चार महिनापछि चुनढुङ्गा ढुवानी गर्दै सौर्य सिमेन्ट, खानी बन्द हुँदा राज्यलाई समेत घाटा

कटारी । उदयपुरको कटारी-८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् । लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । ‘वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन गर्ने तयारी भएको छ’, नगरप्रमुख श्रेष्ठले भने, ‘दुई पक्षका साथै सरोकारवालाको भेलाले माग क्रमशः पूरा गर्दै खानी सञ्चालन गर्न दिने तयारी हुँदै छ ।’ सरोकारवालाको छलफलबाट उद्योगले प्रभावित स्थानीयलाई गर्दै आएको विभिन्न सहयोग नगरपालिकाबाट एकद्वार प्रणालीबाट सञ्चालन गर्ने तयारी भएको छ । ‘प्रत्येक समूहका पदाधिकारी र व्यक्तिसँग डिल गरेर सञ्चालन गर्दा प्रभावकारी बनेन’, उद्योगका खानी विभाग प्रमुख राजन झाले भने, ‘हामी प्रभावितका माग पूरा गर्दै जान्छौं तर नगरपालिका र वडा सरकारसँग समन्वय गरी एकद्वार प्रणालीमा काम गर्छौं ।’ सामुदायिक वनले वन क्षेत्रको सडकबाट उद्योगले ढुवानी गर्दा भएको क्षति डिभिजन वन कार्यालय कटारीको समन्वयमा अध्ययन गरी क्षतिपूर्ति दिनुपर्ने, यसअघि भएको सडक ढलान, खानेपानी, स्वास्थ्यसँग सम्बन्धित शिविर यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका छन् । ‘प्रभावित वडावासीसँगै छलफल गरेर प्राथमिकताका आधारमा काम गर्ने तयारी भएको छ’, कटारी-८ का वडाध्यक्ष नवीन्द्र तामाङ भन्छन्, ‘प्रभावितको माग सम्बोधन गरी उद्योग सञ्चालनमा आउनुपर्छ ।’ आर्थिक मन्दीका बीचमा लामो समय खानी बन्द भएपछि उद्योग घाटामा गएको बताउँदै खानी विभाग प्रमुख झाले सरकारको प्राथमिकतामा सञ्चालनमा रहेको उद्योग नचल्दा राज्यले समेत घाटा व्यहोर्नुपरेको बताए । नियमित सञ्चालन हुने वातावरण नगरपालिकाबाट तयार गरिदिए आफूहरू प्रभावित क्षेत्रको माग नगरपालिकाकै समन्वयमा पूरा गर्ने प्रतिवद्धता जनाए । उद्योग सञ्चालनका लागि स्थानीयवासी स्थानीयस्तरमै छलफल गर्न तयार भएका छन् । स्थानीय वडा र टोल साथै वन समूह नगरपालिकाको समन्वयमा छलफलमा बसी खानी सञ्चालन गर्न दिन तयार भएका हुन् । रासस

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए । हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत् आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए । नेपाल सरकारको स्वामित्वमा रहेको सो उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएकोे छ । साविक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ । तत्कालीन श्री ५ को सरकारले विसं २०३३ मा हेटौँडामा स्थापना गरेको उक्त उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको थियो । एक अर्ब ५० करोडको लगानीमा स्थापना गरिएको सो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण भइरहेकाले पर्याप्त सिमेन्ट बिक्रीवितरण हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए । रासस

एमाले निकट व्यवसायीलाई पौडलले भने : हाम्रो पूर्ण साथ रहन्छ, सडक आन्दोलन गर्नुस्

काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका लागि सरकारलाई दवाव दिन आवश्यक रहेको बताएका छन् । यसको लागि उनले एमाले निकट व्यवसायीलाई सरकालार्य ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अब ध्यानाकर्षणभन्दा पनि सडकमा उत्रिएर दबाव दिन आवश्यक छ, त्यसमा हाम्रो पूर्ण साथ रहन्छ, तपाईंहरु संगठित भएर मात्रै अगाडि बढ्नुस्,’ पूर्व अर्थमन्त्री पौडेलले भने । ‘सेयर बजार एमाले आउँदा हरियो, बाहिरिँदा रातो किन हुन्छ ?’ थप बोल्दै उनले भने- ‘एमालेले समस्यालाई पहिचान गरेर समाधान गर्छ । त्यस कारण हामी आउँदा उत्साह हुन्छ र बाहिरिँदा निरासा हुन्छ, त्यसकारण सेयर बजार रातो हुन्छ ।’ समस्याहरुलाई प्राथकिताका आधारमा निर्धारण गरेर सम्बन्धित निकायमा राख्न उनले व्यवसायीलाई आग्रह गरेका छन् । ‘म अर्थमन्त्री हुँदा अर्थतन्त्रका सूचकहरु सकारात्मक थिए, तर, अहिले नकारात्मक छ, यो सरकारको नेतृत्वमा अर्थतन्त्र सुधार हुन सक्दैन, अर्थतन्त्र सुधारका लागि यो सरकारले कुनै पनि व्यवहारिक तथा नीतिगत व्यवस्था गर्न सक्दैन,’ दावी गर्दै उनले भने ।