६० हजार बेराेजगारलाई रोजगार दिने श्रममन्त्री यादवकाे घाेषणा
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले ६० हजार वेरोजगारलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्ने भएको छ । वेरोजगार युवालाई रोजगारी दिने उद्देश्य गतवर्ष सरकारले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि श्रम, रोजगार तथा सुरक्षा मन्त्री रामेश्वर राय यादवले ६० हजारलाई रोजगार दिने घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री यादवले भने ‘निवर्तमान मन्त्रीले बनाएका कार्य योजनालाई नै निरन्तर अगाडी बढाउने तथा आवश्यक परेको खण्डमा नयाँ कार्य विधि अगाडी ल्याउने छौं ।’ आगामी तीन महिनामा ‘श्रमिक बैंक’को रुपमा शुरुवात गर्ने श्रममन्त्री यादवले बताए । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलनमा एक सय दिनको प्रधानमन्त्री रोजगारले आगामी दिनमा स्थानिय तहबाट नै रोजगारीको आयोजना संचालन गर्ने मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले बताए । पदबहाली पश्चातको एक महिनाको कार्यको समिक्षा गर्दै आगामी दिनमा रोजगारीमा खटाएका श्रमिकको दुर्घटना बीमा गरिने तथा कृषि क्षेत्रमा रहेका श्रमिकको हक अधिकार पहिचान गरि सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया भईरहेको प्रवक्ता रेग्मीले जानकारी दिए । वैदेशिक रोजगारीमा गएर मृत्यु हुने परिवारलाई स्थानिय स्तरबाट नै साहेता रकम तथा सेवासुविधा प्रदान गर्ने छ । सो पत्रकार सम्मेलनमा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसाले विभिन्न देशमा जाने ५६ हजार ८ सय १० जनालाई पछिल्लो एक महिनामा श्रम स्वीकृति प्रदान गरेको जानकारी दिए । उनले भने ‘वैदेशिक रोजगार विभागले आगामी दिनमा वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पनि तथ्यांक राख्ने तयारी भएको छ ।’ विभागले सबै अभिलेखहरुको विद्युतीय अभिलेखांकन गरिनेछ जनाएका छन् । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा १ लाख ७७ हजार श्रमिकलाई रोजगार प्रदान गरेको थियो । जुन कार्यक्रमका लागि सरकारले ३ अर्ब ५ करोड रुपैयाँ सक्यो । त्यस्तै चालु आर्थिक वर्षमा गतवर्षको तुलनामा ६० हजार श्रमिकका लागि ५ अर्ब १ करोड रुपैयाँ सरकारले विनियोजन गरेको छ । गतवर्षको प्रधानमन्त्री रोजगार कार्यक्रमको बारेमा टिका टिप्पणी हुने मौका नदिने ढंगले कार्य योजनातय भईरहेको प्रधानमन्त्री रोजगार कार्यका संयोजक प्रकाश दाहालले बताए । यस वर्ष स्थानिय स्तरमा भएका समस्या तथा त्यहाँ आवश्यक पर्ने पूर्वाधारलाई लक्षित गर्दै निर्माण कार्य अगाडी बढाउने संयोजक दाहालले जानकारी दिए । हालसम्म १ लाख ३५ हजार ६ सय ५८ श्रमिक र ११ हजार ९ सय ७८ वटा रोजगारदाता सामाजिक सुरक्षा कोष आवद्ध भएको जानकारी दिँदै कोषका अध्यक्ष कपिलमणी ज्ञवालीले दिए । अध्यक्ष ज्ञवालीले आगामी दिनमा प्रदेशिक स्तरमा कोषका बारेमा जनचेतना मुलक कार्यक्रम दिँदै सबै क्षेत्रलाई सूचिकृत गर्ने प्रयास जारी रहेको जानकारी दिए । वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारलाई स्थानिय स्तरबाट नै सहायता रकम प्रदान गर्ने तथा घाइते भई कोमामा विरामीहरुलाई नेपाल ल्याउने तयारी भईरहेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए ।
नबिल बैंकको स्वतन्त्र सञ्चालकमा शर्मा
काठमाडौं । नबिल बैंकको स्वतन्त्र सञ्चालकमा ईला शर्मा नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले शर्मालाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त शर्माले सोमबार(पुस २१ गते) नै बैंकको सञ्चालक समितिको ५२६औं बैठकबाट पदबहाली गरेकी छिन् । उनी निर्वाचन आयोगकी पूर्वआयुक्त हुन् ।
कर्णालीका पाँच हजार युवाले यस वर्ष रोजगारी पाउने
सुर्खेत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) अन्तर्गतका विभिन्न कार्यक्रममार्फत कर्णालीका पाँच हजार युवाले रोजगारी पाउने भएका छन् । सिटीइभिटीका आङ्गिक, साझेदारी सङ्घसंस्था तथा छोटो अवधिका लागि सञ्चालन गरिने निःशुल्क तालिमबाट ती युवाले रोजगारी पाउने भएका हुन् । सिटीइभिटी कर्णाली प्रदेश कार्यालयले सोमबार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा चालू आर्थिक वर्षमा पाँच हजार युवालाई स्वरोजगार बनाउने जानकारी दिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले सिटीइभिटीले सञ्चालन गर्ने कार्यक्रम पारदर्शी हुनुपर्ने बताए । “सिटीइभिटीले राज्यको लगानीलाई दुरुपयोग हुन नदिन प्रभावकारी अनुगमन संयन्त्रको विकास गर्नुपर्छ, गरिब र न्यून आयस्रोत भएका व्यक्तिका लागि यसका कार्यक्रम उपयोगी छन्”, उनले भने, “तर, बिचौलियाले कार्यक्रम लिएर झारा टार्ने, बजेट सक्ने काम भएको गुनासो पनि सुनिने गरेको छ, अब सिटीइभिटीले यसतर्फ ध्यान दिनुपर्छ ।” सिटीइभिटीका कर्णाली प्रदेश निर्देशक हेमन्त पराजुलीले प्रदेश सरकारसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । “चालू आवमै पाँच हजारलाई रोजगारी दिएर आफ्नै गाउँ–ठाउँमा बस्ने वातावरण बनाउँछौँ”, उनले भने । कार्यक्रममा प्रदेशअन्तर्गतका सिटीइभिटीबाट सम्बन्धनप्राप्त शिक्षण संस्थाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । रासस