसराइ र युवाको विदेश मोहले गर्दा अहिले गाउँका खेतीयोग्य जमिन बाँझोमा परिणत भएका छन् । बसाइँसराइ गरेर गएको १० वर्षपछि फर्किएर व्यवसाय थालेका कार्कीले गाउँमा ठूलो सम्भावना देख्छन् । अहिले उनले गाउँका बाँझो जमिनलाई उत्पादनसँग जोड्न थालेका छन् । अकबरेको मागसमेत बढेको हुँदा उत्पादन बढाउनुपर्ने दबाबमा कार्की छन् । करिब १० रोपनी क्षेत्रफलमा करिब छ हजार अकबरेका बिरुवा सप्रिएर फल दिएपछि उनी बिहानदेखि साँझसम्मै बारीमा व्यस्त छन् । करिब तीन लाख रुपैयाँ लगानी गरेर सुरु गरेको खुर्सानी खेतीबाट यो याममा २० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहे पनि सुरुआती चरण भएको हुँदा सोचेअनुसार नभएको कार्कीले बताए । प्रतिकिलो दुई सय रुपैयाँमा करिब पाँच हजार किलो अकबरे बिक्री गरिसकेको उनको भनाइ छ । अझै केहीमात्रामा खुर्सानी टिप्न बाँकी रहेको उनी बताउछन् । अकबरेको बजारका लागि कुनै समस्या नभएको भन्दै अहिले बागलुङसहित चितवन पठाउने गरेको कार्कीले बताए । चितवनमा बुबाआमा रहेको हुँदा उनीहरुले बिक्री गर्ने गरेको कार्की बताउँछन् । ‘हाम्रो परिवारले धेरै वर्ष अगाडि चितवन बसाइँसराइ गरेको थियो, म पनि धेरै वर्ष उतै बसेँ, पछि गाउँ धेरै सम्भावना देखेर आएको हुँ, सुरुमा कुखुरापालन गरियो, राम्रो भएन, पछि बाख्रापालन थाले राम्रो हुँदै गयो, अहिले अकबरेलाई जोड दिएको छु, यसबाट धेरै राम्रो भयो’, कार्कीले भने, ‘सुरुमा धेरै सोच भएन, अलि धेरै आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको थियो, त्यो हुन सकेन, विस्तारै ज्ञान हुँदै गएको छ, अर्को वर्षबाट राम्रो हुने आशा गरेको छु, गाउँमा जग्गा जति पनि छ, मान्छेहरु कोही बजार झरेका छन्, कोही विदेश गएका छन् ।’ कार्कीलाई उनकी श्रीमती सन्दीपाले साथ दिँदै आएका छन् । चार वर्षदेखि बाख्रापालन गर्दै आएकी कार्कीले यसबाट पनि राम्रो आम्दानी गर्दै आएकी छन् । अब अकबरे खेतीलाई नै बढी समय दिने उनको भनाइ छ । हाल उनको बाख्रा फार्ममा ६० खसीबोका छन् । बढ्दो बसाइँसराइले गाउँ रित्तिएपछि सुनसान बन्दै गएको छ । गाउँमा व्यवसाय गरेर अरुलाई पनि यहाँ धेरै सम्भावना रहेको देखाउनेगरी काम गर्ने कार्की बताउँछिन् । नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पछिल्लो समय गाउँमा बस्नेको सङ्ख्या घट्दै गएपछि पालिकाले युवालाई उद्यमसँग जोड्नेगरी काम गर्न थालेको बताउँछन् । कार्कीले सिँचाइका लागि पाइप माग गरेको हुँदा केही समयमै उपलब्ध गराउने उनको भनाइ छ । कार्कीलाई आवश्यक कृषि अनुदानका साथै आवश्यक प्राविधिक सहयोग पनि गर्दै जाने प्रवक्ता भण्डारीले बताए । खुर्सानीखेती पहिलो पटक गर्न लागेको हुँदा बजारलगायत अन्य समस्या परे नगरपालिकाले सहजीकरण गर्ने उनी बताउँछन् । प्रवक्ता भण्डारीले भने, ‘नगरपालिकाले व्यावसायिक रुपमा कृषि गर्ने किसानलाई प्रोत्साहनका लागि अनुदानसहित प्राविधिक सहयोग गर्दै आएका छौँ, गलकोटमा नयाँ व्यवसायी थपिनु हाम्रा लागि राम्रो पक्ष हो, यस्ता पौरख गर्ने किसानलाई नगरपालिकाबाट सक्दो सहयोग हुन्छ, उनीहरुलाई प्रेरित हुनेगरी काम गर्नेमा हामी प्रतिबद्ध छौँ ।’ रासस