नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली नियुक्त
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । नबनियुक्त सीईओ ज्ञवाली यसअघि नबिल बैंकमा कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै थिए । उनले नबिलसहित विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् । सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ । उनको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको नबिल बैंकले जनाएको छ । सकारात्मक सोच, प्रष्ट वक्ता, आकर्षक व्यक्तित्व भएकाले उनी युवामाझ सेलिब्रेटी बैंकर्सको रूपमा परिचित छन् । सामाजिक संजालमा उनको फ्यान एण्ड फलोअर्स पनि अरु बैंकर्सको तुलनामा निके धेरै रहेको छ । त्यस्तै, नबिल बैंकले नायब महाप्रबन्धक आदर्श बजगाईंलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।
नेपाल राष्ट्र बैंकको प्रवक्तामा किरण पण्डित नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले किरण पण्डितलाई संस्थाको प्रवक्ताको रूपमा नियुक्त गरेको छ । राष्ट्र बैंकको हालैको निर्णयअनुसार पण्डित अब बैंकको आधिकारिक सूचना सम्प्रेषण तथा सार्वजनिक संचार व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् । पण्डितले आर्थिक, मौद्रिक र वित्तीय नीति तथा राष्ट्र बैंकका गतिविधिबारे सञ्चार माध्यमलाई समयमै सूचना उपलब्ध गराउने दायित्व निर्वाह गर्नेछन् । राष्ट्र बैंकका अनुसार प्रवक्ताको रूपमा उनको कार्यकाल बुधबारदेखि औपचारिक रूपमा सुरु भएको हो । पण्डितको कार्यकालमा बैंकको सूचना प्रवाह थप पारदर्शी र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा कार्की निर्वाचित
काठमाडौं । नेपाल सरकारको राष्ट्रिय युवा परिषद अन्तर्गतको परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित भएका छन् । अबको दुई वर्ष कार्कीको कार्यकाल रहनेछ । शुक्रबार सानोठिमीस्थित राष्ट्रिय युवा परिषदको कार्यालयमा आयोजित एक कार्यक्रममा युवा सञ्जालको नयाँ कार्यसमिति छनौट भएको हो । नयाँ कार्य समितिमाअध्यक्ष कार्की, उपाध्यक्षमा प्रकाश परियार, महिला उपाध्यक्षमा हेमा मल्ल, सचिवमा अनिल नेपाली, सहसचिवमा उमा मिश्र, कोषाध्यक्षमा अमित कुमार दास, सह कोषाध्यक्षमा बिक्रम लकान्द्री सहित १६ जना सदस्यमा छनौट भएका छन् । सदस्यहरूमा लक्ष्मी खड्का, विवेचना अधिकारी, शर्मिला चक्रधर, ज्ञानी लाखे, विप्लव खतिवडा, प्रेम कार्की, देउरूपा थापा, पार्वती जोशी र पार्वति भट्टराई छनौट भएका छन् । युवा सञ्जालमा छनौट हुने सबैलाई शुभकामना दिदै राष्ट्रिय युवा परिषदमा उपाध्यक्ष सुरेन्द्र बस्नेतले सीपमा आधारित व्यवसायमा संलग्न सबैलाई एकजुट भएर आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्न प्रेरित गरे । देशभरिका युवालाई उद्धमशिलतामा लाग्दै सम्बृद्धि र देश विकासमा लाग्न आव्हान गरे । नव निर्वाचित अध्यक्ष कार्कीले परम्परागत व्यवसायलाई आधुनिकरण गर्दै सरकारसँग पहुँच पुर्याउन गर्नु भएको सहकार्यप्रति आभार व्यक्त गर्दै युवा परिषदका उपाध्यक्ष बस्नेतलाई आभार व्यक्त गरे । उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतम, शाखा अधिकृत रमेश कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो ।