गलत बसाइँले च्यापिन्छ नसा, बिग्रन्छ मस्तिष्क [अन्तर्वार्ता]
काठमाडौं । पछिल्लो समय व्यक्तिको जीवनयापन बदलिएको छ । बारीमा गएर दिनभर काम गर्ने दैनिकीबाट अहिले अधिकांशको समय कोठाभित्रको कुर्सीमा बित्न थालेको छ । बिहानदेखि साँझ एउटा कुर्सीमा दिन बिताउँदा मेरुदण्डदेखि विभिन्न नसाका समस्या बढ्दै गएका छन् । अहिले यो समस्याबाट नागरिक कसरी प्रभावित बनिरहेका छन् ? यस्ता रोग कसरी लाग्छन् र बच्न के गर्नुपर्छ यसै विषयमा इन्द्रसरा खड्काले वीर अस्पतालको न्युरोसर्जरी विभागका कन्सलटेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश : अहिले वीर अस्पतालमा न्यूरो अर्थात नसाका बिरामीहरू कत्तिको आइरहेका छन् ? वीर अस्पतालको न्युरो सर्जरी विभाग भनेको देशकै अग्रणी र एउटा केन्द्रीय रिफरल सेन्टर हो । यो नेपाल सरकारको धेरै कम विशिष्टीकृत सेवामध्ये एउटा पर्छ । यहाँ देशभरिका टाउको दुखाइ तथा मेरुदण्डका रोगका विभिन्न खाले बिरामीहरू सेवा लिन आउनुहुन्छ । यहाँ टाउको मेरुदण्डका चोट, ट्युमर, संक्रमण र उमेरका हिसाबले लाग्ने, हड्डी खिइएर लाग्ने लगायतको रोगको उपचार गरिन्छ । लक्षणका हिसाबले सबैभन्दा बढी टाउको दुखाइको समस्या, मेरुदण्डको समस्या र स्नायु नसाको समस्या लिएर अस्पताल आउनेको संख्या बढ्दो छ । यस्तो समस्या केकस्तो कारण हुन्छ ? हाम्रो शरीरको संरचनाले विभिन्न किसिमका रोगहरू लाग्ने गर्छन् । कतिपय हाम्रो वंशाणुगत हिसाबले रोगहरू आउने गर्छन् भने कतिपय वातावरणीय हिसाबले र जीवनशैलीले पनि आउँछ । यो रोगको कुरा गर्ने हो भने पनि भर्खर जन्मेका बच्चाहरूदेखि लिएर ९० वर्षसम्मका वृद्धवृद्धाहरूमा पनि समस्या देखिन्छ । यसमा एउटा बच्चामा किन के कति कारणले यो रोग लाग्छ भनेर हेर्दा जेनेटिक्स वंशाणुगत कारणले लागेको देखिएको छ । यसैगरी, वयोवृद्धलाई उमेरका हिसाबले लाग्ने कतिपय रोग हुन्छन् । अर्को हाम्रो जीवनचर्या जस्तै शरीरको खटनपटन र विभिन्न दुव्र्यसनले लाग्ने रोग एउटा हुन्छ । तीबाहेक संक्रमणजन्य रोगहरू छन् जो कसैलाई पनि लाग्ने सक्ने हुन्छ । यी तीनवटाकै प्रभावले टाउको, मेरुदण्ड र स्नायुसम्बन्धी रोगहरू लाग्ने हुन्छ । मेरुदण्डमा नसा च्यापिने रोग भनेको के हो, कसरी लाग्छ ? मेरुदण्डको काम सन्तुलन राख्ने हो । जस्तो तपाईंले चितुवा दौडेको, हरिण दौडेको देख्नुभएको छ होला । उनीहरूले पुच्छर र मेरुदण्डको प्रयोग गरेर आफ्नो सन्तुलन कायम गरेका हुन्छन् भने बलको लागि हातखुट्टाको प्रयोग गर्छन् । तर मान्छे अरू प्राणीभन्दा फरक छ । मानवको वृत्तिविकास हुँदै जाँदा मान्छे चार हातखुट्टाबाट हिँड्न छोडेर दुईखुट्टेमा परिणत भयो । त्यसैले मान्छेको मेरुदण्डको संरचना ठाडो भयो । जनावरको भने शरीरको सन्तुलनको लागि प्रयोग गर्ने मेरुदण्ड तेस्रो हुन्छ । हामीले विभिन्न काम गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा हाम्रो मेरुदण्डलाई पनि बलको काममा प्रयोग गर्न थालियो । जस्तै– कुनै गह्रौं सामान उठाउनुपर्दा कुप्रो परेर अगाडि झुक्ने र गह्रौं सामान समाएर जुरुक्क उठ्ने । यस्तो हुँदा मेरुदण्डलाई लोड पर्ने भयो । जे कामको लागि मेरुदण्ड बनेको होइन त्यसमा हामीले प्रयोग गर्न थाल्यौं भने विभिन्न समस्या त आइहाल्छ नि त । त्यसो भए हाम्रो बसाइले पनि मेरुदण्डको सन्तुलनलाई बिगारिदिन्छ हो ? अफिसमा बस्दा वा कक्षाकोठामा बस्दा मेरुदण्डको प्रयोग सही तरिकाले भएन, पोजिनस सही भएन । यसो हुँदा क्रमिक रुपमा मेरुदण्डको बायोमेकानिक्स हुन्छ । कसरी गुरुत्वाकर्षण शक्तिसँग मिलाएर शरीरभरि लोडलाई बाँड्ने भन्ने एउटा संरचना हुन्छ, त्यो संरचना बिग्रँदा कुनै एउटा बिन्दुमा बढी लोड पर्छ । यसो हुँदा यो