युनाईटेड इन्स्योरेन्सकाे निमित्त सीईओमा उपासना पौडेल नियुक्त

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को निमित्त प्रमुख कार्यकारी अधिकृत( निमित्त सीईओ) मा उपासना पौडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत पौडेललाई निमित्त सीईओकाे पदमा नियुक्त गरेको हो । कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भएपछि इन्स्योरेन्सले उक्त पदमा पौडेललाई नियुक्त गरेको हो । भट्टराईको करार अवधि गत कार्तिक २४ गतेबाट समाप्त भएको थियो । साथै, उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत वर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको वृद्धि गर्न सफल भएको इन्स्योरेन्सले जनाएको छ ।

जीवन बीमक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा पौडेल

काठमाडौं । जीवन बीमक संघ नेपालको प्रथम साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ । आज (कार्तिक २८ गते) शुक्रबार सम्पन्न संघको साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको हो । नयाँ अध्यक्षमा निर्मल काजी श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । उनी मेटलाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान उपाध्यक्ष हुन् । त्यसैगरी उपाध्यक्षमा पोषक राज पौडेल निर्वाचित भएका छन् । उनी सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत र यस संघको निवर्तमान महासचिव हुन् । महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् । उनी अघिल्लो कार्यसमिति सदस्य थिए । कोषाध्यक्षमा प्रविन रमण पराजुली चयन भएका छन् । उनी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए । त्यसैगरी सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रि, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुंरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् । नेपाल बीमक संघका अध्यक्ष दिप प्रकास पाण्डेले समग्र बीमा क्षेत्रको व्यवसायिक र दिगो विकासको लागी दुबै संस्था मिलेर जानु पर्ने विषयमा प्रकाश पारेका छन् । जीवन बीमक संघ नेपालका निवर्तमान अध्यक्ष शिवनाथ पाण्डेले नयाँ कार्य समिति समक्ष रहेका चुनौती र अवसरको लागी सवै पक्षसंग समन्वय गरेर अगाडि बढ्न शुभकामना दिएका छन् । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले जीवन बीमा क्षेत्रको सम्रग विकासको लागी बीमकहरु, संघहरु र समिति आपसमा मिलेर काम गर्नु पर्ने बताउदै नयाँ निर्वाचित कार्य समितिलाई आगामी कार्यकालको लागी बधाई तथा शुभकामना दिएका छन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईले जीवन बीमा क्षेत्रको उल्लेख्य वृद्धिसँगै मुख्य गरि व्यतित बीमालेख कम गर्ने तथा अभिकर्ताको व्यवसायिकता र व्यवस्थापनमा सुधार गर्नु पर्ने चुनौती रहेको बताएका छन् । कार्यक्रमको अन्त्यमा नव निर्वाचित अध्यक्ष निर्मल काजी श्रेष्ठले सबैलाई धन्यवाद दिँदै सबै मिलेर बीमा क्षेत्रको व्यवसायिक विकास र नविनतम कार्यक्रमहरु संचालन गर्न तथा चुनौतीको मिलेर सम्वोदन गर्न समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अभिवादन बहुउद्देश्यीयको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा पुनः किशोर महर्जन

