स्पर्श लघुवित्तको सञ्चालकमा क्षितिज खड्का नियुक्त

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा क्षितिज खड्का नियुक्त भएका छन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठकले जनता बैंक नेपालको तर्फबाट प्रतिनिधि सञ्चालकको रुपमा खड्कालाई नियुक्त गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै नवनियुक्त खड्काले संस्थाको सञ्चालकको रुपमा आगामी बाँकी कार्यकाल सम्हाल्नेछन् । संस्थाको ४६औँ सञ्चालक समितिको बैठक जेठ ६ गते सोमबार बसेको थियो ।

४८ मेनपावरको कारोबार बन्द, बैदेशिक रोजगारीमा जान लागेकाहरु होशियार !

काठमाडौँ । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो । विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको सम्पूर्ण विवरण वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएकामा विवरण अध्यावधिक नगरिएकाले यही जेठ ३ गतेसम्म म्याद थप गरेको थियो । कारोबार बन्द भएसँगै ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कुनै पनि कार्य गर्न पाउने छैनन् । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २७२ मात्र सञ्चालनमा छन् । विभागले नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरिसकेको छ । रासस

सनराइज बैंकको कामु सीईओकाे जिम्मेवारी आशा राणालाई, काे हुन् राणा ?

काठमाडौं । सनराइन बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी नियुक्त भएकी छिन् । रत्नराज बज्राचार्यको ४ वर्षे कार्यकाल सकिएसँगै सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत रिक्त भएको थियाे । उनको वहिर्गमनसँगै कामु प्रमुख कार्यकारीकाे रुपमा राणालाई जिम्मेवारी दिइएको हाे । उनी बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । सन् १९८५ मा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफाेर्ड विश्वविद्यालयमा सहायक लेखापालको रुपमा व्यवसायिक करियर सुरुवात गरेकी राणाले राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक हुँदै सनराइज बैंकका प्रवेश गरेकी हुन् । सन् १९८८ मा बैंकिङ करियर सुरु गरेकी राणासँग त्यसपछि निरन्तर बैंकिङ क्षेत्रमा रहेको बैंकले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत रिक्त भएसँगै बैंकले नयाँ कार्यकारी प्रमुखको खोजी सुरु गरेको छ । नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार बढी प्रमुख कार्यकारी प्रमुख रिक्त भएको ३ महिनाभित्र अर्को नियुक्ति गरिसक्नुपर्छ ।