बिन्दु बिग्रन थाल्छ । यसो हुँदा प्रायः व्यक्तिले मेरुदण्डमा नसा च्यापियो भने गर्धन देखाउँछन् कि कम्मर देखाउँछन् । किनभन्दा गर्धन पनि चल्ने भागमा पर्यो, कम्मर पनि चल्ने भागमा पर्यो । मान्छे प्रायः पढ्न बस्दा, मोबाइल चलाउँदा अगाडि झुक्छ भने बस्दा कुप्रो पारेर कम्मरलाई लोड पारेर बस्छ । यो कारणले मेरुदण्डको जुन संरचना छ यो बिग्रेर जान्छ । वर्षौं लगाएर बिग्रन्छ र अचानक यसले लक्षण दिन थाल्छ । शरीरको कुनै पनि मांशपेशीलाई यदि तपाईंले शरीरले जति गर्नुपर्ने हो त्यसरी काम दिनुहुन्छ भने त्यो भाग बलियो हुन्छ । यदि सही ढंगले काम दिनु भएन भने त्यो भाग कमजोर हुन्छ । त्यसो भए बस्दा के कुरामा ध्यान दिने ? सबैभन्दा पहिले व्यक्तिले आफूले गर्ने काम केहो त्यो कुरामा ध्यान दिनुपर्छ । यदि कुर्सीमा बसेर लामो समयसम्म काम गर्नुहुन्छ भने आफू बस्ने टेबुल, कर्सी मिलाउनुपर्यो । कुर्सी यसरी मिलाउनुपर्यो कि सामान्य तरिकाले बस्दा पनि ढाड सिधा बसोस् । यति त गर्न सकिन्छ । समस्या आइसकेपछि ध्यान दिनुभन्दा पहिला आउन नदिन सचेत हुनुपर्छ । यसका लागि कुर्सीमा कस्तो तरिकाले बस्ने भन्ने ध्यान दिनुपर्यो । हामीले बस्दा एउटा योगीले जसरी योग गर्दा बसेको पोज र महादेव कैलाशमा बसेको जसरी देख्छौ, त्यहीअनुसार मेरुदण्ड सोझो पारेर बस्यौं भने यो समस्या आउँदै आउँदैन । हामीले मेरुदण्डको कुरा गर्याैं, अर्को समस्या आजभोलि धेरै सुनिने भनेको टाउको दुखाइको विषय हो । टाउको किन दुख्छ ? टाउको दुख्नु एउटा सामान्य लक्षण हो । यो विभिन्न कारणले दुख्छ । सबभन्दा धेरै टाउको दुख्ने कारण भनेको अहिलेको आधुनिक अवस्थामा तनाव र खानपान हो । जो व्यक्तिको खानपान मिल्दैन, वातावरणसँगको क्रिया प्रतिक्रिया मिल्दैन, जसले सबैभन्दा बढी तनाव लिन्छ त्यसको सबभन्दा धेरै टाउको दुख्छ । योबाहेक सामान्य रूपमै टाउको दुखाइ आउने भनेको माइग्रेन पनि हो । यसको कारण भने अहिलेसम्म पत्ता लागेको छैन । तर धेरैजस्तो जेनेटिककै कारण भएको देखिन्छ । तर यसमा पनि जीवनचार्य मिलाउन नजान्दा बढ्दै जान्छ । तपाईंलाई माइग्रेन छ वास्ता गर्नुभएन भने यो जटिल बन्न सक्छ । माइग्रेन भएका व्यक्तिले तनाव लिने प्रवृत्ति हुन्छ, तर यस्तो गर्न हुँदैन । हामीले तनाव व्यवस्थापन गर्न सक्यौं, जीवनशैली परिवर्तन गर्यौं भने माइगे्रन र तनाव दुवै निको हुन्छ । यो तनाव र माइग्रेनको कारण मस्तिष्कमा कस्तो असर पार्छ ? यो विषयमा अध्ययनहरू पनि भएका छन् । एउटा अध्ययनले कुनै पनि कारणले तनाव बढी लिने व्यक्तिको टाउकोमा न्युरोन नसाहरू सुक्दै गएको देखिएको छ । संसारभरि गरिएका अध्ययनमा जो व्यक्तिले बढी तनाव लिन्छ उनीहरूको टाउकोको नसा सुक्छ । जो व्यक्तिमा माइग्रेन लामो समयसम्म रहन्छ, जस्तो कि २०–३० वर्षसम्म रह्यो भने उक्त व्यक्ति ५० वर्ष कटेपछि अल्जाइमर्स र स्ट्रोक हुने सम्भावना बढी देखिएको छ । माइग्रेनले आजको भोलि असर गर्दैन । तर वास्ता नगर्दा कालान्तारमा विभिन्न खालका समस्या देखिन्छ । यो मात्र होइन, तनावले व्यक्तिलाई बुढोपना पनि बढाएको देखिन्छ । त्यसैले तनावमुक्त जीवनशैली अपनाउनुपर्छ । यही तनावले हो हाम्रो मस्तिष्कमा ब्रेन ट्युमर देखिने ? ब्रेन ट्युमर विभिन्न कारणले हुन्छ । सबैमा देखिने कारण वंशाणुगत नै हो । कुनै कारणवश हुने ब्रेन ट्युमरमा त्यसका असर पनि देखिन्छन् । जस्तै, ब्रेन ट्युमरसँगै कुनै मेनोन्जिमा वा कुनै हर्मोनल रोगहरू पनि यसले देखिन्छ । योबाहेक अरु ब्रेन ट्युमर कुनै कारणले देखिँदैन र तिनीहरूको विकास पनि ट्युमर हेरिकन विभिन्न तरिकाले आउँछ । यो यस्तै कारणले हुन्छ र यस्तै प्रकारले देखिन्छ भन्ने हुँदैन । शारीरिक संरचना अर्थात वंशाणुगत