सोयाबिन उद्योगमा आगलागी, ४ करोड बराबरको क्षति

फाइल फाेटाे कैलाली । कैलालीको टीकापुर नगरपालिका–३ शंकरपुरस्थित सोयाबिन उद्योगमा आज(कार्तिक १२ गते) बिहान आगलागी भएको छ । बलायर सोयाबिन उद्योगमा भएको आगलागीबाट करीब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान करीब ४ बजेतिर विद्युत् चुहिई आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार गत वर्ष स्थापित उद्योगमा आगलागी हुँदा कारखानाका संरचना र गोदाममा क्षति पुगेको सञ्चालक मनीष बलायरले जानकारी दिए । आज बिहान ६ बजेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र टीकापुर नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । रासस

नेबिकोको एकैसाथ दश नयाँ प्रोडक्ट बजारमा, ब्रेकफाष्ट सेरेल्सदेखि चकलेटसम्म

काठमाडौं । नेपालको पहिलो विस्कुट तथा कन्फेक्सनरी उद्योग नेबिकोले एकैसाथ दश नया प्रोडक्ट बजारमा बजारमा ल्याएको छ । हालसम्म बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको नेबिकोले उत्पादनलाई विविधिकरण गर्दै कात्तिक ४ गतेदेखि ब्रेकफाष्ट सेरेल्स पनि बिक्री वितरण गर्ने भएको छ । ब्रेकफाष्ट सेरेलस्मा कर्नफ्लेक्स, ओट्स, र चोकेज रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेबिको कर्नफ्लेक्स ३०० ग्राममा उपलब्ध गराएको जसको मूल्य २०० रुपैयाँ तोकिएको छ । त्यसैगरी नेबिको चोकोज ३५० ग्रामको मूल्य ३०० रुपैयाँ रहेको छ । नेबिको ओट्स ५०० ग्राम र १ किलोग्राममा छ, जसको मूल्य क्रमशः २०० र ३८० रुपैयाँ रहेको छ । त्यसैगरी नेबिकोले प्लाटिनम सेरिज अन्तर्गत अन्तराष्ट्रिय स्तरको पाँचवटा भेराइटिजका कुकिजहरु पनि बजारमा ल्याएको छ । त्यसमा १५० ग्राम वटर कुकिज, १५० ग्राम जिरा कुकिज १२० ग्रामको काजु कुकिज, १२० ग्रामको चकलेट कुकुजी ल्याएको छ । यी सबै कुकुजको मूल्य प्रतिप्याक ५० रुपैयाँ रहेको छ । १५० ग्रामको सुगर फ्रि कुकिजको मूल्य भने ७५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । कम्पनीले नेबिको पपस्टीक–लिच्ची फ्लेवर ललिपप पनि कात्तिक ४ गतेबाट बिक्री गर्ने भएको छ । यसको मूल्य ५ रुपैयाँ राखेको कम्पनीले जनाएको छ । उच्च गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएको नेबिको थप यी सेगमेन्टमा पनि उपभोक्ताको मन जित्न सक्नेछ भन्नेमा विश्वस्त छ । नयाँ प्रडक्टहरु निकै नै स्वादिलो र स्वस्थकर रहनेमा ढुक्क रहन कम्पनीले उपभोक्तालाई आग्रह गरेको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं भन्दै नेबिकोले स्वदेशमा उत्पादित प्रोडक्टलाई माया गरौं, देशलाई आत्मनिर्भर बनाउँ भन्ने नारालाई विगतका केहि वर्षदेखि नै भन्दै आएको छ । सन् १९६४ देखि नेपाली बजारमा गुणस्तरीय उत्पादन तथा बिक्री वितरण शुरु गरेको यस कम्पनी नेपाली बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको कम्पनी हो ।

दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो, महिना दिनमै ३५९ वटा दर्ता

बाँके । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनक रुपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिए । उनका अनुसार, चालु आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकोमा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् । प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुने गरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्ने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३५९ उद्योग दर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताए । “पाँच लाख रुपैयाँसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ”, उनले भने, “उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।” २० लाख रुपैयाँसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णय पछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरुपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिए । घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताए । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उनले महासङ्घले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गरे । रासस