३ अर्ब रुपैयाँले घट्यो अशोक स्टीलको व्यापार, बजारमा छैन माग

काठमाडौं । अशोक स्टील इन्डस्ट्रिज प्रालिको व्यवसायमा ४६.१४ प्रतिशत गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । जबकि सन् २०२३ मा कम्पनीले ६ अर्ब ६६ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको व्यवसाय ४६.१४ प्रतिशत अर्थात् ३ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार घटेको हो ।  स्टीलको मागमा आएको कमी र उच्च ब्याजदरका कारण आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिना (सन् २०२५) मा कम्पनीले १ अर्ब ४८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । विविध कारणले यस वर्ष पनि कम्पनीको आम्दानीमा तुलनात्मक कमी आउने कम्पनीको भनाइ छ । सन् १९८४ मा स्थापित अशोक स्टीलले स्पञ्ज आइरन, पिग आइरन र स्क्राइब कच्चा पदार्थ प्रयोग गरी एमएस ब्लेड उत्पादन गरिरहेको छ । गढीमाई बारामा उद्योग रहेको यस कम्पनीले वार्षिक १ लाख मेट्रिक टन टीएमटी उत्पादन गर्दै आएको छ ।  सन् २०२२ मा कम्पनीले ६ अर्ब ८८ करोड १० लाख रुपैयाँ, सन् २०२१ मा ४ अर्ब ५२ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०२० मा २ अर्ब २६ करोड १० लाख रुपैयाँ, सन् २०१९ मा ३ अर्ब ३५ करोड ४० लाख रुपैयाँ, सन् २०१८ मा ३ अर्ब ५९ करोड ४० लाख रुपैयाँ, सन् २०१७ मा १ अर्ब ३५ करोड ८० लाख रुपैयाँ र सन् २०१६ मा ९३ करोड ४० लाख रुपैयाँको स्टीलको व्यापार गरेको थियो ।  तीन दशकदेखि नेपाली बजारमा रहेको अशोक स्टीलको अध्यक्ष तथा प्रबन्ध निर्देशक पुनम‍चन्द अग्रवाल हुन् । उनीसँग स्टील उत्पादन उद्योगमा ३० वर्षभन्दा बढीको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिषेक तुलसियान हुन् । कम्पनीको देशभर २५० बढी डिलर र ५ सय बढी खुद्रा बिक्रेता छन् ।  कम्पनीले ३ अर्ब ३ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले १ अर्ब ३९ करोड २३ लाख रुपैयाँ अल्पकालीन ऋणका लागि बी प्लस रेटिङ प्रदान गरेको छ । साथै, १ अर्ब ६३ करोड ७७ लाख रुपैयाँ दीर्घकालिन ऋणका लागि ए फोर रेटिङ प्रदान गरेको छ । 

लक्ष्मी स्टील्सको व्यापारमा १४.७२ प्रतिशत गिरावट, ९ महिनामा गर्‍यो पौने ७ अर्बको कारोबार

काठमाडौं । लक्ष्मी स्टील्सको व्यवसायमा गिरावट आएको छ । कम्पनीले सन् २०२४ मा ८ अर्ब ५ करोड ३० लाख रुपैयाँ बराबरको स्टीलको कारोबार गरेको छ । सन् २०२३ को तुलनामा सन् २०२४ मा कम्पनीको आम्दानी १४.७२ प्रतिशतले गिरावट आएको हो ।  सन् २०२३ मा कम्पनीले ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो । सौरभ ग्रुप अन्तर्गतको लक्ष्मी स्टील्सले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५) मा ६ अर्ब ८१ करोड ४० लाख रुपैयाँ बराबरको कुल सञ्चालन आम्दानी गरेको छ ।  सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । इन्फोमेरिक्स रेटिङले कम्पनीलाई त्रिपलबी रेटिङ प्रदान गरेको छ । अल्पकालीन कर्जाका लागि एथ्रीप्लस रेटिङ पाएको छ । कम्पनीले दीर्घकालिन १८ करोड ९० लाख रुपैयाा र अल्पकालीन ३ अर्ब ७७ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो ।  सन् २००८ मा सौरभ ग्रुपले स्थापना गरेको लक्ष्मी स्टील्सले टिएमटी रड, ब्लेड र रिब्ड तारहरू उत्पादन गर्दै आएको छ । नवलपरासीको सुनवलमा अत्यधुनिकस्तरको उद्योग सञ्चालन गर्दै आएको कम्पनीले उत्पादन क्षमता तथा बजार विस्तारलाई तीव्रता दिइरहेको छ । रडको लागि १ लाख ५० हजार मेट्रिक टन र बिलेटको लागि १ लाख ८० हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता राख्छ ।  लक्ष्मी स्टील्सले हालै चुक्ता पुँजीको २० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गरेको छ । कम्पनीले सेयर बिक्रीमा राख्दा प्रतिकित्ता २६५ रुपैयाँ तोकेको थियो । 

वाईवाई चाउचाउको व्यापार ११.११ प्रतिशत घट्यो

काठमाडौं । ९ महिनामा वाईवाई चाउचाउको पौने ६ अर्ब रुपैयाँ हारहारीको कारोबार भएको छ । वाईवाई चाउचाउ उत्पादन गर्ने चौधरी ग्रुपको सिजी फुड्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (सन् २०२५)मा ५ अर्ब ७१ करोड १० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो ।  सन् २०२४ मा कम्पनीले ८ अर्ब १० करोड २० लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । सन् २०२३ मा कम्पनीले ९ अर्ब ११ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । सन् २०२३ को तुलनामा सन् २०२४ मा सिजी फुड्सको आम्दानी ११.११ प्रतिशत अर्थात् १ अर्ब १ करोड ४० लाख रुपैयाँ घटेको देखिन्छ ।  सिजी फुड्सले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँ, सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँ बराबरको वाईवाई चाउचाउको कारोबार गरेको थियो ।  ९९ करोड ५५ लाख रुपैयाँ सर्ट टर्म (अल्पकालिन) ऋणका लागि रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी एवान रेटिङ प्रदान गर्छ ।  सिजी फुड्स चौधरी ग्रुप अन्तर्गतको कम्पनी हो । सन् १९८४ देखि वाईवाई चाउचाउ उत्पादन गरी बिक्री वितरण गर्दै आएको सिजी फुड्समा निर्वाण चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी अन्य ३ जना सेयर धनीको नाममा छ । सन् २०२३ मा कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेडमा रुपान्तरण भएको हो ।