संरचनामै भएको कारण यो देखिन्छ । सामान्य रूपमा ट्युमर क्यान्सरको कुरा गर्दा फोक्सोको क्यान्सर धुम्रपानले हुन्छ भन्न सक्छौं भने स्तन क्यान्सर वंशाणुगत हुन्छ । यही कारण टाउको पनि वंशाणुगत कारण बढी हुने गर्छ । टाउकोको अप्रेशन गर्दा मान्छे बाँच्न गाह्रो हुन्छ भन्ने आमबुझाइ छ नि, के यो सत्य हो ? टाउकोको अप्रेसन अरू अप्रेसनभन्दा जटिल हुन्छ यो सत्य हो । तर, टाउकोको अप्रेशन गर्दा व्यक्ति मर्छ अथवा पक्षघात नै हुन्छ भन्ने कुरा असत्य हो । टाउकोका विभिन्न भागहरू हुन्छन् । ती भागअनुसार त्यसमा लाग्ने ट्युमरको असर हुन्छन् । त्यहीअनुसारको प्रयोग गर्ने विधिहरू पनि फरक हुन्छ । भनेको हरेक ट्युमरमा पक्षघात हुने, ज्यान गइहाल्ने हुँदैन । यदि ज्यानै जान लागेको अवस्थामा बल्ल उपचारका लागि आउनुहुन्छ भने यो बेला ज्यान जोगिने सम्भावना कम हुन्छ । तर, प्रविधि यति बढिसक्यो कि हामी अहिले नेपालमै विभिन्न प्रविधिको प्रयोग गरी वीर अस्पतालमै सुरक्षित तरिकाले अप्रेसन गर्ने अवस्थामा पुगेका छौं । टाउकोको अप्रेसन गरेपछि मान्छे मर्छ है भन्ने नितान्त भ्रम हो । प्रतिशतमा कहिलेकाहीँ हुन्छ । यदि तपाईंको टाउको दुखाइसँग अन्य लक्षणहरू कान कराउने, आँखा देख्न छोड्ने थप यस्ता लक्षण छन् भने जाँच गराइहाल्नुपर्छ । सामान्य टाउको दुखाइले आत्तिहाल्नुपर्छ भन्ने हुँदैन । टाउकोको ट्युमर हुँदा कस्तो लक्षण देखा पर्छन् ? यसमा विचित्रको लक्षण देखापर्छन् । सबैले बुझ्ने भनेको टाउको दुख्ने, बेहोस हुने भन्ने बुझ्छन् । तर ती सामान्य लक्षण हुन् । यद्यपि यी बाहेक ट्युमर कुन भागमा छ, त्यो अनुसारको लक्षण देखिँदै जान्छ । कुनै ट्युमर टाउकोमा र्यापिडली बढ्ने हुन्छ । यसले गर्दा टाउको वरिपरी सुनिएको छ भने सबैभन्दा पहिले टाउको दुखाइ नै हुन्छ । त्यसपछि बान्ता हुने, आँखा रातो हुने, उज्यालोमा हेर्नै नसकिने वा बेहोस हुने हुन्छ । कतिपय अवस्थामा बिरामी लामो समयदेखि दैनिक रुपमा खराब सपना देख्ने पनि भइरहेको हुन्छ । दिनमा हातखुट्टा झमझमाए जस्तो लड्न खोजे जस्तो लक्षण देखिन्छ । वर्षौदेखि यस्ता समस्या देखिरहेका बिरामीहरूले स्नायु विशेषज्ञलाई देखाउँदा एमआरआई गर्दा ट्यमुर भेटिन्छ । टाउकोको अगाडि भागमा ट्युमर छ भने त्यो व्यक्तिमा व्यवहार परिवर्तन हुने, झनक्क रिसाउने, डिप्रेसन हुनुका साथै अलिक होस हराएका कुरा गर्ने , दिशापिसाबमाथि नियन्त्रण राख्न नसक्ने, सामाजिक व्यवहारलाई नियन्त्रण गर्न नसक्ने जस्ता लक्षण देखा परिरहेको हुन्छ । मानसिक रोगको औषधी खाँदा पनि निको नहुँदा एमआरआई हेर्दा ट्यमर देखिन्छ । आँखाको अँध्यारो जाने पनि लक्षण हुन्छ । टाउकोको कुन भागको दुखाइ अझ खतरा हुन्छ ? दुखाइ नै खतरा हुँदैन । कारण के छ– त्यसको भन्ने कुरा बुझ्नुपर्छ । दुखाइमै पनि हेर्ने हो भने कुन कारणले टाउको दुख्यो भनेर डर मान्ने त अथवा कस्तो खालको दुखाइ आयो भने तुरुन्त अस्पताल गइहाल्नुपर्छ भन्ने कुरामा हामीले ध्यान राख्नुपर्छ । जस्तो हामीले माथि कुरा गर्यौ– माइग्रेन र तनावको दुखाइ वर्षौंदेखि हुन्छ । तर तपाईंलाई पहिलो चोटि टाउको दुखेको छ, वयस्क व्यक्ति हुनुहुन्छ र यस्तो दुखेको छ कि जिन्दगीमा त्यस्तो कहिल्यै दुखाइ भएको थिएन भने सबैभन्दा पहिले स्नायु विशेषज्ञलाई देखाइहाल्नुपर्छ । यदि तपाईंको टाउको दुखाइसँग अन्य लक्षणहरू कान कराउने, आँखा देख्न छोड्ने थप यस्ता लक्षण छन् भने जाँच गराइहाल्नुपर्छ । सामान्य टाउको दुखाइले आत्तिहाल्नुपर्छ भन्ने हुँदैन । अब स्नायु नसासम्बन्धी केही कुरा गरौं, कस्तो दुखाइ अथवा समस्या नसासँग जोडिएको हुन्छ ? कुनै पनि नसाको जड भनेको टाउको र मेरुदण्डमै हुन्छ । स्नायु प्रणालीको समस्याले