आर्थिक संघको २९औं वार्षिक साधारणसभा, अध्यक्षमा प्राडा प्याकुरेल
काठमाडौं । नेपाल आर्थिक संघको अध्यक्षमा अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेल चयन भएका छन् । संघको २९औं वार्षिक साधारणसभाले प्याकुरेलको अध्यक्षतमा आगामी ३ वर्षका लागि १७ सदस्यीय कार्य समिति चयन गरेको हो । नेपालका अर्थशास्त्रीहरुको एकमात्र पेशागत संगठन नेपाल आर्थिक संघ नेपालको आर्थिक क्षेत्रमा विभिन्न नीतिगत तथा अनुसन्धानमुलक कार्यमा संलग्नहुँदै आएको छ । संघले नेपाल सरकारलाई खास गरी बजेट निर्माण तथा अन्य आर्थिक नीतिनिर्माण सम्बन्धमा समय समयमा स्वतन्त्र रुपले परामर्श दिँदै आएको संघका नवनिर्वाचित महासचिव गोपाल तिवारीले बताए । नेपालका वरिष्ठ अर्थशास्त्रीहरु, संघका साधारण सदस्य तथा आजिवन सदस्यको सहभागिता भएको उक्त भेलाले वरिष्ठ अर्थशास्त्री प्राध्यापक डाक्टर विश्वम्भर प्याकुरेलको अध्यक्षतामा आगामी ३ वर्षका लागि १७ सदस्यीयकार्य समिति चयन गरेको हो । उक्त वार्षिक भेलालाई सम्बोधन गर्दै श्रीलंकाका लागि नेपालका पूर्वराजदुत प्याकुरेलले संघले युवा अर्थशास्त्रीहरुलाई आर्थिक नीति तथा कार्यविधिहरुमा नयाँ दृष्टिकोण सहित पेश हुन सक्ने बनाउने विश्वास व्यक्त गरे । वरिष्ठ अर्थशास्त्रीको अनुभव र नयाँ पुस्ताको भिजन तथा उर्जाले नेपालको आर्थिक क्षेत्रमा उल्लेख्य टेवा दिन सक्ने र त्यसको आधार स्तम्भको रुपमा संघलाई परिचालित गरिने उनको भनाइ छ । ‘संघ नयाँ पुस्तालाई आर्थिक नीति तर्जुमादेखि कार्यान्वयनसम्मका कार्यमा सरकार तथा विकासका सहयात्रीहरुलाई तयार गर्ने स्वतन्त्र पेशागत संगठनको रुपमा विकास गरिनेछ,’ अध्यक्ष प्याकुरेलले भने । आगामी कार्यक्रमका रुपमा देशका सातै प्रदेशमा राष्ट्रिय आर्थिक मुद्दाहरु तथा वित्तीय संघीयता सम्बन्धी विषयहरुमा प्रदेशस्तरीय संवादहरु सञ्चालन गर्ने कार्यक्रम रहेको तथा राष्ट्रिय तहमा अनुसन्धान सम्मेलन गरिने संघका नवनिर्वाचित महासचिव तिवारीले बताए । संघका अध्यक्ष प्राडा प्याकुरेलले संघले राष्ट्रिय बजेट तथा सरकारले तोकेका अन्य प्राथमिकताका क्षेत्रमा नीति निर्माण सम्बन्धमा स्वतन्त्र राय दिने कार्यलाई निरन्तरता दिइने समेत बताए । कार्यक्रममा सहभागीहरुले संघ दरिलो थिंक ट्याङ्कको रुपमा विकसित हुँदै गइरहेको तथा यसको साख विस्तार हुँदै गइरहेको अवस्थामा यसका गतिविधिले विशेष महत्व राख्ने भएकोले नयाँ कार्यसमितिले उक्त साख विस्तारका लागि थप चनाखो र सक्रिय भएर लाग्नु पर्ने बताए । संघको नवनिर्वाचित कार्यसमितिमा प्राडा प्याकुरेल अध्यक्ष, डा. भवानी ढुंगाना वरिष्ठ उपाध्यक्ष, प्राडा गोविन्द नेपाल उपाध्यक्ष, गोपाल तिवारी महासचिव, डा. खोमराज खरेल सचिव र प्राडा शान्ता सिंह कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यहरुमा प्राडा विजय श्रेष्ठ, प्राडा केशवराज खड्का, केशवप्रसाद आचार्य, डा. पोषराज पाण्डे, प्राडा शिवराज अधिकारी, प्राडा माधवप्रसाद दाहाल, डा. मणिकुमार नेपाल, डा यादवमणि उपाध्याय, नविन अधिकारी तथा जमुना श्रेष्ठ छन् । संघमा त्रिवि केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा कुसुम शाक्य पदेन सदस्य रहेका छन् ।
