मोरङमा ‘स्वास्थ्य जीवनशैली रूपान्तरण’ कार्यक्रम सम्पन्न
विराटनगर । महिला उद्यम समिति, मोरङ उद्योग व्यापार संघको आयोजनामा ‘स्वास्थ्य जीवनशैली रुपान्तरण’ विषयक जानकारीमूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । समितिकी संयोजक श्रुति शर्माको अध्यक्षता तथा मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिलकुमार साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य र पोषण सम्बन्धी विविध पक्षमा छलफल गरिएको थियो । सिनियर हेल्थ कोच अमोल चारडेले दैनिक जीवनशैलीमा हुने अस्वस्थ खानपानका कारण देखिने समस्या र तिनको समाधानका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिएका थिए । उनले स्वास्थ्यकर खानाको छनोट र त्यसको नियमित अभ्यासबारे समेत सहभागीहरूलाई जानकारी दिए । कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्य, युवा उद्यम समिति संयोजक, महिला उद्यम समितिका सदस्यहरू, विभिन्न संघ-संस्थाका प्रतिनिधि, राजनीतिज्ञ तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
गभनर्र पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल, आर्थिक गतिविधि बढ्ने नीति ल्याउन सुझाव
काठमाडौं । गभनर्र प्रा.डा. विश्वनाथ पौडेल र उद्योगीबीच अर्थतन्त्रका विषयमा छलफल भएको छ । आइतबार नेपाल उद्योग परिसंघ र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलबीच अर्थतन्त्रका विषयमा छलफल भएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त गभर्नर पौडेललाई बधाईसहित मुलुकको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो । सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधानमा राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे । उनले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको भन्दै कसरी अर्थतन्त्रलाई चलायमान बनाउने, बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ लगायतका विषयमा सुझाव दिए । सो अवसरमा नवनियुक्त गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताए । बधाई तथा छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
उद्योग संगठन मोरङको अध्यक्षमा राठी निर्विरोध निर्वाचित
काठमाडौं । उद्योगीहरूको साझा संस्था उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्विरोध निर्वाचित भएका छन् । राठी यसअघि संगठनको वरिष्ठ उपाध्यक्षको भूमिकामा थिए । शनिबार सम्पन्न साधारण सभाले अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरूलाई निर्विरोध चयन गरेको हो । संगठनको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल, प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा, द्वितीय उपाध्यक्षमा विपिन कावरा, तृतीय उपाध्यक्षमा सुवोध कोइराला र कोषाध्यक्षमा पारस लुनिया चयन भएका छन् । त्यस्तै, कार्यसमिति सदस्यका रूपमा सिद्धार्थ कावरा, वीरेन्द्र राठी, सौरभ सारडा, दीपक कुमार अग्रवाल, जयेन्द्र कुमार शर्मा, सन्तोष भगत, सृजन प्याकुरेल र उकेश अग्रवाल चयन भएका छन् । नयाँ कार्यसमितिले शनिबार नै महिला प्रतिनिधि किरण व्याससहित प्रतिक राउत र पारस गोल्छालाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।