हुँदा देखिने समस्यामा भनेको नसा जोडिएका विभिन्न ठाउँमा जोडिएका हुन्छन् । हात, कुइना गर्धन । जहाँ समस्या देखियो त्यो भाग चलाउन समस्या हुन्छ । त्यस्तै, कम्मर गर्धनमा नसा च्यापिने रोग हुन्छ । र पछि नसाकै ट्यमुर हुन्छ । यसो हुँदा विभिन्न भागमा नसालाई असर गरेको हुन्छ । त्योबाहेक अन्य कारणले नसा खराब हुन सक्छ, जस्तै– अहिले सबैभन्दा बढी नसा खराव गर्ने र समाजमा बढीरहेको रोग भनेको सुगर हो । यसले ससाना नसलाई मार्दै बिगार्दै जान्छ । जसले गर्दा हात खुट्टा झमझमाउने, दुखिरहने हुन्छ । यस्तो समस्या भएका बिरामी वीर अस्पतालमा धेरै आइरहनु हुन्छ । मांशपेशी, बाथरोग, थाइराइड, संक्रमण चोटका कारण पनि नसाको समस्या हुने गर्छ । वीरमा यिनै समस्या भएका व्यक्ति उत्तिकै मात्रामा आउनुहुन्छ । तर, टाउकोका बिरामीको संख्या केही बढी हुन्छ । अब उपचार पद्धतिको पनि कुरा गरौं, जति पनि रोगको विषयमा हामीले कुरा गर्यौ, वीर अस्पतालमा टाउकोका बिरामीको उपचार कसरी हुन्छ ? हामीसँग माइक्रोस्कोप छ, जसले सूक्ष्म तरिकाले ट्युमर हेरेर निकाल्छ । यो प्रविधिले मात्र पुग्दैन भन्ने भयो भने बिरामीलाई पुरै बेहोस नबनाइकन होसमै राखेर अप्रेसन गरिन्छ । होसमा हुँदाहुँदै बिरामीलाई हामीले दिएको अर्डर फलो गर्न लगाउँछौं । यस्तो अवस्थामा बिरामीलाई बोल्न लगाइ हातखुट्टा चलाउन लगाउने गर्छौं । चिकित्सकले भनेका कुरा बिरामीले गर्दै जाने र यता ब्रेन म्यापिङ गर्दै ट्यमुर निकालिरहेका हुन्छौं । ट्युमर निकालिन्जेलसम्म बिरामीले हात खुट्टा चलाइरहेको हुन्छ । यसो हुँदा बिरामीको पक्षघात घटाउन सकिन्छ । त्योबाहेक दुरविन प्रविधि छ । कतिपय टाउकोको ट्युमर कि एकदमै सानो घाउ या बाहिर देखिँदै नदेखिने घाउ जस्तो हुन्छ त्यस्तो ट्यमुरलाई हामीले नाकबाटै दुरविनले निकालिदिन सक्छौं । एउटा एउटा पाँच मिलिमिटरको स्कोप नाकबाट ब्रेनसम्म पुर्याइन्छ र जहाँ टुयुमर छ त्यसलाई निकालेर बाहिर ल्याइन्छ । यसो गर्दा बाहिर कुनै खत देखिँदैन । यो प्रविधिबाट सयौं व्यक्तिले लाभ लिरहनुभएको छ । तपाईंले उपचारको कुरा गर्दा नेपालमै सम्भव छ भन्नुभयो तर नेपाली अहिले पनि भारतका अस्पतालमा गइरहेका छन् किन ? आजभन्दा ३० वर्ष अगाडिको स्वास्थ्य अवस्था हेर्ने हो भने नेपालमा धेरैजसो रोगको उपचार सम्भव थिएन । सबै किसिमको उपचार हुन थालेको, प्रविधिको विकास भएको १०–१५ वर्षमात्र भयो । तर मान्छे त्योभन्दा पहिले पनि बिरामी हुन्थे । नेपालमा सबै उपचार सम्भव नहुँदा अधिकांश भारतका विभिन्न अस्पताल पुग्नुपर्ने हुन्थ्यो । त्यसले पनि सांस्कृतिक रूपमै विदेश उपचार गर्न जाने प्रवृत्तिको विकास भयो । यसले गर्दा हामी पनि कतिपय बिरामीलाई रोक्न सक्दैनौं । किनभन्दा हामी बिरामीलाई शतप्रतिशतको वाचा दिन सकिँदैन । मेडिकल साइन्स हो, दिल्लीमै गएर उपचार गर्यो भने पनि शतप्रतिशत राम्रो हुन्छ भन्ने हुँदैन । बिरामीले आफ्नो क्रयशक्तिले भ्याउँछ भने सबैभन्दा राम्रो अस्पताल कहाँ सोचेको छ, त्यहाँ गएर उपचार गर्ने इच्छा हुन्छ । तर, पछिल्लो समय यो प्रवृत्ति पनि बिस्तारै कम हुँदै आएको छ । यी रोगहरूबाट बच्न हामीले अस्पताल पुग्न नपर्ने घरमै निको पार्न सकिने केही उपायहरू छन् कि ? अप्रेसन नै गर्नुपर्ने रोगमध्ये अप्रेसन टार्ने भनेको टाउकोका केही ट्युमरहरू छन् । ती पहिचान पछि विस्तृत जाँच गरिन्छ । कुनै ट्युमर तत्काल अप्रेसन गरिहाल्नुपर्ने हुँदैन । अथवा औषधीले निको हुन्छ । यो बिरामीको प्रोफाइल हेरेर मात्र थाहा हुन्छ । योबाहेक संक्रमण हामीले समयमै पत्ता लगायौं भने औषधीले उपचार हुन्छ । योबाहेक मेरुदण्डका समस्याहरूमा ९५ प्रतिशत अप्रेसन गर्न आवश्यकता पर्दैन । सय जना