एनएमबि बैंकका संचालक हरिबाबु न्यौपानेले दिए राजीनामा

काठमाडौं । एनएमबि बैंक लिमिटेडका संचालक हरिबाबु न्यौपानेले राजीनामा दिएका छन् । बैंक संचालक समितिको बैठकले फागुन २९ गतेदेखि लागू हुने गरी संचालक न्यौपानेको राजीनामा स्वीकृत गरेको हो । बैंकमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गरेका संचालक न्यौपानेले गत फागुन २७ गते एक पत्रमार्फत राजीनामा पेश गरेका थिए ।

खुल्यो खरिदारको विज्ञापन, प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते

काठमाडौँ । लोकसेवा आयोगले खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ। निजामती सेवाका सेवा, समूह, उपसमूहका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरुमा आप्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरिएको लोकसेवा आयोगले जनाएको छ । परीक्षा भने लिखित, कम्प्युटर परीक्षा र अन्तरवार्ता हुने लोकसेवाले जनाएको छ । खरिदार पदमा चैत २९ गतेसम्म आवेदन दिन सकिने छ । डबल दस्तुर तिरेर चैत २६ गतेसम्म अनलाइन माध्यमबाट आवेदन दिन सकिने छ । प्रत्येक विज्ञापनका लागि दरखास्त शुल्क ३०० सय बुझाउनु पर्नेछ, समावेशी तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ थप दस्तुत बुझाउनु पर्ने आयोगले जनाएको छ । सबै समूहको प्रथम पत्रको लिखित परीक्षा बैशाख १४ गते दिनको ११ बजे सञ्चालन हुने आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

२६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनः आवेदन माग

काठमाडौँ । सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ । रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेभसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिने छ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत र १९ नायब सुब्बास्तरका रोजगार संयोजकको पदपूर्ति गरिने मन्त्रालयले जनाएको छ । सो अन्तर्गत प्रदेश नं १ मा ६६ शाखा अधिकृत र पाँच नासु, प्रदेश नं २ मा ४५ शाखा अधिकृत, प्रदेश नं ३ मा ३१ शाखा अधिकृत र एक नासु, गण्डकी प्रदेशमा १४ शाखा अधिकृत र एक नासु, कर्णाली प्रदेशमा ४३ अधिकृत र ११ नासु तथा सुदूरपश्चिम प्रदेशमा ५० अधिकृत र एक नासु पदको पदपूर्ति गरिनेछ । गत महिना ७५३ स्थानीय तहमा रहेर कामकाज गर्ने गरी रोजगार संयोजकको आवेदन माग गरिए पनि विद्युतीय परीक्षा उत्तीर्ण हुन नसक्दा २६८ स्थानीय तहमा रोजगार संयोजक छनोट हुन सकेका थिएनन् । उक्त चरणमा २३ हजार ९६८ को आवेदन परे पनि ४८५ जना मात्र छनोट हुन सफल भएका थिए ।