रिद्धिसिद्धि सिमेन्ट बजारमा, ल्याब टेस्ट र गुणस्तर मापन रोबोटबाट !

काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुप संयुक्त सहकार्यमा हेटौँडामा उत्पादित रिद्धिसिद्धि सिमेन्ट आइतबारदेखि बजारमा आएको छ । उद्योग व्यवस्थापनले राजधानीमा पत्रकार सम्मेलन गरी सिमेन्ट बजारमा ल्याइएको जानकारी गराएको हो । सो सिमेन्ट उत्पादनमा रोबोटले ल्याब टेस्ट र गुणस्तरको मापन गर्दछ । लेजर सिल प्याकेजिङ तथा रोबो ल्याव सिस्टमसहित उत्पादित ओपीसी सिमेन्ट सार्वजनिक गरिएको हो । शंकर ग्रुप अध्यक्ष शंकरलाल अग्रवाल तथा अम्बे ग्रुपका अध्यक्ष शोभाकरहरी न्यौपानेले उक्त सिमेन्ट सार्वजनिक गरेका हुन् । अन्य सिमेन्टको तुलनामा रिद्धिसिद्धि सिमेन्ट उत्कृष्ट र फरक भएको सिमेन्टका निर्देशक आनन्द नेपालले जानकारी दिए । अन्य सिमेन्टको जस्तै बजार सुहाँउदो मूल्य कायम गरिएको उनले बताए । हेटौँडामा प्लान्ट, दैनिक ३ सय टन उत्पादन हेटौँडा उपमहानगरपालिकाको रातामाटेमा ४० बिघा क्षेत्रफलमा कम्पनीले प्लान्ट स्थापना गरेको छ । निबुवाटार र राक्सीराङका खानीबाट चुनढुङ्गा ल्याउने जानकारी दिएको छ । कम्पनीले दैनिक ३ सय टन सिमेन्ट उत्पादन गर्ने छ । अम्बे ग्रुपका अध्यक्ष न्यौपानेले १० अर्ब स्वदेशी लगानीमा उक्त कम्पनी स्थापना गरिएको बताए ।

‘फुटपाथका खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर’

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कर्ण फुटपाथमा राख्ने खानेकुरा खानाले मानवीय स्वास्थ्यमा दीर्घकालीन असर पर्ने बताएका छन् । विभागको चौमासिक प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । पत्रकार सम्मेलनमा उनले भने- फुटपाथका खाना अखाद्य हुन सक्छन्, त्यसकारण पनि ‘स्ट्रिट फुडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’को मस्यौदामा प्यान दर्ता अनिवार्य गरेको उनले बताए । महानिर्देशक कर्णले खाद्य वस्तु राख्ने ठेलागाढा, पकाउने भाँडा, खानेकुरा, दिने भाँडा, पकाउने व्यक्ति लगायतका सम्बन्धमा समेत सफाईको मापदण्ड तोकिएको बताए । सो मस्यौदा अनुरुप खुल्ला रुपमा बेच्न राखिएको सामान अनिवार्य रुपमा छोपिएको हुनु पर्ने र खाने कुराहरुलाई पत्रिका तथा कागपत्रमा दिन नपाईने व्यवस्था रहेको जानकारी दिए ।

मकवानपुर जुत्ता चप्पल व्यापार मेला चैत २३ गतेसम्म, नेपाली ब्राण्डमा उपभोक्ताको मोह

मकवानपुर । हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ता चप्पल व्यापार मेलामा चैत २३ गते सम्म हुने भएको छ । फागुन २८ गतेबाट हेटौंडाको पल्पसा हलमा जारी रहेको मकवानपुर जुत्ताचप्पल व्यापार हाल सम्म १६ हजार जोर भन्दा माथी जुत्ताचप्पल बिक्री भएको आयोजकले जनाएको छ । जारी मेलामा हाल सम्म ८० हजार भन्दा बढी अवलोकनकर्ताले मेला अवलोकन गरेको मेला संयोजक होमनाथ उपाध्यायले बताए । मेलामा भारी छुटका विक्रि वितरण भएकोले अवलोकनकर्ताको भिड रहेको संयोजक उपाध्यायले बताए । मेलामा अवलोकन गरि हेटौंडा १२ पदमपोखरीबाट आएका श्यामबहादुर लामा भन्छन्, स्वदेशी ब्राण्ड प्रयोग गरौं भनेर आएको बजारको भन्दा धेरै नै सहुलियतमा जुत्ताचप्पल पाएको बताए । आफुले सहुलियतमा पाएकोले दुईजोर बोकेको बताए । गढीगाउँपालिका ५बाट आएका सुन्दर तिमल्सिनाले पनि बजारको भन्दा सस्तो जुत्ता मेलामा रहेको बताए । स्वदेशी ब्राण्ड पनि अब विदेशी ब्राण्ड जस्तै राम्रो र क्यालिटीको रहेको बताए । आफुले यस अघि पनि स्वदेशी ब्राण्ड प्रयोग गरेकोले मेला घुम्न र सामान किन्न आएको उनले बताए । उनी मात्रै होइन मकवानपुरका अधिकांशहरु मेला अवलोकन पश्चात सस्तो र राम्रो जुत्ताचप्पल पाएको बताएका छन्, । मेलामा प्रदेश सभाका सदस्यहरु, गाउँपालिकाका अध्यक्षहरु, जनप्रतिनिधिहरु लगायत सरकारी कर्मचारीहरुले समेत उत्साहका साथ मेला अवलोकन गरिरहेका छन्, । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको मेलामा फुटवेयर म्यानुफ्याक्चर एशोसियशन अफ नेपालको सहभागितामा मेला भइरहेको छ । नेपाली जुत्ता चप्पलको चर्चित सात वटा व्राण्ड मेलामा सहभागिता रहेको छ । बि.एफ. डियर हिल सुज, रन सुज, रोयल सुज, क्रसरोड सुज, कोशेली सुज, हाइलाइफ सुज, सुल्याण्ड सुज ब्राण्डका जुत्ता चप्पल मेलामा रहेको छ । प्रर्दशनी भरिमा १५ देखि ६० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताए । नयाँ डिजाइनका छालाजन्य जुत्ता चप्पलहरु पनि मेलामा राखिएको छ । मेलामा जेन्स तथा लेडिजको चप्पल र जुत्ता, पार्टी सुज, स्र्पोट्स सुज, स्कुलकलेज सुज,हवाई चप्पल, डिएमएस जुत्ता, बेल्ट लगायतका छालाजन्य उत्पादनहरु रहेका छन, । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ मेला आयोजना गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । हेटौंडा २ पल्पसा हलमा सञ्चालन भएको जुत्ताचप्पल व्यापार मेलामा चैत २३ गते शनिबार सम्म सञ्चालन हुनेछ ।