२० लाखको लगानीमा हेटौंडामा खुल्यो दुई उद्योग, स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने

बाग्मती । हेटौंडा उपमहानगरपालिका नगरक्षेत्रमा दुईवटा गार्मेन्ट उद्योग स्थापना गरिएको छ । उपमहानगरले २० लाख रुपैयाँको लगानीमा वडा नं ५ र १८ मा उद्योग स्थापना गरेको जनाएको छ । वडा नं ५ मा ‘हेटौंडा गार्मेन्ट समूह उद्योग’ र वडा नं १८ को हर्नामाडीमा ‘स्वरोजगार महिला गार्मेन्ट उद्योग’ स्थापना गरिएको उपमहानगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिए । स्थानीयलाई स्वरोजगार बनाउँदै सीप र क्षमताको विकास गर्ने उद्देश्यले दुई फरक स्थानमा उद्योग स्थापना गरी सञ्चालनको तयारी गरिएको उनले बताए । उद्योग सञ्चालन भएसँगै स्थानीयलाई आयआर्जनमा सहयोग पुग्ने उनको भनाइ थियो । पहिलो चरणमा उपमहानगरले लगानीमा ‘आधारभूत सिलाइकटाइ तालिम’ प्रदान गरी रोजगारीका अवसर सृजना गर्ने वातावरण तयार गरिएको उपमहानगरपालिकाका उद्योग तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेलले बताए । अहिले प्रथम चरणमा आधारभूत सिलाइकटाइको तालिमपछि हेटौंडा-५ मा १० जनालाई र हेटौंडा-१८ मा २१ जनालाई रोजगारीका अवसर दिने उनको भनाइ थियो । उक्त गार्मेन्ट सञ्चालनमा आएपछि प्रत्येक वर्ष १० जनाका दरले रोजगारीमा वृद्धि गर्दै जाने योजना रहेको उनले जानकारी दिए । त्यस्तै, हेटौंडामा तीन करोड रुपैयाँको लागतमा कृषि तथा तरकारी फलफूल बजार सञ्चालन आएको छ । वडा नं ४ मा त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्वारा सञ्चालनमा आएको उक्त तरकारी बजारको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरे । उक्त तरकारी तथा फलफूल बजारमा ९० तरकारीका स्टल, ३० गेडागुडी तथा खाद्यान्नका स्टल, २० फलफूलका स्टल, पाँच मासुका स्टल र पाँच खाजाका लागि स्टल राखिएको मार्टका अध्यक्ष अभ्यास भुजेलले जानकारी दिए । रासस

