उद्योगमन्त्री भट्टले भनेः ‘औद्योगिक विकासका लागि योजनाबद्ध रुपमा अघि बढ्छु’
चितवन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले औद्योगिक क्षेत्रको विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताएका छन् । पत्रकारहरुसँग आज यहाँ कुराकानी गर्दै उनले देशभर रहेका प्रस्तावित औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “उद्योगीहरुले वातावरण बनेको छैन भनेका छन् । मैले हिजो नै उहाँहरुलाई वातावरण तयार गर्न के गर्नुपर्छ ल्याउनुस् भनेको छु । उहाँहरुको सल्लाह–सुझाब आएसँगै सोहीअनुसार काम गर्नेछु ।” उद्योग र श्रमीकका बीचमा देखिएका समस्या समाधान गर्दै उद्योगको सुरक्षाका लागि आफूले पहल गर्ने उनको भनाइ थियो । अहिले आफूले मन्त्रालयका समस्याका विषयमा बुझ्ने काम गरेको भन्दै उनले केही दिनपछि कसरी अगाडि बढ्ने त्यसको लागि योजना बनाउने बताए । मन्त्री भट्ट चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को उद्घाटन गर्न यहाँ आएका थिए । रासस
मारुती सिमेन्ट कारखानाको स्काभेटरमा बम विस्फोट
सिन्धुली । मारुती सिमेन्ट कारखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विष्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेक्टर बमबाट पूर्णरुपमा क्षति भएको छ । अरु एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ । मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुर खोलामा राति रोकी राखेको स्काभेक्टरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेक्टरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि जिम्मा लिएको छैन । यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु एक करोड ५० लाख चन्दा मागेको जानकारी दिएका छन् । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारी साधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ । रासस
चितवनमा राष्ट्रिय कृषि यान्त्रिक प्रदर्शनी हुँदै, १० करोड बढीको कारोबार हुने लक्ष्य
चितवन । चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ चितवनमा हुने भएको छ । यही मङ्सिर ६ देखि ९ गतेसम्म चितवन उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्न लागिएको हो । प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । एकै थलोमा कृषिसम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्र तथा सेवाका बारेमा कृषकलाई जानकारी गराउने उद्देश्यका साथ यो प्रदर्शनी गर्न लागिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्दन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रदेश नं ३ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा हुन लागेको सो प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन् । नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका महासचिव कृष्ण शर्माका अनुसार २० भन्दा बढी देशका दुई हजारभन्दा बढी कृषियन्त्र, औजार, उपकरण तथा प्रविधिलाई प्रदर्शनीमा राखिने छ । प्रदर्शनीको ७० जिल्लाका ३५ हजारभन्दा बढी कृषकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । रु १० करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको प्रदर्शनीमा कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैरसरकारी संस्था, कृषक समूह, कृषि सहकारी संस्था, वैज्ञानिक, शिक्षक, विद्यार्थीले अवलोकन गर्ने आयोजकले जनाएको छ । प्रदर्शनीमा कृषि औजार, उपकरण उत्पादक उद्यमी व्यवसायी, आयातकर्ता, वितरक, डिलरले प्रदर्शनी गर्नेछन् । नेपालमा परम्परागत रुपमा गरिने खेतीलाई विकास गरी कृषि क्षेत्रमा युवापुस्ताको आकर्षण बढाउनका लागि यो प्रदर्शनी गर्न लागिएको सङ्घका सल्लाहाकार मधुसुधनसिंह बस्नेतले जानकारी दिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका जगन्नाथ तिवारीले आयआर्जनका क्रममा युवालाई सहभागी गराउनका लागि हरेक दुई÷दुई वर्षमा यस्तो कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् । विसं २०७० मा नारायणी नदी किनारबाट शुरु गरिएको प्रदर्शनी दोस्रोपटक २०७२ मा बाँके र तेस्रो प्रदर्शनी २०७४ मा धरानमा गरिएको थियो । रासस