बिरामी मेरुदण्डको हुनुहुन्छ भने जम्मा चारदेखि पाँच जनाको अप्रेसन गर्नुपर्ने हुन्छ । तर बिरामीले यसमा आफ्नो तर्फबाट मिहिनेत गर्नुपर्ने हुन्छ । धेरै बिरामीलाइ मेरुदण्डमा नसा च्यापिँदा अप्रेसन गर्यो भने पक्षघात हुन्छ भन्ने भ्रम छ तर त्यसो भने होइन । अहिले यही विषयमा मौका छोप्दै धेरैले व्यापार गरिरहेका छन् । कसैले केही, कसैले केही भन्दै विज्ञापन सामाजिक सञ्जालमा दिइरहेको पाइन्छ । यी सबै अस्थायी उपाय हुन् । यसको पछाडि लाग्न हुँदैन । एउटा कुराले मात्र बिरामीलाई स्वस्थ मेरुदण्ड दिन्छ, त्यो भनेको बिरामी आफैले गर्ने फिजियोथेरापी उपचार हो । यदि बिरामीले मेरुदण्डलाई लक्षित गरेर सही तरिकाको फिजियोथेरापी एक्सरसाइज गर्न सुरु गर्नुहुन्छ र लामो समयसम्म गर्नुहुन्छ भने त्यो मेरुदण्ड स्वस्थ हुँदै जान्छ । तर आफूले गर्ने व्यायाममा भर नपरेर अरू औषधी, अक्युपञ्चर, सुई विधि, आयुर्वेदिक तिर लाग्नुभयो भने यसले फाइदा गर्दैन । सही तरिकाको व्यायाम मात्रा पुर्याएर गर्यो भने निको हुन्छ । आजभोलि युटुबबाट हेरेर गर्ने चलन बढेको छ । हामीले कुरा गरेका यी सबै रोगबाट बच्न नागरिकले के गर्नुपर्छ ? मेरुदण्ड र मस्तिष्कका रोगहरूमा सबैभन्दा डिजेनेरेटिभ रोगहरू जुन चाहिँ बिगँ्रदै गएर खिइँदै जाने हुन्छन् । यो रोेगबाट शरीरको संरचनालाई स्वस्थ राख्न दैनिक रूपमा व्यायाम गर्नुपर्छ । यसका लागि खानेकुरामा ध्यान दिनुपर्यो, तनावजन्य रोगबाट बच्नका लागि टाउकोमा नसा फुट्ने स्ट्रोक भन्छौं, हामी पक्षघात भन्छौं, रगत बग्ने जसलाई ब्रेन हेमरेज भनिन्छ । यस्ता समस्याबाट बच्नका लागि शरीरमा ब्लडपेसर, डाइबिटिज, किड्नी रोग, लिभर रोगजस्तालाई राम्रोसँग व्यवस्थापन गरेको हुनुपर्छ । त्योबाहेक धुम्रपान मद्यपानबाट टाढा रहनुपर्छ । सामान्य जीवनयापनमा सामान्य तनाव, पानीको मात्रा, निन्द्राको व्यवस्थापन गर्यो भने पनि धेरैजसो टाउकोको रोगबाट हामी बच्न सक्छौं । तर टाउकामा लुकेर आउने रोगहरूको उपचार भने अर्ली डाइग्नोसिसमै छ । जति छिटो पहिचान भयो त्यति प्रभावकारी उपचार पाइन्छ । यदि कुनै पनि शंकास्पद लक्ष्णहरू छन् भने विशेषज्ञलाई देखाएर त्यसको उचित निदान गर्नुपर्छ ।
गर्मी बढ्दै जाँदा के खाने, कसरी खाने ?
काठमाडौं । स्वस्थ बन्ने रहर सबैको हुन्छ । तर नचाहेरै कतिपयले अस्वस्थ जीवन जिउनु परिरहेको हुन्छ । खानपान र अस्वस्थ जीवनशैलीकै कारण मान्छे अस्वस्थ हुन्छ । धेरैजसो व्यक्तिले भोक मेटाउन खाना खाइरहेको पाइन्छ तर, भोकसँगै स्वस्थ जीवन बनाउन कुन खानेकुरा कसरी खाने भन्ने जानकारी हुँदैन । वा जानकारी भएर पनि व्यवहारमा लागू भएको पाइँदैन । जसका कारण मान्छेको शरीर रोगको भारी बोकेर हिँडिरहेको हुन्छ । अब गर्मीयाम सुरु भएको छ । यो बेलामा हामीले खानेकुरामा ध्यान दिनु उत्तिकै आवश्यक हुन्छ । गर्मीयाममा मान्छेको शरीरको तापक्रम बढी हुन्छ । सामान्य व्यक्तिको शरीरको तापक्रम लगभग ३६.५ डिग्री सेल्सियसदेखि ३७.५ डिग्री सेल्सियससम्म हुन्छ । गर्मीयाममा वातावरणमा बढी तापक्रम भएकाले शरीरले त्यो सन्तुलन राख्न आफूमा भएको फ्लुड्स (शरीरमा पाइने विभिन्न तरल पदार्थ) निष्कासन गर्न थाल्छ । साथै इलेक्ट्रोलाइट पनि निष्कासन भएको हुन्छ । यही कुरालाई ध्यान दिएर हामीले खानेकुरा खानुपर्छ । मौसम चाहे चिसो होस् या गर्मी जस्तोसुकै अवस्थामा ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन गर्नुपर्छ । मानौं– एउटा खानाको प्लेट छ जसको आधाभन्दा बढी तरकारी, साग सलाद, फलफूलले भर्नुपर्छ । चार भागको एक भाग अन्नजन्य कुरा जस्तै रोटी, भात जे पनि लिन सकिन्छ । त्यसैगरी, चार भागको एक भाग प्रोटिन दाल, गेडागुडी, माछामासु, पनिर