३ महिनामा १० अर्बले लगानी प्रतिबद्धता बृद्धि, पर्यटन र सेवामूलकमा आकर्षण
काठमाडौं । नेपालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुको आर्कषण बढ्दै गएको छ । लगानीकर्ताले नेपालमा लगानी गर्न उपयुक्त वातारण छ भनेर बुझ्दै गएका छन् । उद्योग विभाग विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले फिटा संसोधन पछि नेपालमा लगानीकर्ताको आकर्षण बढेको बताए । उद्योग दर्ता गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई सहज र सरल भएकाले लगानीमा प्रतिबद्धता बृद्धि भएकोे उनले बताए । यता, नेपाल उद्योग वाणिज्य महासघंका सदस्य तथा प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले पनि विदेशीले नेपालमा लगानीको वातावरण निर्माण हुँदै गएको बुझेको र सरकाले पनि लगानी मैत्री वातावरण निर्माण गर्दै गएकाले प्रतिवद्धतामा बृद्धि भएको बताए । १० अर्बले लगानी प्रतिबद्धता वृद्धि चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा गत आर्थिक वर्षभन्दा १० अर्बले लगानी प्रतिबद्धता वृद्धि भएको छ । असोज महिनाको अन्त्यसम्ममा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी लगानी अनुमति लिइएको थियो । विदेशी लगानीमा पनि ५ अर्ब प्रतिबद्धता वृद्धि भएको छ । चालु आर्थिक वर्षमा ११ अर्ब ३ करोड ६० लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ भने अघिल्लो आर्थिक वर्षमा ७ अर्ब १३ करोड ८० लाखा रुपैयाँको मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो । विभागका अनुसार ६८ अर्ब ३५ करोड ८० लाखको लगानीमा १७५ वटा उद्योग स्थापना गर्ने प्रतिबद्धता आएको छ । जसमा ८ हजार ४८४ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४८ अर्ब ९१ करोड ६० लाख लगानीमा ८२ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको थियो । गत आर्थिक वर्षको तुलनामा यो आर्थिक वर्षमा उद्योग दर्ताको प्रतिबद्धता पनि वृद्धि भएको छ । गत आर्थिक वर्षमा ८२ वटा उद्योग स्थापना गर्ने प्रतिवद्धता आएको थियो भने चालु आवमा १७५ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ । तथ्याङ्क अनुसार उद्योग दर्ता गर्ने प्रतिवद्धता ९३ वटाले वृद्धि भएको छ । पर्यटन र सेवामूलकमा आकर्षण पछिल्लो समय दर्ता भएका उद्योगहरुमा विभिन्न प्रकृतिका रहेका रहेका छन् । पर्यटनमूलक, उर्जामूलक र उत्पादनमूलक उद्योगमा लगानीकर्ताहरुको बढी आकर्षण देखिन्छ । तथ्यांक अनुसार विभागमा प्रतिवद्धता गरेका लगानीका उद्योगमा सबैभन्दा धेरै पर्यटन र सेवा क्षेत्रका छन् । लगानी प्रतिबद्धता आएका १७५ उद्योगमध्ये पर्यटन र सेवामूलक क्षेत्रमा ५३/५३ वटा छन् । उत्पादनमूलक ४४, सूचना प्रसारण तथा सञ्चार प्रविधिमा ७ वटा, कृषि तथा वज्यजन्यमा ९ वटा, उर्जामा उद्योग ६ र निर्माण क्षेत्रमा ३ वटा उद्योग दर्ता गर्ने प्रतिवद्धता आएको छ ।
