समता घरेलु लघुवित्तको सीईओ बने डा. मदन घिमिरे
काठमाडौं । समता घरेलु लघुवित्त वितिय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. मदन घिमिरे नियुक्त भएका छन् । लघुवित्तको २२ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका सचिव विश्वराज श्रेष्ठले सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मार्फत उनको नियुक्तिको जानकारी गराएका हुन् । उनकाअनुसार डा. घिमिरेको कार्यकाल आगामी वैशाख १ गतेदेखि सुरु भई चार वर्षका लागि रहनेछ ।
कृषि विकास बैंकले माग्यो ११८ कर्मचारी, कुन पदमा कति ?
काठमाडौं । कृषि विकास बैंकले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको छ । बैंकले शाखा अधिकृतदेखि लेखापालसम्म खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि ११८ जना कर्मचारी मागेको हो । बैंकले १ जना शाखा प्रमुख, ४८ जना व्यवसाय अधिकृत, ३ जना सूचना प्रणाली अधिकृत, १ जना कानून अधिकृत, १ जना कम्प्युटर अधिकृत, ५ जना कर्जा अधिकृत र लेखापाल ५९ जनाका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि वैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला विजयी
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का गोविन्द कोइराला निर्वाचित भएका छन् । सामुहिक वाम गठबन्धनलाई पराजित गर्दै नेविसंघका उम्मेदवारहरूले प्रमुख पदहरूमा विजय हासिल गरेका छन् । अध्यक्षसहित सचिव र कोषाध्यक्ष पदमा पनि नेविसंघका उम्मेदवार विजयी भएका छन् । स्ववियु सचिवमा आशिष गिरी र कोषाध्यक्षमा दुष्यन्त गौतम (थोमस) निर्वाचित भएका छन् । सबै बुथको मतगणना एकीकृत गरिने प्रक्रिया जारी रहेको बताइएको छ । निर्वाचन समितिले औपचारिक रूपमा नतिजा घोषणा गर्न बाँकी रहेको भए पनि नेविसंघका उम्मेदवारहरू अग्रस्थानमा रहेको पुष्टि भइसकेको छ ।