सरकारले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने
काठमाडौं । सरकारले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने भएको छ । गठबन्धन दलहरुले संयुक्त रुपमा न्यूनतम साझा नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने कार्यक्रमलाई प्राथमिकता साथ उल्लेख गरेको हो । सरकारले स्वदेशी लगानीलाई प्रोत्साहन तथा विदेशी लगानीलाई आकर्षण गर्ने गरी लगानी मैत्री वातावरण निर्माण गर्ने, विदेशी सहयोग र अनुदान उत्पादनशील र भौतिक पूर्वाधार विकासको क्षेत्रमा प्रवाह गर्ने र लगानी मैत्री वातावरणको सुनिश्चितता गर्न आवश्यकतानुरूप आर्थिक ऐन, नियमहरू संशोधन गर्ने उल्लेख गरेको छ । यस्तै, वैदेशिक ऋण भुक्तानीलाई पारदर्शी बनाउने र औद्योगिक विकासलाई तिव्रता दिने विषयलाई पनि सरकारले प्राथमिकताका साथ सार्वजनिक गरेको छ ।
मलेसियाबाट फर्किएका धनबहादुर धानुकले पिउने पानी उद्योग सञ्चालन गर्दै
दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन् । करिब एकदशक समय मलेसियामा सुरक्षागार्डको काम गरेर नेपाल फर्किएका उनले ‘बेदकोट बेसलरी’ नामक पिउने पानी उद्योग सञ्चालन गरेका हुन् । पानी उद्योगसँगै उनले सिरक डसना उद्योगसमेत सञ्चालन गरेका छन् । ‘नौ वर्ष मलेसियामा सुरक्षागार्डका रुपमा काम गरे ।’ उनले भने, ‘अर्काको देशमा १२/१२ घण्टा काम गर्नुभन्दा आफ्नै देशमा १२ घण्टा काम गरे सफल भइन्छ भन्ने सोच आयो अनि घरमै उद्योग सञ्चालन गरेको हुँ ।’ डेढ दशकअघि रोजगारी खोज्दै खाडी मुलुक पुगेका उनले अहिले उद्योगमा पाँच जनालाई रोजगारी दिएका छन् । उनले तीन वर्षअघि ३८ लाख रुपैयाँमा उद्योग स्थापना गरेर काम सुरु गरेको बताए । ‘अहिले पाँच जनाबाहेक मलाई बुवा र श्रीमतीले पनि सहयोग गर्नुभएको छ’, उनले भने । ‘विदेशमा पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगाउँछु भनेर लागेको छु ।’ उनले फुर्सदका समय निकालेर कृषि कार्यमा समेत लागेको बताए । ‘फुर्सद भएका बेला आफ्नै खेतमा काम गर्छु ।’ उनले भने, ‘सिजनका बेला गन्नाको जुस पनि बिक्री गर्ने गरेको छु ।’ उनले पुराना सिरक डसनाबाट नयाँ सिरक डसना बनाउने गरेको बताए । ‘अहिले बेदकोट नगरपालिकामा मात्रै बिक्रीवितरण गर्ने गरेको छु’, उनले भने, ‘बाहिर बजारमा अवस्थ्य प्रतिस्पर्धा छ स्थानीय बजारमै सन्तुष्ट छु ।’ स्वदेशमा उद्यम गर्नका लागि थुप्रै समस्या भए पनि अर्काको देशमा मेहनत गर्नुभन्दा आफ्नै देशमा मेहनत गर्न लागेको उनले बताए । ‘यहाँ केही गर्न चाहनेलाई राज्यबाट सहयोग भएको देखिएन’, उनले गुनासो गर्दै भने, ‘कृषिमा पनि गर्नेले कहिले सहुलियत अनुदान पाउँदैन नगर्नेले अनुदान पाएको हुन्छ ।’ उनले यहाँ बजारको मुख्य समस्या रहेको बताए । विदेशबाट फर्केर स्वदेशमा उद्यम गर्नेलाई स्थानीय सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै निकायबाट सहयोग नभएको उनको भनाई छ । यहाँ कृषि गर्न चाहनेका लागि पनि सरकारले वातावरण बनाउन नसकेको उनको दुखेसो छ । ‘आफ्नै खेतबारीमा केही उत्पादन गरौँ भने पनि त्यस्तो वातावरण छैन’, उनले भने, ‘समयमा मलखाद र बीउबिजन पाउन मुस्किल पर्छ ।’ उनले सरकारले समयमै मलखाद र बीउबिजन उपलब्ध गराए विदेशिने युवा रोकिने बताए । ‘अहिले पनि दैनिक सयौँ युवा विदेश गइरहेका छन् यहाँ रोजगारी नपाएर नै हुन’, उनले भने, ‘सरकारले आफ्नो भूमिमा उत्पादन गर्ने उद्यमीका लागि विशेष सुविधा दिनुपर्छ ।’ उनले आफ्नो उद्योगबाट पर्याप्त आम्दानी नभए पनि परिवारको जोहो भइरहेको बताए । रासस
वरिष्ठ उपाध्यक्षका उम्मेदवारसँग ढकालको ‘टेबल टक’, सर्वसम्मत नेतृत्व चयनको अभ्यास थालौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरुलाई एकै ठाउँमा राखेर सर्वसम्मत नेतृत्व चयन गर्ने किसिमले पहल सुरु गरेका हुन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् । बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर तीन जनालाई मिलेर अगाढि बढ्न आग्रह गरेका छन् । ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने हो, ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्, यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ, यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो,’ ढकालले भने । उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए । ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ,। हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने । उनले निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा व्यवसायीहरु बिभाजन नहुन पनि आग्रह गरेका छन् । एकता र सहकार्यबाट समाधान खाजेर अगाडि बढ्नु पर्न उनको भनाइ छ ।