हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, सुगरका बिरामीले समेत खान मिल्ने
काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । हाईलाइफले एक्स्ट्रा लङ्ग ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जजआई राइस’ बजारमा ल्याएको छ । नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाईलाइफ फूड्सले नयाँ प्रोडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जजआई राइस’ डायबेटिक बिरामीका लागि उपयुक्त हुने कम्पनीको भनाइ छ । लामो दाना, उत्कृष्ट स्वाद र प्राकृतिक सुगन्धले भरिएको यो चामल घरायसी भान्सादेखि रेस्टुरेन्टसम्मका लागि उपयुक्त र गुणस्तरीय विकल्पका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । अन्य बासमती चामलहरूको तुलनामा हाईलाइफ फूड्सको यो बासमती चामल शुद्ध, सफा र पौष्टिक तत्वले पूर्ण रहेको कम्पनीको भनाइ छ । हाईलाइफ फूड्सका प्रबन्ध निर्देशक पंकज ज्ञवालीले भने, 'प्रत्येक नेपाली परिवारलाई गुणस्तरीय, पौष्टिक र सुलभ खाद्यान्न उपलब्ध गराई स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यमा कम्पनी प्रतिबद्ध छ ।' उनका अनुसार हाईलाइफ प्रिमियम बासमती चामल स्वादिलो हुनुका साथै स्वास्थ्यवर्धक समेत छ । पछिल्लो समय हाईलाइफ फूड्सले विभिन्न उत्पादनमा जोड दिंदै आएको र व्यावसायिक दायरा विस्तार गरिरहेको छ । कम्पनीले किसान, उपभोक्ता र समुदायलाई लक्षित गर्दै रोजगारी सृजना र उत्पादन क्षमतामा वृद्धिबाट मुलुकको आर्थिक विकासमा योगदान दिंदै आएको छ । अत्याधुनिक प्रविधि, अनुसन्धान तथा डिजिटल युगअनुकूल सेवा प्रणालीमार्फत उद्योगमा अग्रणी भूमिका खेल्ने हाईलाइफ फूड्सको लक्ष्य छ । गुणस्तरलाई पहिलो प्राथमिकतामा राख्दै कम्पनीले प्रत्येक उत्पादनमा उच्चतम मापदण्डको पालना गर्ने जनाएको छ । उपभोक्ताको आवश्यकता र जीवनशैली अनुसार नवीन उत्पादन विकास, गुणस्तरमा सम्झौता नगरी सबैका लागि सुलभ उत्पादन उपलब्ध गराउने, सरोकारवालासँग पारस्परिक सम्मान र सहयोग, इमानदारी तथा पारदर्शिता कम्पनीका मूल सिद्धान्त हुन् । दीर्घकालीन विश्वास र सुदृढ व्यवस्थापन क्षमतामा केन्द्रित रही कम्पनी अघि बढिरहेको छ । हाल हाईलाइफ प्रिमियम बासमती चामल देशभरका खुद्रा विक्रेता, सुपरमार्केट तथा अनलाइन प्लेटफर्महरूमा विभिन्न तौल र आकर्षक प्याकेजिङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसले गुणस्तर र मूल्यबीचको सन्तुलन कायम राख्ने कम्पनीको दाबी छ । हाईलाइफको चामल १ किलो, ५ किलो र २० किलोमा बजारमा उपलब्ध हुनेछ ।
उद्योगमैत्री नीति र रोजगारीको अवसर सिर्जना गर्न ढिलाइ नगर्नुहोस् : डा. स्वर्णिम वाग्ले
काठमाडौं । उद्योग संगठन मोरङको आयोजनामा समसामयिक आर्थिक विषयमा एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, प्रतिनिधिसभा सदस्य तथा अर्थविद् डा. स्वर्णिम वाग्ले र प्रवक्ता तथा सांसद मनीष झाको विशेष उपस्थिति थियो । छलफलको सुरुवातमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले हालको आर्थिक अवस्थालाई चिन्ताजनक भन्दै स्वदेशी उद्योगहरू आन्तरिक र बाह्य अस्थिरताले संकटमा परेको बताए । उनले बैंकिङ क्षेत्रको तरलता र घट्दो ब्याजदरका बाबजुद उद्योगले अपेक्षित प्रगति गर्न नसकेको उल्लेख गरे । साथै, बढ्दो लजिस्टिक खर्च, उत्पादन लागत र व्यापार घाटाले अर्थतन्त्रमा थप दबाव परेको धारणा राखे । डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक विकासक्रम संकुचित हुँदै गएको भन्दै सुधारका कदम ढिला नगरी तीव्र गतिमा अघि बढाउनुपर्नेमा जोड दिए । युवाहरूको विदेश पलायन रोक्न स्वदेशमै सम्मानजनक रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए । त्यस्तै, प्रवक्ता मनीष झाले दीर्घकालीन योजना र एकीकृत रणनीतिको खाँचो औंल्याउँदै उद्योगमैत्री नीतिको अभावले लगानीकर्तामा अनिश्चय र निराशा बढाएको बताए । कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले लोडसेडिङ र ट्रिपिङका कारण उद्योगहरू प्रभावित भइरहेको बताएका थिए भने पूर्वअध्यक्ष सुयश प्याकुरेलले प्रक्रिया सरलीकरणमा समय खेर जाने समस्या औंल्याए । संगठनका कोषाध्यक्ष पारस लुनियाले कागजजन्य वस्तुको निर्यातका लागि आवश्यक कच्चा पदार्थमा महसुल समायोजन नगरेकोप्रति असन्तोष व्यक्त गरे । कार्यसमिति सदस्य सौरभ सारडाले नीति तथा कानुनको द्रुत परिवर्तनले लगानी र उद्योग सञ्चालनमा अन्योलता पैदा गरिरहेको बताए । कार्यक्रममा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, उपाध्यक्षहरू सुरेन्द्र गोल्छा, विपिन कावरा, महिला उद्यमी, युवा उद्यमी तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।