नेरुडे मिर्मिरे लघुवित्तको अध्यक्षमा अर्ज्याल नियुक्त

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मणिकुमार अर्ज्याल नियुक्त भएका छन् । कार्तिक ७ गते बसेको संस्था सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा अर्ज्याललाई नियुक्त गर्ने निणर्य गरेको हो । ‘उपरोक्त सम्बन्धमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा मिति २०८१ /०७/ ०७ गते बिहान बसेको ३५३ औं सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य श्री मणिकुमार अर्ज्यालज्यू मिति २०८१ /०७/ ०७ गते देखि लागु हुने गरी सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु,’ नेप्सेले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

डिआईजी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको आइतबार बसेको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो । राणालाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले जानकारी दिए । बढुवा सिफारिस भएकी राणा हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा कार्यरत छिन् ।

एनएमबि लघुवित्तको डीसीईओमा सजल खड्का नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तिय संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सजल खड्का नियुक्त भएका छन् । लघुवित्त संस्थाको सञ्चालक समितिको बैठकले उनलाई डीसीईओमा नियुक्त गरेको हो । खड्कालाई कातिक १ गतेदेखि लागू हुने गरी डीसीईओमा नियुक्त भएकाे जनाइएको छ । लघुवित्त क्षेत्रमा २ दशक भन्दा बढीको अनुभवी खड्काले यसअघि मातृभूमि लघुवित्तको डीसीईओ थिए । साथै उनले साविक स्पर्श लघुवित्तमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारीसमेत सम्हालेका थिए । उक्त लघुवित्त मर्जरपछि खड्का ग्लोबल आइएमई लघुवित्तको डीसीईओ बनेका थिए । साथै उनले किसान लघुवित्तको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएर पनि काम गरिसकेका छन् ।