ककनीको पानी हङकङ र मकाउ निर्यात, मूल्य प्रतिबोतल १०० रुपैयाँ

काठमाडौँ । ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन् । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताए । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उनले जानकारी दिए । “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिलिटर प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मक रुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उनले भने । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने निणर्य हुने कम्पनीको भनाइ छ । ‘कम्पनी हङकङ र मकाउमा पानी निर्यातका लागि स्वीकृत पाइसकेको छ,’ उनले भने, ‘पहिलो चरणमा एक कन्टेनरमा ११ सय कार्टुन पानी हङकङ निर्यात भइसकेको छ ।’ उनका अनुसार तत्कालका लागि हङकङ र मकाउमा मात्रै मासिक १० कन्टेनर बराबरको पानी निर्यात गर्न सकिने सम्भावना छ । सामान्यतयाः यहाँबाट ४० दिनमा हङकङमा पानी निर्यात गर्न सकिन्छ । अन्य देशमा पनि माग भएमा मासिक आठदेखि १० कन्टेनर अर्थात् करिब एक लाख लिटर पानी निर्यात गर्न सकिने क्षमता कम्पनीसँग रहेको उनले जानकारी दिए । यद्यपि माग बढेको अवस्थामा क्षमता विस्तार गर्नेसमेत योजना रहेको उनले सुनाए । सञ्चालक खत्रीका अनुसार कम्पनीसँग हाल दैनिक औसतमा एक लाख लिटर पानी फिल्टरिङ र प्याकिङ गर्न सक्ने क्षमता छ । ‘हङकङ र मकाउपछि बङ्गलादेशमा पानी निर्यातका लागि प्रक्रिया निकै अगाडि बढेको छ,’ उनले भने, ‘त्यसबाहेक कतार, साउदी अरब र अष्ट्रेलियमा पनि पानी निर्यातका लागि काम भइरहेको छ ।’ कम्पनीले काठमाडौँको तारकेश्वर नगरपालिका-३ मा करिब रु १२ करोड लगानीमा चार रोपनी क्षेत्रफलमा उद्योग स्थापना गरेको छ । कम्पनी सञ्चालकमा विकास खत्री, शालिग्राम ढुङ्गाना, पुनकाजी महर्जन र राजु रिमाल छन् । चार जना मिलेर सन् २०१७ देखि वेभ नेपाल प्रालि सञ्चालन गर्दै आएका थिए । यसअघि उनीहरु छुट्टाछुट्टै प्रोसेस पानीको व्यापार गर्दै आएका थिए । कम्पनीले पानी शुद्धीकरणका लागि अमेरिकन प्रविधि ‘अल्ट्रा फिल्टरेसन’ प्रयोग गरेको छ । पानी शुद्धीकरणमा ‘ह्युमन ह्याण्ड’ कतै पनि प्रयोग नहुने र प्रोसेस सकिएपछि प्रत्येक बोतल र जारमा भरिने पानीको ल्याबमा परीक्षणसमेत गरिने उनको भनाइ छ । ‘एक कन्टेनर पानी हङकङ निर्यातका लागि प्रतिकन्टेनर २८ सयदेखि तीन हजार डलर पर्ने अनुमान छ । बीस फिटको कन्टेनरमा ११ सय कार्टुन पानी अट्ने गर्छ । विदेशमा पानी निर्यात गर्दा तीन सय, पाँच सय र एक लिटरको बोतलमा हाल निर्यात भइरहेको छ,’ उनले भने । कम्पनीको प्रयोग गर्ने पानीको स्रोत छ हजार छ सय ७० फिट उचाइमा रहेको ककनीमा पर्छ । स्प्रिङ वाटरको महत्व बुझाउन सक्ने हो भने भारतमा मात्रै पनि ठूलो परिमाणमा पानी निर्यात गर्न सकिने सम्भावना रहेको कम्पनीको बुझाइ छ । कम्पनीले हाल निर्यात गरिरहेको पानी ट्राउट जातको माछापालनका लागि पनि योग्य मानिन्छ । उनका अनुसार नेपालमा बिक्री गर्ने पानीको तुलनामा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्छ । ‘हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, जसले पानीको मूल्य बढी पर्छ,’ उनले भने । कम्पनीमा हाल प्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनालाई रोजगारी पाइरहेको उनको भनाइ छ । रासस

महासंघको पूँजी बजार फोरम समिति विस्तार, को-को बने सदस्य ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरम विस्तार गरिएको छ । महासंघका कार्यकारिणी समिति सदस्य शैलेन्द्र गुरागाईंको सभापतित्वमा गठन भएको पूँजी बजार फोरम शुक्रबार विस्तार भएको हो । महासंघले फोरममा २ जना उपसभापति, ५ जना सदस्य, ७ जना आमन्त्रित सदस्य र २ जना सल्लाहाकार सदस्यसहित १७ जनाको समिति विस्तार भएको हो । फोरमको सभापतिमा गुरागाईं छन् भने उपसभापतिमा धर्मराज सापकोटा र विजयलाल श्रेष्ठ चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा सागर ढकाल, रमेश कुवर, भरत बहादुर खत्री, तुल्सीराम ढकाल, घनश्याम पौडेल, सन्तोष पौडेल चयन भएका हुन् । यस्तै, आमन्त्रित सदस्यहरुमा भिष्म राज चालिसे, सृजना सुवेदी, प्रकाश भुषाल, सन्तोष राज नेपाल, केशव प्रसाद भण्डारी, सरीता विष्ट चयन भएका हुन् । यस्तै, सल्लाहकारमा डा. आत्मराम घिमिरे र भरत रानाभाट चयन भएको महासंघले जनाएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल सदस्यहरुलाई औपचारिक पत्र हस्तान्तरण गरेका थिए ।