हुनुपर्यो । यसरी मिलाएर खाएको खानेकुरालाई सन्तुलित भोजन भनिन्छ । यो गर्मी, जाडो जस्तोसुकै मौसममा पनि आवश्यक पर्छ । गर्मीयाममा अझ जुन कुरामा पानीको मात्रा बढी छ त्यो तरकारी फलफूल खान सकिन्छ । शरीरलाई डिहाइड्रेसन हुन नदिन काँक्रो, तरबुजा, खरबुजा लगायतका फलफूल खान सकिन्छ । यसमा ९० देखि ९५ प्रतिशत बढी पानीको मात्रा हुन्छ । यसमा पोटासियमको मात्रा पनि बढी भएका कारण इलेक्ट्रोलाइट पनि ब्यालेन्स गर्न मद्दत गर्छ । साथै हामीले समय अनुकूलका फलफूल तरकारीमा पनि ध्यान दिनु जरुरी छ । गर्मी मौसममा अन्य समयभन्दा साधारण खाना खानुपर्छ किनकि यो समयमा हाम्रो पाचन शक्तिमा पनि फेरबदल आइरहेको हुन्छ । यस्तो बेला खानपिनमा सलादको मात्रा बढाउने, धेरै मरमसला भएका खानेकुरा कम गर्ने, नरिवलको पानी, कागती पानी खानुपर्छ । पानीको मात्रा बढाउन दही, बटर मिल्कका साथै फलफूलका ताजा जुस खान मिल्छ । कुन खाना कसरी खाने ? खानेकुरा कसरी खाने भन्ने कुरा व्यक्तिअनुसार फरक हुन्छ । मान्छेले कति खाने भन्नेकुरा उमेरअनुसार, व्यक्तिपिच्छे भर पर्छ । मान्छेले कति खाने भन्ने कुरा उसको उमेर तौल उचाइ, रोगको अवस्था अनुसार पनि फरक पर्छ । औषतमा भन्दा मान्छेको उचाइ, तौल हेरेर कति खाने, के के खाने भन्ने कुरा पोषणविद्हरूले भन्छौं । तर औषतमा वयस्क मान्छेलाई तौल र उचाइ ठिक छ, कुनै अन्य रोग छैन भने त्यो समयमा – १ हजार ६ सय देखि १ हजार ८ सय क्यालोरी महिलालाई चाहिन सक्छ भने पुरुषहरूलाई १ हजार ८ सयदेखि २ हजार क्यालोरी चाहिन सक्छ । सन्तुलित भोजनमा कार्वोहाइड्रेट, प्रोटिन, फ्याट फाइबर सबै मिलाउनुपर्यो । कति खाने भन्ने कुरामा प्रत्येक व्यक्तिको अवस्था हेरेर सल्लाह दिइरहेका हुन्छौं । दिनको सुरुवात कसरी गर्ने ? एउटा सामान्य व्यक्तिले दिनको सुरुवात गर्दा जहिले चियाबाट गर्ने चलन छ । चिया त्यति नराम्रो पनि होइन, एक कप लिन मिल्छ तर यो सँगसँगै घरमा उपलब्ध भए सीड्स, सातु जस्ता खानेकुरा खाएर गर्दा राम्रो हुन्छ । यसैगरी, अण्डा, चना, भटमास भुटेर राखेको छ भने यो खाँदा पनि राम्रो हुन्छ । सामान्य रूपमा ३०–३१ वर्ष उमेर समूहले एउटा अण्डा, एक चम्चा सातु, एक कप दूध लिँदा राम्रो हुन्छ । अब समयको कुरा गर्दा बिहानको ब्रेकफास्ट ७ देखि ८ बजेसम्म लिने चलन छ । यति खाइसकेपछि बिहान १० बजेदेखि ११ बजेसम्म खाना खान मिल्छ अथवा कसैलाई अफिस छिटो जानुप¥यो भने ९ बजे खाना खानुपर्यो भने बिहानको ब्रेकफास्ट अलि कम खाँदा हुन्छ । यस्तो बेला एउटा अण्डा, एक चम्चा सातु, अलिकति बदाम अलिकति खाँदा पनि हुन्छ । खाना खाँदा प्लेटमा अघि भनेको जस्तो ‘माइ प्लेट मेथड’प्रयोग गर्नुपर्यो । आधाभन्दा बढी तरकारी, एक भाग अन्न र अर्को एक भाग प्रोटिनयुक्त कुराले भर्नुपर्यो । नेपालीहरूको खानपिनमा जुन दालभात छ यो एकदम राम्रो हो । दालमा पाउने एमिनो एसिड छ, त्यो भातमा पाइँदैन । भातमा पाउने एमिनो एसिड दालमा पाउँदैन । फरक फरक एमिनो एसिड दाल र भातमा पाइन्छ । त्यसैले दाल भात र तरकारी खानाका लागि एकदम राम्रो मानिन्छ । तर यसमा सलादको मात्र बढाउनुपर्ने हुन्छ । दालमात्र खाएर प्रोटिन पुग्दैन, दालसँगै दही, पनिर, मस्यौरा सोयाविन माछामासु खाँदा सन्तुलिन आहार हुन्छ । यो खाइसकेपछि तीनदेखि चार घण्टामा केही न केही लाइट स्न्याक्स खान मिल्छ । बिहान भात, साँझा पनि भात गर्दा फेरि दिउँसो पनि अन्नजन्य खानेकुरा खानुभन्दा चना भटमास सलाद खान सकिन्छ । दहीमा एक–दुई चम्चा सातु, तीन–चार पिस बदाम अलिकति फलफूल राख्यो भने पनि राम्रो स्न्याक्स हुन्छ । यति खाइसकेपछि बेलुकाको खाना सात बजेभित्र खाइसक्दा राम्रो हुन्छ । हामीले जति ढिलो खाना खायो हाम्रो मेटाबोलिजम