नेपाल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको स्वतन्त्र संचालकमा रामहरी न्यौपाने नियुक्त भएका छन् । इन्स्योरेन्सको हालै सम्पन्न संचालक समितिको बैठकले न्यौपानेलाई कम्पनीको उक्त पदमा नियुक्त गरेको हो । नवनियुक्त न्यौपानेले आगामी चार वर्षसम्म कम्पनीको उक्त पदको कार्यभार सम्हाल्नेछन् । उनले गत माघ १ गतेदेखि नै आफ्नो कार्यभार सम्हालेका छन् ।

वोमी माइक्रोफाइनान्सद्धारा चितवनमा कृषि तथा पशुपालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

काठमाडौं । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न स्थानहरुमा श्रृखलाबद्ध तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त संस्थाबाट ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना रहेका थिए । त्यस्तै राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्लेमा ४१ जना तथा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १४ स्थित दलदलेमा ५८ जना, मध्यबिन्दु नगरपालिका वडा नं. १३ स्थित मैनाघाटमा ४१ जानले तालिम हासिल गरेका छन् । त्यस्तै चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ स्थित जितपुरमा ३० जना सदस्य तथा स्थानिय व्यक्तिलाई कृषि व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको छ । उक्त तालिममा उपस्थित सदस्य तथा स्थानियहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा प्रतिउत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा अतिथिको रुपमा उपस्थित नगरपालिकाका वडा अध्यक्षहरुले मन्तब्य व्यक्त गरेका हुन् । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ का अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, नवलपुर जिल्लाको देवचुली नगरपालिकाका प्रबक्ता वडा अध्यक्ष दिलबहादुर क्षेत्री, वडा नं. १४ का अध्यक्ष हेमराज दवाडी तथा मध्यबिन्दु नगरपालिका वडा नं. १३ का अध्यक्ष अर्जुन प्रसाद पङ्गेनी रहेका थिए । उक्त तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकासप्रसाद दाहाल तथा वकिलबहादुर गुर्धामीले दिनु भएको थियो ।

इजरायलले नेपाली कामदारको कोटा बढाउने

काठमाडौं । ठूलो सङ्ख्यामा नेपाली कामदारलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार सकारात्मक देखिएको छ । नेपाली कामदार मिहेनती, इमान्दार र अनुशासित भएका कारण नेपाली कामदारको सङ्ख्या बढाउन इजरायल सरकार सकारात्मक भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि इजरायलका राजदूत बेन्नी अमेरले मंगलबार गरेका भेटमा नेपाली कामदारलाई थप रोजगारीको अवसर प्रदान गर्न इजरायल सरकार तयार रहेको बताए । सो अवसरमा मन्त्री विष्टले कृषि, पर्यटन तथा रोजगारीको क्षेत्रमा सहयोग आदानप्रदान गर्ने पर्याप्त सम्भावना रहेको र नेपाली कामदार विशेष गरी ‘केयर गिभर’को सङ्ख्या थप गर्न सकेमा दुवै देश लाभान्वित हुने बताए । श्रम सम्बन्धको माध्यमबाट नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने उनले बताए श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । भेटमा राजदूत अमेरले इजरायलबाट फर्की आएका युवाले इजरायली कृषि प्रविधिको प्रयोग गरी विभिन्न व्यवसाय सञ्चालन गरेका जानकारी पाउँदा आफू खुशी भएको बताए। घरेलु कामदारका रुपमा खाडी मुलुक पुगेका नेपालीले धेरै दुःख पाए पनि इजरायलमा केयर गिभरमा काम गर्ने नेपालीले शारीरिक तथा आर्थिक शोषणमा पर्नु पर्दैन । इजरायलले मुख्यगरी केयर गिभरमा नेपाल, फिलिपिन्स, श्रीलङ्का र भारतबाट महिला कामदार लैजाने गरेको छ । रासस