यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन, विराटनगर महानगरबाट आए कुमारप्रसाद दाहाल

काठमाडौँ । यातायात व्यवस्था विभागको महानिर्देशक परिवर्तन भएको छ । विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख कुमारप्रसाद दाहालको यातायात व्यवस्था विभाग काठमाडौँमा सरुवा भएको हो । विभागमा महानिर्देशक पदमा सरुवा भएर आएका दाहालले सोमबार नै कार्यालयमा हाजिर भई कार्य प्रारम्भ गरेका छन् । निजामति सेवामा लामो अनुभव हासिल गरेका महानिर्देशक दाहाल एक कुशल प्रशासक हुन् । उनले विराटनगर महानगरमा कार्यकारी प्रमुखको रुपमा कार्यरत रहँदा महानगरमा सुधारका धेरै काम गरेका छन् । यातायात व्यवस्था विभागमा महानिर्देशकको रुपमा आएका दाहालले विगतमा गरेको कार्यबाट यस कार्यालयको सेवा प्रवाहलाई छिटो छरितो र व्यवस्थित बनाउने आशा गरिएको छ ।

४ हजार युवालाई रोजगार बनाइँदै, सरकारले दिंदैछ निःशुल्क तालिम

काठमाडौँ । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराए । उनले छोटो अवधिका तीन महीने उक्त तालीमपछि युवा आफैँ स्वरोजगार हुने बताए । ३९० घण्टा सञ्चालन हुने तालीममा इलेक्ट्रेसियन, सिलाइकटाइ, जुनियर प्लम्बर, खाने पकाउने, कृषि, मोबाइल मर्मत, विभिन्न पहिरन निर्माण रहेका छन् । तालीमको लागि भृकुटीमण्डपमा आइतबारदेखि मङ्गलबारसम्म भौचर सङ्कलन गरिएको थियो । तालीममा प्रशिक्षार्थीलाई दैनिक ७५ रुपियाँ बराबरको खाजा समेत उपलब्ध गराइनेछ । काठमाडौँ उपत्यकाका विभिन्न तालीम प्रदायक संस्थाले दिइने उक्त तालीममा देशभरिका १६ देखि ४० वर्ष उमेर समूहका साधारण लेखपढ जान्ने, आर्थिक रुपमाले विपन्नता भएकाले सहभागी हुन सक्नेछन् । तीन महिनाको तालीमपश्चात प्रशिक्षार्थीको तालीमको सीप परीक्षण गरेर छ महीना रोजगारीमा जानु पर्नेछ । यसरी तालीमपश्चात तालीम दिने संस्थाले नै रोजगारमा लगाउने दायित्व रहेको उनले बताए । भौचरको आधारमा चैतको दोस्रो हप्ताबाट तालीम सञ्चालित हुनेछ । छोटो अवधिको तालीमको लागि इभेन्टले १८ हजार २२० हजार २०० र २२ हजार २०० उपलब्ध गराउँदै आएको छ । इभेन्टले यसवर्ष करीब १७ हजार बेरोजगार युवालाई रोजगार बनाउन छोटो अवधिको तालीम सञ्चालन गरेको छ । तालीमले मुलुकमा देखिएको बेरोजगारको समस्यालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने शाखा अधिकृत पौडेलले जानकारी गराए ।

सजन देवकोटा शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौँ । शिवम् सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी देवकोटालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। नवनियुक्त प्रमुख कार्यकारी देवकोटासँग २२ वर्षको व्यवस्थापकीय कार्य अनुभव रहेको छ । उनले विभिन्न नेपाली उद्योग तथा बहुराष्ट्रिय कम्पनीहरुमा काम गरेका छन् । नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट र चौधरी ग्रुप नेपालमा काम गरेको अनुभव रहेको छ । शिवम् सिमेन्टमा भने उनी विगत ४ वर्षदेखि आबद्ध रहँदै आएका छन् ।