मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष निरौला नियुक्त

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा सन्तोष निरौला नियुक्त भएका छन् । वैशाख ७ गते बसेको कम्पनी संचालक समितिको बैंठकले निरौलालाई आगामी चार वर्षको लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सिईओ निरौलाले आगामी वैशाख २२ गतेदेखि कम्पनीको कार्यकारी अधिकृतको पदभार सम्हाल्ने छन् ।

गोकर्ण बिष्ट भन्छन्- अब खाडीमा भेडा चराउन धाउनु पर्दैन

गुल्मी । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले अब युवाहरुले खाडी मुलुकमा भेडा चराउन धाउनु नपर्ने बताएका छन् । गुल्मीको मुसीकोट नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, “अब युवा खाडीमा भेडा चराउन जानु पर्दैन ।” उनले देशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्न दावी गर्दै भने,“गाउँमै हजारौं रोजगारी सिर्जना गरी युवालाई देशमै लगाउँछौँ, खाडीमा भेडा चराउन जानु पर्दैन ।” मन्त्री विष्टले चुनावको समयमा आफूहरुले बोलेको कुरा पूरा गर्नबाट पछाडि नहट्ने धारणा पनि राखे । “हामीले बोल्दै जाने, बिर्सँदै जाने होइन, हामीले बोलेका कुरा, केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत पूरा गर्नेछौँ” उनले भने, “अबको केही वर्षमा हामी अरुले दिएको खाने होइन, गरीब देशलाई सहयोग गर्न सक्ने बन्नेछौँ ।”

खाद्य संस्थानमा नयाँ महाप्रवन्धकको खोजी, १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । नेपाल खाद्य संस्थानमा महाप्रवन्धक नियुक्तिको प्रक्रिया अघि बढेको छ । दुई पटक पदपूर्तिको सुचना प्रकाशित गर्दा पनि पर्याप्त दरखास्त नपरेपछि महाप्रवन्धक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समितिले पुनः तेस्रो पटक आवेदन मागेको छ । यसअघि भदौ ९ र माघ ६ गते गरी दुई पटक आवेदन माग गर्दा पर्याप्त दरखास्त नपरेपछि तेस्रो पटक सुचना प्रकाशित गरेको समितिले जनाएको छ । स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा न्युनतम ५ वर्ष काम गरेको अनुभव भएको र ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेका उम्मेदवारले महाप्रवन्धकका लागि दरखास्त दिन पाउने भएका छन् । दरखास्त दिदा ५ हजार शब्द नबढ्ने गरी व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने समितिले जनाएको छ ।