सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना गर्ने तयारीमा सरकार

सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो । सुर्खेतमा २०६५ सालदेखि साविकको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा सानो परिमाणमा रत्न पत्थर प्रशोधन विकास केन्द्र सञ्चालनमा आएको थियो । प्रदेश सरकारका उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक शम्भुप्रसाद पौडेलले कर्णालीमा पाइने बहुमूल्य धातुको पहिचान गरी सानो परिमाणमा प्रशोधनको काम भने यहाँबाटै भइरहेको बताए । उनका अनुसार अब स्थापना हुने प्रशोधन केन्द्रबाट ठूलो परिमाणमा केन्द्रमा मूल्यवान तथा अर्धमूल्यवान धातु रत्न, पत्थर कटिङ तथा पोलिसिङको काम हुनेछ । यसका लागि साविकको घरेलु तथा साना उद्योग विकास समितिले रत्न पत्थर कटिङ, पोलिसिङ तथा ड्रिलिङसम्बन्धी युवालाई तालीम दिइसकेको छ । काइनाइट, टुर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बराइट नेपालमा पाइने धातु हुन् । निर्देशक पौडेलले कर्णाली प्रदेश रत्न पत्थरका लागि उत्कृष्ट क्षेत्र रहेको बताएका छन् । “सरकारले सम्भावित ठाउँको अन्वेषण गरी उत्खननको योजना बनाएको छ, सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएपछि यसको बृहत् उत्पादन र बजारीकरण हुनेछ”, उनले भने “कर्णालीमा पाइने काइनाइट, टुर्मालिनजस्ता मूल्यवान पत्थरको व्यवस्थित उत्खनन नहुँदा राजश्व सङ्कलन हुन सकेको छैन ।” यस्ता पत्थर सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट जिल्लामा पाइन्छन् । सरकारले बहुमूल्य धातुको कटिङ, पोलिसिङ तथा ड्रिलिङका लागि सुर्खेत, धादिङ र डोटीमा रत्न पत्थर प्रशोधन वस्तु विकास केन्द्रको स्थापना गर्दैछ । रासस

वैदेशिक रोजगार सम्बन्धि ठगीको मुद्दा अब प्रहरी कार्यालयमा उजुरी दिन पाइने

काठमाडौं । वैदेशिक रोजगार सम्बन्धि आएका मुद्दालाई आगामी दिनमा प्रहरी कार्यालयमा उजुरी दिन पाइने भएको छ । वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीबीचको सहकार्यमा अब ठगीका उजुरीहरु प्रहरी कार्यालयबाट दिन मिल्ने व्यवस्था लागू भएको हो । वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न विभाग र नेपाल प्रहरीवीच समझदारी गरेको जानकारी दिएको छ । वैदेशिक रोजगार विभाग र प्रहरीबीच भएको सम्झौतापत्रमा वैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारणका तथा आफ्ना क्षेत्राधिकारका विषयहरु सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पुर्यारउने तथा एकापसमा सहकार्य गर्ने भएको छ । वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्ध कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याउने छ । मानव वेचविखन सम्वन्धी मुद्दाका विषयमा नेपाल प्रहरीको अपराध अनुसन्धान विभागरमानव वेचविखन अनुसन्धान व्युरोको अनुसन्धान अधिकृतको सहयोग लिन सक्नेछ। श्रम तथा रोजगार कार्यालयका प्रतिनिधिको संलग्नतामा वा कार्यालयका प्रतिनिधि उपलब्ध हुन नसकेको अवस्थामा विभागको सूचनाका आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिको समेत प्रतिनिधित्व रहनेछ । यस क्षेत्रमा नेपाल प्रहरीले त्यस्ता व्यक्ति वा संस्थाहरूको क्रियाकलापहरूको निगरानी गर्ने, सूचना सङ्कलन गर्ने तथा अनुसन्धान गरी स्पष्ट रुपले वैदेशिक रोजगार विभागको क्षेत्राधिकारमा पर्ने भएमा कागजात सहित विभागमा पठाउने छ। आफ्नो क्षेत्राधिकारको अवस्थामा नेपाल प्रहरीले अनुसन्धान तहकिकात गर्दा विभागको सहयोग चाहिने अवस्थामा विभागले संयुक्त अनुसन्धान गर्ने गरी अधिकृत कर्मचारी तोकी पठाउने छ ।

हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा पाण्डे, सञ्चालकमा ८ जना नियुक्त

काठमाडौं । हिमालय उर्जा विकास कम्पनीको अध्यक्षमा हरिप्रसाद पाण्डे नियुक्त भएका छन् । पुस २५ गते बसेको सञ्चालक समितिको ७८औं बैठकले पाण्डेलाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । सो दिन बसेको कम्पनीको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा पछि बसेको बैठकले अध्यक्ष सहित ९ जनाको नयाँ सञ्चालक समिति गठन गरेको हो । जसमध्ये संस्थापक समूहको तर्फबाट एक अध्यक्ष र ६ जना सञ्चालक नियुक्त भएका छन् भने सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालक नियुक्त भएका छन् । संस्थापक समूहको तर्फबाट प्रा.डा. भीम प्रसाद न्यौपाने, सरोज कुमार उपाध्याय, पशुपति चौलागाई, रमेश प्रसाद न्यौपाने, सोमनाथ पाठक र श्रीराम पाण्डे सञ्चालकमा नियुक्त भएका छन् । त्यस्तै, कपिल आचार्य र प्रमिला चौहान बस्नेत सर्वसाधारण समूहतर्फबाट नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले धेरै उद्योगहरू स्थापना गरिसेकेका छन् । उनले हालसम्म माछापुच्छ्रे मेटल एण्ड मशिनरी वर्क्स(पी) लिमिटेड, पोखरा फूड्स (पी. लि), सगरमाथा ईन्जिनियरिङ वर्क्स (पी) लि., पोखरा मेशिन टूल्स इंडस्ट्रीज (पी) लिमिटेड, पोखरा नूडल्स (पी.) लिमिटेड र रम्बा सामान्य खाद्य उद्योग (पी) लि. उद्योगहरू स्थापना गरी सञ्चालनमा ल्याइसकेका छन् । उनी टाक्स हाइड्रोपावर कम्पनीका पूर्व निर्देशक र सिभिल हाइड्रोपावर कम्पनीका पूर्व कार्यकारी अध्यक्ष पनि हुन्। पाण्डेले नयाँ उद्योग स्थापना गर्ने, उनीहरूलाई संवोधन गर्ने र उनीहरूसँग सफलतापूर्वक सञ्चालन गर्ने लामो अनुभव रहेको छ। साथै, उनीसँग मेकानिकल ईन्जिनियरिङ, सिभिल इन्जीनियरिङ, शैक्षिक संस्थानहरू, खाद्य उद्योग, जलविद्युत र वित्तीय संस्थानहरुको पनि अनुभव रहेको छ ।