अनावश्यक हस्तक्षेपपछि महानिर्देशकले दिए राजीनामा, भन्छन्ः आत्मसम्मानमा धक्का लाग्ने डरले बाहिरिएँ
फाइल फाेटाे काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक धरणीधर खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक मसान्तबाट लागू हुने गरी कात्तिक १६ गते नै महानिर्देशकको पदबाट राजीनामा दिएका हुन् । महासंघका अध्यक्ष भवानी राणाले पनि उनकाे राजीनामा स्वीकृत गरिसकेकी छन् । उनी गत वर्ष महासंघको महानिर्देकमा नियुक्त भएका थिए । उनी मंसिर मसान्तसम्मका लागि महासंघको महानिर्देशकमा नियुक्त भएका भएपनि उनले कार्यकाल सकिन डेढ महिना अगावै राजीनामा बुझाएका हुन् । पूर्व सचिव खतिवडा यस अघि पनि महासंघको महानिर्देशक भएका थिए । उनले पशुपति मुरारका अध्यक्ष भएपछि राजीनामा दिएका थिए । उनी प्रदीपजंग पाण्डेका पालामा महानिर्देशक नियुक्त भएका थिए। महासंघकी अध्यक्ष भवानी राणा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, किशोरकुमार प्रधान र चन्द्रप्रसाद ढकालसहितको पदाधिकारी बैठकले खतिवडालाई ल्याउने निर्णय गरेको थियो । तर, अहिले कार्यकाल नसकिँदै उनी बाहिरिएका छन् । उनले अब महासंघमा आत्मसम्मानको रक्षा हुँदैन कि भन्ने लागेर बाहिरिएको प्रतिक्रिया दिए । ‘मेरो ३५/३६ वर्षको वर्षको प्रोफेष्नल एक्सपर्टिज छ, त्यसको खोजिनीति हुँदैन कि भन्ने मलाई लाग्यो, मंसिर मसान्तसम्म काम निरन्तर गर्दा राम्रो हुन्न कि भन्ने लाग्यो, त्यसैले मैले छोडेँ,’ उनले विकासन्युजसँग भने । तर, स्राेतका अनुसार वर्तमान अध्यक्ष भवानी राणाले महानिर्देशक खतिवडाको विभिन्न काममा हस्तक्षेप गरेपछि उनी राजीनामा दिन बाध्य भएका हुन् । महासंघको निर्वाचन नजिकिँदा निर्वाचनका लागि पुर्याउनु पर्ने आधारभूत पक्ष तथा पद्दतीहरु राणाले वेवास्ता गरीआफुखुशी काम गर्दा असन्तुष्ट भई खतिवडाले राजीनामा दिएको स्रोतको भनाई छ । ‘महानिर्देशज्यू सैद्धान्तिक रुपमा काम गरेर सरल र स्वभाविक रुपमा निर्वाचन गराउने पक्षमा हुनु हुन्थ्यो तर अध्यक्ष राणाले आफ्नो रोजाई र आफूले चाहेको काम गर्न लगाउँदा उनी त्यसमा असन्तुष्ट देखिन्थे, अहिले त राजीनामा नै गरिसक्नु भयो,’ स्रोतले भन्यो । उनी बाहिरिएसँगै अहिले कार्यबाहककाे रुपमा मिना श्रेष्ठले काम गरिरहेकी छन् ।
सम्भावित आर्थिक संटकलाई पार लगाउन महासंघमा दरिलो नेतृत्वको आवश्यकता छः उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण संकटमा रहेका साना तथा मझौला व्यवसायलाई बचाउन महासंघको अबको नेतृत्व सबल र सक्षम हुनुपर्ने बताएका छन् । उपाध्यक्ष ढकालले कारोना महामारीका कारण उद्योग र व्यवसाय क्षेत्र सबैभन्दा बढी मारमा परेकोले सम्भावित आर्थिक संकटलाई पार लगाएर निजी क्षेत्रको प्रवद्र्धनमार्फत् देशको अर्थतन्त्रलाई ओत प्रदान गर्न अबको महासंघमा दरिलो नेतृत्व आवश्यक रहेको बताएका हुन् । आज (कार्तिक १७ गते) काठमाडौंमा उनको टीमका पदाधिकारीसहितका उम्मेदवारहरुसँगको अन्तक्रियामा उनले भने “कोभिडका कारण हामीले इतिहासमै कहिल्यै नसोचेको क्षति भोगेका छौं र अझै हामीलाई केकस्तो जटिलताको सामना गर्नुपर्ने हो भन्ने स्पष्ट भैसकेको छैन त्यसैले पनि देशको उद्योग एवं समग्र व्यापार व्यवसायलाई बचाईर राख्न र संरक्षण प्रदान गर्न पनि हामीलाई बलियो काँध चाहिएको छ ।” । उनले भने, “त्यसैले हामीले सही र सक्षम नेतृत्व चुन्नुपर्ने बेला आएको छ, महासंघको आगामी नेतृत्वले मुलुकको यो जटिल परिस्थितिलाई सहजतातर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।” महासंघको नेतृत्वमा सफल र सक्षम व्यवसायी पुगेमा महासंघको गौरबपूर्ण इतिहास र ओज कायमै रहने बताउँदै उनले बताए । महासंघको नेतृत्वमा पुग्ने मान्छे एक सशक्त व्यावसायिक नेटवर्कसहितको एउटा सफल व्यवसायी हुनुपर्ने र यस्तो व्यवसायी देशका समग्र व्यवसायीका समस्यासँग अवगत रहेको हुनुपर्नेमा उनको जोड थियो । महामारीको यो बेलामा अहिले ज्यान जोगाउँ र भोलि व्यवसायलाई पनि माथि उठाउन सबैले मिलेर बल दिनुपर्ने जिम्मेवारीमा अबको