११७ उद्योग स्थापना गर्न प्रस्ताव, अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ ।विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको अग्रसरताले गति पाएको छ । यहाँको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले औद्योगिक क्षेत्रको काम अगाडि बढाउने क्रममा वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा राय सुझाव दिन सार्वजनिक सूचना जारी गरेको जानकारी दिएका छन् । बेदकोट नगरपालिका २ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गरिने भएको हो । “प्रतिवेदनमाथि राय/सुझाव पेश गर्न मन्त्रालयले तीन दिनको समय दिएको छ ।” नगरप्रमुख चन्दले भने, “सुझाव भए स्थानीय तहदेखि मन्त्रालयसम्म दिन सकिन्छ ।” दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा भएको अढाइ दशकपछि स्थापनाको अन्तिम तयारीमा पुगेको चन्दको भनाइ छ । औद्योगिक क्षेत्र स्थापनाको काम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन, विस्तृत परियोजना प्रतिवेदन र विभिन्न कानूनी अड्चनका कारण ढिलाई हुँदै आएको थियो । स्थानीय तहको निर्वाचनपछि बेदकोट नगरपालिकाले औद्योगिक क्षेत्र निर्माणको कामलाई प्राथमिकताका साथ शुरुआतदेखि नै उठान गर्दै आएको छ । “राय÷सुझाव आएपछि सरोकारवाल, विज्ञसहितको टोली बसेर छलफल गरेर अघि बढ्छ ।” चन्दले भने, “त्यसपछि निर्माणको चरणमा प्रवेश हुन्छ ।” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले प्रस्तावित क्षेत्रमा केही समयअघि सार्वजनिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरेको थियो । औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ३६२ आवेदन परेका थिए । दैजी छेला क्षेत्रका स्थानीयवासीले औद्योगिक क्षेत्र स्थापनामा ढिलाई गर्न नहुने भन्दै स्थानीयबासीलाई रोजगारी, स्वास्थ्य सेवा लगायतका सुविधामा ध्यान दिनुपर्ने बताउँदै आएका छन् । रासस
नेपाल आइसमा डेढ अर्ब लगानी थप्दै चौधरी ग्रुप, अब उत्पादन दोब्बर वृद्धि हुने
काठमाडौं । चौधरी ग्रुपले सिजी ब्रुअरी नेपालकाे उत्पादन क्षमता दाेब्बर बनाउन लागेकाे छ । नेपाल आइस ब्राण्डकाे वियर तथा माग्ना उत्पादन गर्दै आएको यस कम्पनीकाे उत्पादन क्षमता वृद्धि गर्न लगानी दाेब्बरले वृद्धि गर्न लागेकाे छ । हाल १ अर्ब २५ करोड रूपैयाँ लगानी रहेको सिजी ब्रुअरी नेपालमा लगानी थप्नका लागि चाैधरी ग्रुपले उद्योग विभागमा प्रस्ताव गरेको छ ।एक अर्ब ३७ करोड रुपैयाँ लगानी थप्न प्रवद्धर्क प्रस्ताव गरेकाे उद्योग विभागका निर्देशक प्रेम लुइटेलले जानकारी दिए । लगानी स्वीकृत भएपछि चौधरी ग्रुपको सिजी ब्रुअरी नेपालको लगानी २ अर्ब ६२ करोड हुनेछ । उद्याेगका उत्पादन क्षमता विस्तार गर्दा वातावरणामा पर्ने प्रभावकाे मूल्याङकन लगायतका विविध पक्षलाई हेरेर लगानी स्वीकृत दिइने उनले बताए । लगानीकर्ताले सबै प्रक्रिया पुरा गरेर आए १ महिनामा नै लगानी वृद्धि स्वीकृत हुने उनले जानकारी दिए । नवलपसारीस्थित चौधरी ग्रामभित्र रहेको सीजी ब्रुअरीले हाल मासिक २ लाख कार्टुन नेपाल आइस उत्पादन गर्दै आएको छ । उत्पादन क्षमता वृद्धिपछि मासिक ४ लाख कार्टुन उत्पादन गर्ने लागिएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधुसुधन पौडेल बताए । नेपाली बजार र अन्तराष्ट्रिय बजारमा नेपाल आइसकाे माग बढ्दै गएकाेले उत्पादन वृद्धि गर्न लागिएकाे पौडेल बताए । सीजी ब्रुअरीको उत्पादनकाे ठूलाे हिस्सा नेपालमा नै खपत हुन्छ । हङकङ, जापान र अमेरिका लगायतका देशहरुमा नेपाल आइस निर्यात हुने गरेकाे उनले बताए । नेपाल आइस वियरले नेपालमा दाेस्राे ठूलाे बजार हिस्सा लिएकाे छ ।