हुन त्यति ढिलो हुन्छ । हामीले खाना खाइसकेपछि हिँडडुल गर्दैनौं अनि जति खाएका हुन्छौं त्यो सबै स्टोर हुन्छ । त्यसपछि मोटोपनदेखि लिएर अन्य समस्या देखा पर्छन् । मैले भनेको समयअनुसार खान नमिल्ने समय भएकाहरू पनि धेरै जना हुनुहन्छ । जसले बेटाइममा पनि खानुपर्ने हुन्छ । जस्तै दीर्घकालीन रोग भएका, इन्सुलेन लिएका व्यक्ति, गर्भवती महिला हुनुहुन्छ, उहाँहरूलाई राति सुत्दाखेरी पनि केही खानेकुरा लिनुपर्ने हुन्छ । यस्तो बेला केही अपसन दिन सकिन्छ । नट्स, सिड्स, सातु खाँदा राम्रो हुन्छ । दिनमा चार पटक अनिवार्य खाने हरेक व्यक्तिले दैनिक चार पटक अनिवार्य खानुपर्छ । बिहानको नास्ता, खाना, दिउँसोको खाजा र बेलुकाको खाना खानुपर्छ । धेरै मान्छेले व्यस्त हुँदा बिहानको खाजा छोडेर एकैचोटि खाना खाने गरेको देख्छौं । यसो हुँदा खाजाको सट्टा भातको मात्रा धेरै खाइन्छ । यसरी एकैचोटि धेरै खाँदा पाचनमा समस्या आउँछ । किनकि गर्मीमा पाचनशक्ति आफैमा कमजोर हुन्छ । यसरी खाजा, नास्ता नखाने अनि एकै पटक साँझ र बिहान धेरै खाना नखाएकै राम्रो । धेरै व्यस्त हुँदा पनि भुटेको चना, भटमास भिजाएको बदाम पनि खान सकिन्छ । अझ सजिलो दुई– तीन चम्चा सातु खान सकिन्छ । खाँदा दैनिक एकै समयमा खाने गरी योजना बनाउनुपर्यो । हामीलाई दिउँसोको खाजामा पनि नुडल्स ब्रेड नै खान मन छ भने पनि त्यसलाई हेल्दी बनाएर खान सकिन्छ । कुनै पनि कुरा जस्तै चाउचाउ मैदाबाट बनेका अन्य खानकुरा नखान भन्न मिल्दैन तर यसरी खाँदा क्यालोरीको मात्रा बढी हुन्छ । प्रशोधित कुराले स्वास्थ्यलाई असर गर्छ, योसँगै यसमा चिल्लोपना बढी हुन्छ । यस्ता खानेकुरा कहिलेकाँही खाँदा असर पर्दैन तर संधै खान राम्रो हुँदैन । यस्तो कुरामा प्रोटन, फइबर, सुक्ष्मपोषण तत्व कम भएका कारण यस्ता खानेकुरा नियमित रूपमा खान हुँदैन । चिल्लो कति खाने ? चिल्लो, पीरो, गुलियो सबै कुरा शरीरलाई आवश्यक पर्छ । यो खानु हुँदैन भन्ने होइन । तर व्यक्तिले आफ्नो शारीरिक अवस्था हेरेर कति खाने, कसरी खाने भन्ने कुरा मुख्य हो । यसमा पनि व्यक्तिपिच्छे फरक पर्छ । एउटा वयस्क व्यक्ति जो शारीरिक रुपमा सक्रिय छ भने उसलाई चिल्लो, नुन अलि बढी खाए पनि फरक पर्दैन । तर आजभोलि हरेक मान्छेलाई दिर्घकालीन रोग देखिरहेको हुन्छ । दीर्घकालीन रोग भएकाहरूमा मोटोपना हुन्छ । मोटोपन भएकाहरूले यस्तो कुरा खाइरहेको छ भने क्यालोरी बढी हुन्छ । उसलाई सुगर नै छ भने कार्बोहाइड्रट बढी हुँदा झन रोग बढ्ने सम्भावना हुन्छ । नुनको कुरा गर्दा विश्व स्वास्थ्य संगठनले वयस्क मान्छेको लागि एक दिनमा एक चिया चम्चा नुन चाहिन्छ भनेको छ । तर हामीले यति खाँदा तरकारी, दालमा नुन नै नपुगेको जस्तो हुन्छ । तर एउटा रिसर्चले हामी नेपालीमा नुन तीन गुणा बढी भइरहेको देखाएको छ। गर्मीयाममा धेरै खानुपर्ने कुरा के ? गर्मीयाममा जुन खानेकुरामा बढी पानीको मात्रा बढी छ त्यही खानुपर्यो । नरिवल पानी , कागती पानी, पुदिना खानुपर्छ । दही फिटेर लस्सी टाइपको बनाउनुपर्छ । तर हामीले खाने फलफुल तरकारीमा विषादीको मात्रा बढी छ । विषादी मिसिएको छ भनेर नखाएर बस्न हुँदैन । हामीले घरमै पनि विषादीको मात्रा कम बनाउन सक्छौं । फलफूल अथवा तरकारी जे छ त्यसलाई करिब ३० मिनेटसम्म नुनपानीमा डुवाएर राख्यो भने विषादीमात्र नभइ भएका अन्य व्याक्टोरिया पनि मर्छन् । यसैगरी, बेकिङ सोडा एक चिया चम्चा एक लिटर नर्मल पानीमा घोली काँक्रा एकछिन राख्न सकिन्छ । त्यस्तै, बेसार पानीमा राखेर भिजाएर पछि पखालेर पनि खान सकिन्छ । अहिले जस्तोसुकै व्यक्ति, जुनसुकै उमेर समूह भएकालाई पनि सुगर र प्रेसर देखिरहेको हुन्छ । एउटा रिसर्चले ७० प्रतिशत