स्वदेशी लघुवित्तका सीईओ चापागाईंले दिए राजिनामा, कामु सीईओकाे जिम्मेवारी मगरलाई

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाईंले आफ्नो पदबाट राजिनामा दिएका छन् । कम्पनीको कम्पनी सचिव समेत रहेका सीईओ चापागाईंले दुबै पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई कार्तिक १७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । बैठकले आगामी मंसिर १ गतेबाट लागू हुने गरी सर्वसम्मतीबाट स्वीकृत गर्ने निर्णय गरेको छ । यससँगै, कम्पनीले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी राजन मगरलाई दिने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको कामु नायव प्रबन्धक मगरलाई आगामी मंसिर १ गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यसैगरी, मंसिर १ गतेदेखि रिक्त हुन गइरहेको कम्पनी सचिवको जिम्मेवारी पनि कामु नायव प्रबन्धक मगरले नै पाएका छन् । उनले कार्तिक १७ गतेबाटै कम्पनी सचिव पदको जिम्मेवारी सम्हालेका छन् ।

जो दशैंको टीका नपुछेरै मुग्लान लागे

धनगढी । निधारमा टलक्क टल्केको टिका । अनुहारभरी पसिना । ओठमाथि भर्खरै देखिएका जुँगाका रेखीहरु । पिठ्युँमा गह्रुँगो झोला बोकेर लाइनमा एकोहोरो टोलाइरहेका थिए अछामका मदन जोशी । दशैं सकिएको थिएन । बडा दशैं नेपालमा एक हप्तासम्म तामझामका साथ मनाइन्छ । तर, मदन भने दशैंको तेस्रो दिनमै कैलालीको गौरिफण्टा नाकामा भारत पस्न तम्तयार देखिन्थे । करिब १ सयभन्दा बढी मानिसहरुको संख्या रहेको लाइनमा उभिएर भारत पस्न तम्सिएका थिए मदन । दशैंको टीका लगाएर भारतलागि हिँडेका उनमा निराशा रेखीहरु भने प्रष्ट बुझिन्थे । चाडपर्वको समय । लामो समयसम्म घर परिवारसँग रमाउने रहर कस्को नहोला र ? तर, मदनको हकमा भने त्यो रहरलाई रहरमै सीमित राख्नुको विकल्प थिएन । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण भारतमा लकडाउन भएपछि जेठमा नेपाल आएका उनी फेरि काम गर्नैकै लागि भारत लागे । ‘नेपालमा बस्न खानको लागि केही नपाइनँ, ३/४ महिना भारतबाट ल्याएको पैसाले जसो तसो काम चल्यो, त्यो पैसा पनि सकियो, अहिले भोक भोकै मर्न लागेपछि भारत जान तयार भएँ,’ उनले दुखेसाे पाेखे । पेटमा खानको लागि नभएपछि चाडपर्वको पनि त्यति माया लाग्ने रहेनछ, अब तिहार उतै मनाउनु पर्ला,’ उनले तप्प आँशु खसाल्दै भने । मदन मात्र होइन उनको जस्तै पीडा भएका त्यो पंक्तिमा सयौं जना थिए । पंक्तिमा साना नानीबाबु काखीमा च्याप्दै बसेका बाजुराका प्रेम खातीको गुनासो पनि मदनको भन्दा कम थिएन । नेपालमा लकडाउन हुनुभन्दा २ दिन अगाडि नेपाल पुगेका प्रेम दशैंको तेस्रो दिनमै श्रीमति र आफ्नो छोराछोरी बोकेर भारत हिँडे । उनले गुनासो गरे, ‘नेपालमा बालबच्चा पाल्न नसकिने, भारत जानु बाहेको विकल्प नै छैन, सरकारले हामी जस्ता गरिबलाई हेर्दैन, भोक भोकै मर्नु भन्दा भारतमा जे काम पायाे त्यही गर्यो खायो, नेपालमा न काम पाइन्छ, नत पैसा नै ।’ उनले आफूहरु जस्तालाई सरकारले कुनै वास्ता नगरेको गुनासाे गरे । भारत नगएर आफूहरुको गुजारा नचल्ने बताउने उनका सबै परिवार भारतमै बस्दै आएका छन् । मदन र प्रेम मात्र हाेइन सुदूरपश्चिमका अधिकांशकाे राेजिराेटीकाे लागि जाने उपयुक्त ठाउँ नै भारत हाे । सुदूरपश्चिमका अधिकांश मानिस दशैंमा एक दुई दिनका लागि घर आएर फेरि भारतै फर्किन थालेका छन् । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर उनीहरू अहिले कञ्चनपुरको सीमा नाका गौरीफन्टा र गड्डाचौकी नाका भएर भारत गइरहेका छन् । प्रत्येक वर्ष दशैं तिहार नजिकिएसँगै भारतबाट यी दुई नाकाबाट हजारौँ सङ्ख्यामा नेपाली स्वदेश फर्किने गर्दथे । तर, यो वर्ष भने खासै मानिस नेपाल आएन । नेपाल आएकाहरु पनि चाँडै भारत जान बाध्य भएका छन् । घरको आर्थिक अवस्था कमजोर भएर विदेशमा मजदुरी गर्न जान उनीहरू भारत जाने गरेका छन् । कोरोना सङ्क्रमित सबैभन्दा धेरै हुने देशको सूचीमा पुगेको भारतमा कोरोना सङ्क्रमण बढ्ने क्रम रोकिएको छैन । यस्तो समयमा नेपालीहरू भारत जानु झन् जोखिम भए पनि जीवन चलाउन सहज अवस्था नभएपछि उनीहरू ज्यान नै जोखिम राखेर भारत फर्किन बाध्य भएका हुन् । भारतबाट फर्केका अधिकांश युवाहरूको चाहना स्वदेशमै सीप अनुसारको काम गर्ने थियो । तर,उनीहरूले यहाँ कहिँकतै रोजगारी नपाएपछि फेरि भारत नै जान विवश भएका हुन् । स्थानीय स्तरमा रोजगारीका अवसरहरु प्रर्याप्त नहुँदा चाडपर्व नसकिदै भारत पस्नु परेको दुखेसो उनीहरुको छ । देशमा तीन तहको सरकार भए पनि आम सर्वसाधारणको समस्या कसैले पनि नबुझेको प्रतिक्रिया भारत जानेहरु दिन्छन् । अहिले भारतका बिभिन्न शहरमा कामका लागी युवा, वयस्क, महिलादेखि वृद्ध उमेर सम्मका नागरिकहरु गौरीफन्टा नाकामा भेटिन्छन् ।