महासंघको नेतृत्वले काम गर्नुपर्ने उनले बताए । नेतृत्व भनेको संकटको समयको सारथी हो र यस्तै दुःखको बेला नै नेतृत्वको पहिचान हुने भन्दै आफूले महासंघको नेतृत्वमा पुगेपछि यस्तै सबैले सम्झिन सक्ने र आडभरोसाको केन्द्र बन्न सक्ने गरी काम गर्ने पनि बताए । प्रकृतिले थपिदिएको यो चुनौतीसँग जुधेर देशको समग्र निजी क्षेत्रको मनोबल उँचो पार्ने काममा दरिलो आत्मविश्वासका साथ आजैदेखि लाग्न पनि उनले आफ्नो टिमका सबै साथीहरुलाई आग्रह गरे । आफ्नो समूह अबका सबै चुनौतिको सामना गर्न सक्षम रहेको बताउँदै उनले आफ्नो समूहमा साना तथा मझौला व्यवसायीदेखि ठूलो व्यावसायिक घरनासम्मको उपस्थिति रहेकोले महासंघको आगामी कार्यकाल थप प्रभावकारी, नेतृत्वदायी र रचनात्मक रहने बताए । उनले सो अन्तक्रियामा भने “हाम्रो यो समूह सबै मुलुकको व्यापार व्यवसायको सबै किसिमका अनुभवले भरिएको छ, विश्वासले भरिएको छ । यसमा जिल्ला नगरका साना तथा मझौला व्यवसायदेखि केन्द्रका ठूलो व्यावसायिक घरानासम्मको उपस्थिति छ । त्यति मात्रै नभएर हाम्रो यो समूह गाउँ, जिल्ला/नगर देखि नीतिगत तहसम्म पहूँच पुर्याउन सक्छ ।” उहाँले कोरोनाका कारण सिर्जना भएका आर्थिक चुनौतीको सामना गर्ने व्यक्तिगत पहल मात्रै काफि नहुने बताउँदै, उहाँले त्यसका लागि महासंघको नेतृत्वमा सही र सक्षम व्यक्तिहरु चयन गर्ने उपयुक्त अवसर आएको बताए । देशमा औद्योगिक वातावरण निर्माण गर्न, वैदेशिक लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन, निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यावसायिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्न र व्यावसायीका हकहित तथा अधिकारका लागि सरकारसँग लविङ्ग गर्न सक्ने नेतृत्व चाहिएको बताउँदै आफ्नो समूहले महासंघलाई ठूला उद्यमीहरुको मात्रै नभई साना र मझौला उद्योगी व्यापारीको पनि साझा चौतारीका रुपमा स्थापित गर्ने र सबैका समस्याको सुनुवाई हुने वातावरण बनाउने बताए । सो अन्तक्रियात्मक भेलामा ढकाल समूहबाट उम्मेदवारहरु उमेशलाल श्रेष्ठ, गुणनिधि तिवारी, रामचन्द्र संघई लगायतको उपस्थिति रहेको थियो ।
महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नै पर्छः शेखर गोल्छा
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन् । महासंघलाई पूर्व अध्यक्षहरुले राजनीति गर्ने थलो बनाएको प्रति इङ्गित गर्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले अब निर्वाचित व्यक्तिहरुले नै महासंघलाई हाँक्ने बताए । महासंघको वरिष्ठ उपाध्यक्षका प्रत्यायसी किसोर प्रधानले उम्मेदवारी घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले राजनीतिक क्यान्सरलाई हटाउनैपर्ने बताएका हुन् । ‘उद्योग वाणिज्य महासंघमा एउटा क्यान्सर फैलिएको छ । राजनीतिको क्यान्सर । अबको समयमा हामीले त्यो क्यान्सरलाई निकाल्न सक्नुपर्छ । जो निर्वाचित व्यक्तित्वहरु हुनुहुन्छ उनीहरुले नै उद्योग वाणिज्य महासंघ हाँक्न सक्नुपर्छ । अरु कोही व्यक्ति जो निर्वाचित छैनन् उनीहरुको कुनै चलखेल हामी उद्योग वाणिज्य महासंघमा हुन दिदैनौं । किन भने यो सबै विकृति हो भन्ने मलाई लाग्छ ।’, उनले भने . सबै पूर्व अध्यक्षहरुसँग सल्लाह र सुझाव लिने तर उनीहरुको राजनीतिमा नपर्ने गोल्छाले बताए । निर्वाचित हुनेहरु मात्रै मतदाताप्रति उत्तरदायी हुने भएकाले आफुले नेतृत्वगर्ने समूह अहिलेसम्म भएका राजनीतिक विकृति विसंगति हटाउन सफल हुने विश्वास समेत व्यक्त गरे । आफुले राजनीति गर्न नभई काम गर्न आएको समूहलाई रोजेको स्पस्ट पार्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले निजी क्षेत्रको सेवा गर्न आफूहरु सक्षम हुने समेत बताए । उनले महासंघलाई समस्याको समाधान गर्ने निकायको रुपमा मात्रै सिमित नगरेर नेपालको समग्र निजी क्षेत्रको सुदृढीकरणका लागि काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष गोल्छाले आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि प्रत्यायसी किसोर प्रधानको समूहलाई साथ दिएका छन् ।