अन्नजन्य खानेकुराले यस्तो भइरहेको देखाएको छ । भात, चिउरा, रोटी लगायतका कार्बोहाइड्रेट पाउने खानालाई हामीले ७० प्रतिशतबाट घटाएर ४०–४२ मा झार्न सक्यो भने धेरै मात्रामा यो रोगलाई नियन्त्रण गर्न सकिन्छ । सिजन अनुसारका फलफूल र तरकारी बढी खानुपर्छ । अहिले म काम गरिरहेको पाटन अस्पतालको ओपिडी, आइपीडीमा यस्ता थुर्पै व्यक्ति आइरहेका हुन्छन् । सामाजिक सञ्जालको लह अहिले सामाजिक सञ्जालको पहुँच धेरैको छ । टिकटक, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जालबाट विभिन्न सूचना पाइन्छ । धेरैजसोले त्यही सूचना का आधारमा खानेकुराको आफै तालिका बनाएका हुन्छ । जाँच नगरी सामाजिक सञ्जालका सूचना अनुसार योजना बनाउँदा कतिपयमा झनै समस्या भएको पाइन्छ । कुनै पनि व्यक्तिले आफ्नो जाँच नगराइ टिकटक, युट्वयमा पाएको सूचनाका आधारमा के खाने, के नखाने भन्ने कुराको पछि लाग्न हुँदैन । तर पहिलेको भन्दा अहिले नागरिक स्वास्थ्य र खानपानप्रति सचेत बन्दै गएको पाइन्छ । सामाजिक सञ्जालमा पाएका सबै सूचना गलत हुँदैन तर, त्यो सूचना दिने व्यक्ति को हो चिकित्सक, पोषणविद् हो कि होइन, भन्ने कुरा बुझ्नुपर्छ । कसरी घटाउने मोटोपना ? मोटोपना अहिले विश्वमै एउटा महामारीजस्तै देखिएको छ । वयस्कलाई मात्र नभइ बच्चामा पनि मोटोपना बढ्दै गएको छ । जुनसुकै उमेरको व्यक्तिमा मोटोपना देखिन्छ । यसको मुख्य कारण जीवनशैली नै हो । तौल घटाउनको लागि पनि ७० देखि ७२ प्रतिशत भूमिका खानाकै हुन्छ । यो सँगसँगै शारीरिक व्यायाम पनि आवश्यक छ । शारीरिक व्यायामसँगै खाना मिलाउन सकियो भने तौल घटाउन सकिन्छ । मोटोपना भनेको यस्तो समस्या हो जसले अन्य समस्यालाई तान्छ । मोटोपना भएको व्यक्तिमा सुगरको सम्भावना बढी हु्न्छ । यस्तो व्यक्तिले जीवनशैलीमा परिवर्तन सक्छन् । फेसमा चमक व्यक्तिको हरेक अंगलाई स्वस्थ बनाउने भनेको खानपानले नै हो । व्यक्तिको खानपान र जीवनशैलीले व्यक्ति स्वस्थ, अस्वस्थ हुने कुरा निर्भर गर्छ । हरेक मान्छेले आफ्नो स्वास्थ्यसँगै सुन्दरतालाई पनि ध्यान दिन्छ । हाम्रो अनुहारमा आउने चमक पनि खानाकै कारण आउँछ । अनुहारमा चमक आउने शरीरमा पानीको मात्रा पुग्नुपर्यो । त्यस्तै, भिटामिन ई, ए पाइने खानेकुरा हामीले पर्याप्त खायौं भने अनुहारमा चमक पनि आउँछ । जति हामी महंगा महंगा क्रिमहरू प्रयोग गर्छौं, त्योभन्दा हामीले खानेकुरामै त्यस्ता कुरा समावेश गर्यो भने चमक ल्याउँछ । आज खाने भोलि नखाने भन्दा पनि हामीले नियमित दैनिक खानेकुरा खायौं भने छालालाई राम्रो गर्छ । तनावलाई व्यवस्थापन गर्न पनि उत्तिकै आवश्यक छ । तनाव व्यवस्थापन गर्न खानेकुराको पनि ठूलो भूमिका हुन्छ । जो मान्छेले प्रशोधित खानेकुरा बढी खान्छ, चिनीको मात्रा बढी छ भने तनावको रिक्स पनि बढी हुन्छ । यसैले पनि हाम्रो खानामा मैदाजन्य खानेकुरा कम हुनुपर्छ । स्वस्थ रहन पानी प्रशस्त खानुपर्छ भनिन्छ । तर कति खाने भन्ने कुरामा चिकित्सक, पोषणविद्को भनाइ फकर परिरहन्छ । तर पानी खाँदा एक वयस्क स्वस्थ युवा छ भने दुई देखि ३ लिटर पानी खाँदा राम्रो । यसका लागि पानी मात्र खानुपर्छ भन्ने हुँदैन । पानीको मात्र पाइने फलफूल खाँदा पनि हुन्छ के नखाने ? कोक, फेन्टाजस्ता कोल्ड ड्रिङ्क खानु हुँदैन, जसमा चिनीको मात्रा धेरै हुन्छ । यस्ता खानेकुराले केही क्षणको लागि तिर्खा मेटाउँछ, मीठो पनि लाग्छ । यसले हाम्रो शरीरलाई हाइड्रेसन होइन, डिहाइड्रेसन हुन्छ । यो समयमा पानीको मात्रा अझ बढ्छ । गर्मीमा चिल्लो मसालेदार खानेकुरा खान हुँदैन । चिल्लो र मसलाले गर्मी पैदा गरिदिन्छ । बासी खानेकुरा खान हुँदैन । चिया, कफी धेरै खान हुँदैन, एक–दुई कप खाँदा फरक पर्दैन ।