सुदूरपश्चिम प्रदेश: स्वरोजगारका लागि ७८ हजारको आवेदन

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कृषि तथा पशुपालनमार्फत स्वरोजगार बन्नका लागि ७८ हजार युवाले आवेदन गरेका छन् । कोरोनाबाट प्रभावित तथा रोजगारी गुमाइ स्वदेश फर्किएका करिब नौ हजार युवालाई कृषि तथा पशुपालनमार्फत स्वरोजगार बनाउने भन्दै प्रदेश सरकारले इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको थियो । प्रदेशका नौ वटै जिल्लाका ७८ हजार युवाले आयमूलक व्यवसायमा लाग्ने भन्दै आवेदन दिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा हेमराज अवस्थीका अनुसार पशुपक्षी विकासतर्फ ७० हजार र कृषितर्फ आठ हजारको आवेदन परेको छ । कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत मौरीपालन, भेडाबाख्रापालन, बङ्गुरपालन, स्थानीय कुखुरा र हाँस अन्य मासुजन्य पशुपालन लागि सबैभन्दा बढी आवेदन परेको छ । कृषि मन्त्रालयले २१ दिने समय दिएर सुदूरपश्चिमका ८८ वटै स्थानीय तह र जिल्लामा रहेका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट आवेदन सङ्कलन गरेको थियो । कृषि उत्पादकत्व वृद्धि गर्ने र कोरोना प्रभावित तथा विदेशबाट फर्किएका युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ ल्याइएको यस कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले मापदण्डसमेत बनाएको छ । “प्राप्त निवेदनका आधारमा ज्ञान केन्द्र र विज्ञ केन्द्रलाई अख्तियारी दिइसकिएको छ, तीमध्ये सातदेखि आठ हजार छनोटमा पर्ने देखिन्छ”, प्रवक्ता डा अवस्थीले भने । उनले कृषितर्फ ३० देखि ३५ हजार र पशुपक्षीतर्फ ४५ देखि ५० हजार रकम प्रदान गर्ने योजना रहेको बताए । त्यसका लागि मन्त्रालयले १५ करोड बजेट विनियोजन गरेको छ । “सबैभन्दा बढी कैलालीबाट आवेदन परेको छ”, उनले भने, “व्यावसायको प्रगति हरेर दुई किस्तामा रकम दिने भनेका छौँ ।” सुदूरपश्चिममा भारतबाट मात्रै गत चैतयता डेढ लाखभन्दा बढी स्वदेश फर्किएका छन् । रासस