काठमाडाैं । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएकाे छ । आज सम्पन्न संस्थाकाे चौंथो वार्षिक साधारणसभाले संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको हाे । किशोर महर्जनको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थको उपाध्यक्षमा राजु महर्जन, सचिवमा महेन्द्र कुमार महर्जन, कोषाध्यक्षमा सुदन महर्जन र सञ्चालकहरुमा मुना नेम्कूल, धनगोविन्द महर्जन, यशु महर्जन, राम महर्जन र प्रकाश महर्जन रहेको छन् । संस्थाको चौंथो वार्षिक साधारणसभा सहकारी विभागद्वारा जारी साधारणसभा सञ्चालन सम्बन्धी मार्गनिर्देश अनुरुप सम्पन्न भएको छ । संस्थाले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिका कारण सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा गरेर साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष किशोर महर्जनले आ.व. २०७६।०७७ को प्रगति प्रतिवेदन र आ.व. २०७७।०७८ को प्रस्तावित नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक रुपान्तरणका लागि वित्तीय तथा गैर वित्तीय सेवाहरु संस्थाले उपलब्ध गराउँदै आएको र कोभिड १९ बाट बच्न सरकारले गरेको लक डाउन र निषेधाज्ञाका बीचमा पनि सदस्यहरुलाई वित्तीय सेवा दिन सकेको उनले बताए । संस्थाको उद्देश्य सदस्यहरुको आयआर्जनमा वृद्धि गर्ने क्षमतामा सघाउने भएकाले सोही अनुरुप संस्थाले आयमूलक र व्यवसायिक क्षेत्रमा ऋण लगानी गरी उनीहरुको आर्थिक स्तरमा क्रमशः स्तरोन्नति गर्दै लैजाने ध्येय रहेको उनले जनाएका छन् । संस्था बहुउद्देश्यीय भएकाले कृषि तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न बहुउद्दश्यीय परियोजनाको सम्भाव्यता समेत अध्ययन अगाडि बढाएको उनले जनाए । संस्थाले आफ्नै भवन निर्माणका लागि महालक्ष्मी न.पा. वडा. नं. ६ सिद्धिपुरमा ६ आना ३ पैसा जग्गा समेत खरिद गरिसकेको उनले बताए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत बाजा खलःलाई बाद्यबादन सामग्री, महिला सदस्यलाई सुत्केरी हुँदा खर्च, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता, कोरोना रोकथाम तथा नियन्त्रणमा आर्थिक सहयोग एवं गोदावरी खोला संरक्षण कार्यक्रम साथै रक्तदान जस्ता गतिविधिमा संलग्ना जनाउँदै आएको उनले बताए । त्यसैगरी १२३७ जना सदस्यहरुको आईएमई जनरल इन्स्योरेन्समा एक लाख बराबरको दुर्घटना बीमा समेत गरिएको उनले जानकारी गराए । सदस्यहरुलाई सहकारी सम्बन्धी अभिमूखिकरण कार्यक्रम सञ्चालन गरी सहकारीको महत्व र आवश्यकताका बारेमा थप शिक्षित बनाउने उनले बताए । संस्थाले महिला सशक्तिकरण र उद्यमशीलताका लागि प्रदान गर्दै कर्जाको सीमालाई ३० हजारबाट बढाएर ४० हजार पु¥याएको र बिना धितो ३ महिनाका लागि उक्त कर्जा उपलब्ध गराउने सभामा उनले जानकारी दिए । संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक कविता महर्जनले आ.व. २०७६।७७ को लेखा प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । त्यसैगरी संस्थाका कोषाध्यक्ष सुदन महर्जनले गत आ.व.को आर्थिक प्रतिवेदन र यस आ.व.को भावी योजना तथा बजेट सभामा प्रस्तुत गरेका थिए । आ.व. २०७६।७७ को अन्त्यसम्म संस्थाको शेयरपूँजी २ करोड १७ लाख ३४ हजार, बचत संकलन १५ करोड ५२ लाख र ऋण लगानी १६ करोड ११ लाख गरी कुल कारोबार २४ करोड ९ लाख पुगेको उनले बताए । संस्थामा असार मसान्तसम्म ११६१ सदस्य आवद्ध रहेका छन् । संस्थाले सदस्यहरुलाई मोबाइल बैंकिङका साथै विभिन्न कम्पनीसँगको सहकार्यमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा जडिबुटी र आयुर्वेदिक सम्बन्धी कारोबार समेत गर्ने योजना संस्थाको छ । बहुउद्देश्यीय सहकारी संघ ललितपुरले उत्कृष्ट संस्थाको रुपमा गत आ.व.मा उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०७६ बाट संस्था पुरस्कृत भइसकेको छ । गोदावरी नगरपालिकाको ठैवमा समेत सेवा केन्द्र शुरु गरेको संस्थाले सदस्यहरु विरामी भइ अस्पतालमा उपचार गराउँदा पर्न सक्ने आर्थिक भार कम गर्न ५ दिनको बेड चार्ज उपलब्ध गराउँदै आएको छ ।