राष्ट्रिय जनगणनामा साढे ४ अर्ब रूपैयाँ खर्च, ५५ हजार जनालाई २ महिना काम
काठमाडौं । २०७८ मा १२ औँ राष्ट्रिय जनगणना हुँदैछ । सो राष्ट्रिय जनगणनामा ४ अर्ब ५० करोड रुपैयाँ खर्च हुने छ भने ५५ हजार शिक्षित युवाले रोजगारी पाउने भएका छन् । जनगणनामा सुपरिवेक्षण, गणकलगायतका जनशक्ति परिचालन गरिने छ । सुपरिवेक्षण र गणक करारमा नियुक्त गरिने छ भने उनीहरुको शैक्षिक योग्यताअनुसार सरकारी स्केलमा तलब तथा भत्ता तोकिने छ । २०७८ जेठ र असारमा जनगणना हुँदैछ । नेपालीहरु रोजगारीको शिलसिलामा भारत लगायतका देशहरुमा जाने गरेका छन् । जेठ र असारमा खेती गर्ने समय भएकाले नेपालीहरु नेपाल फर्किने भएकाले पनि यो समय उपयुक्त भएको केन्द्रीय तथ्यांक विभागको भनाइ छ । अब हुने जनगणनामा शिक्षकको ठाउँमा अन्य शिक्षित युवा परिचालन गर्ने केन्द्रीय तथ्यांक विभागको तयारी छ । यसअघिका जनगणनामा शिक्षकहरु नै सहभागी हुने गरेका थिए । विभागले राष्ट्रिय जनगणनाको नमूना जनगणना विभिन्न १४ जिल्लामा गर्ने छ । नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म सञ्चालन हुनेछ । नमूना जनगणनाका लागि सुपरिवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी १ सय २२ जना जनशक्ति परिचालन गर्ने विभागले जनाएको छ । राष्ट्रिय जनगणनाका लागि विभागले काम थालिसकेको छ । सबै प्रदेशदेखि स्थानीय तहसम्म छलफल भैइसकेको छ । हरेक जिल्लामा जनगणनाका लागि एक एक वटा कार्यालय राख्ने तयारी छ । यस पटकको जनगणनाको क्रममा सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ । तर अब हुने जनगणनामा २० देखि २५ वटा मात्रै प्रश्नहरु हुने केन्द्रीय तथ्यांक विभाग सूचना अधिकारी तीर्थराज चौलागाँईंले बताए ।
राष्ट्रिय अनुसन्धान विभागले माग्याे २ सय ३२ जना सहायक सूचक, एसईई उत्तीर्णलाई पनि अवसर
काठमाडाैं । राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकको आवेदन खुला गरेको छ। सहायक सुचकका लागि एसईई उत्तीर्णले पनि आवेदन गर्न सक्ने बताइएकाे छ । १८ वर्ष पुरा भई २५ वर्ष ननाघेकाले माघ १९ गतेसम्म आवेदन दिन पाउने विभागले जनाएको छ। योग्यता पुगेका नेपाली नागरिकले अनलाइनबाटै आवेदन दिन सक्ने छन्। लिखित परीक्षा, स्वास्थ्य परीक्षण र अन्तर्वार्ताबाट कर्मचारी छनोट गरिने विभागले जनाएको छ। विभागका अनुसार आवेदनका लागि परीक्षा दस्तुर १ सय ५० रूपैयाँ लाग्नेछ। समावेशी समुहका लागि भने थप ३० रूपैयाँ लाग्नेछ। विभागले माग गरेका सूचक मध्ये १०४ जना समावेशी समुहबाट छनोट गर्ने जनाएको छ।