आईपीओ नबिकेपछि सोनापुर मिनरल्सले थप्यो आवेदन दिने समय
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको आईपीओमा लगानीकर्ताले आवेदन नदिएपछि समय थप गरिएको छ । असोज १४ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताको ४ दिनको अवधिमा पूर्ण आवेदन नदिएपछि असोज २८ गतेसम्म समय थप गरिएको हो । कम्पनीले जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा स्थानीयले खरिद नगरेको सेयरसहित ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कर्मचारीलाई भने प्रतिकित्ता २२५ रुपैयाँमा ६ लाख ८ हजार २८४ कित्ता सेयर सुरक्षित राखिएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
नीति निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई सुझाव
काठमाडौं । नेपाल उद्योग परिसंघले नीति निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई सुझाव दिएको छ । नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ सचिवालयमा छलफल भएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नीति, निर्देशनमा अनावश्यक दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आग्रह गरे । उनले नेपालको अर्थतन्त्रको आफ्नै विशेषता रहेकाले अन्य मुलुक वा सिद्धान्तका उपाय नेपालको अर्थतन्त्रमा हुबहु लागू नहुने र अनावश्यक दबाब समेत दिन नहुनेमा कोषको ध्यानाकर्षण गराए । उनले पेट्रोलियम पदार्थ र वस्तुहरु आयात हुँदाको असर मूल्यबृद्धिमा पर्ने हुँदा मुल्यबृद्धि नियन्त्रण गर्न ब्याज बढाउनु मात्रै उपयुक्त कदम नहुन सक्ने बताए । अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुँदा ब्याजले खासै असर नगर्ने तर उद्योग क्षमताको ३० प्रतिशतमा संचालन हुँदा धेरै असर गर्ने उनले बताए । उनले मुद्रास्फिती नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अबलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको बताए । कोभिड १९ पछि उचित सुपरिवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग भएको देखिएको भएपनि कोभिडपछि नियामकीय निकायले विस्तारै लिनुपर्ने नीतिहरु छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनले बताए । अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरुलाई संरक्षण गर्ने खालको मात्रै भएको बताए । राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानको लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको तर राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरित रहेको उनको भनाईमा मुद्रा कोषमा प्रतिनिधिहरुले समेत सहमती जनाए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि समग्र माग बढाउने नीति लिनुपर्ने र यसका लागि ब्याज घटाइनुपर्नेमा जोड दिए । आइएमएफका इसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजलगायतका टोलीले चालुपूँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीहरुलाई परेको असर, सुधारका लागि परिसंघको धारणालगायतका विषयमा छलफल गरेका थिए । छलफलमा परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, परिसंघका महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए ।
सातै प्रदेशमा लगानी सम्मेलन गर्ने उद्योग वाणिज्य महासङ्घको निर्णय
ढोरपाटन । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र ढोरपाटनमा आज बसेको बैठकले सो निर्णय गरेको हो । प्रचुर सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको ढोरपाटन क्षेत्रको प्रचार गर्ने उद्देश्यले महासङ्घको तेस्रो बैठक आज ढोरपाटनमा आयोजना गरिएको थियो । उक्त बैठकले देशमा लगानीका क्रियाकलापलाई चलायमान गराउन देशका सबै प्रदेशमा लगानी सम्मेलनको आयोजना गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी सो बैठकले सन् २०२५ लाई देशका समग्र निजी क्षेत्रले पर्यटन वर्षका रुपमा मानउने निर्णय पनि गरेको छ । पर्यटन वर्ष मनाउनेसम्बन्धी प्रचारप्रसार आजैदेखि सुरु गर्ने र यससम्बन्धी पत्राचार महासङ्घका देशैभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घमार्फत गर्ने निर्णय भएको छ । अध्यक्ष ढकालको गृह जिल्लामा आयोजना गरिएको सो बैठकले मुलुकमा व्याप्त आर्थिक सङ्कट घटाउँदै तरलता बढाउन असोज मसान्तभित्रै राजनीतिक तथा सरोकारवाला निकायबीच छलफल गर्न एक उच्चस्तरीय तथा सर्वपक्षीय सम्मेलन गर्ने पनि निर्णय गरेको छ । अध्यक्ष ढकालले महासङ्घ एवं नेपाल सरकारलेसमेत वैदेशिक लगानीका लागि आग्रह गरिरहेको वर्तमान अवस्थामा देशभित्रै लगानीको वातावरण निर्माण गरी आर्थिक चलायनमान बनाउनका लागि लगानी सम्मेलन गर्ने निर्णय भएको बताए । अध्यक्ष ढकालले भने, ‘सन् २०२५ लाई पर्यटन वर्षका रुपमा मनाउने निर्णय भएको छ र यो निर्णय मुलुकको एक प्रमुख पर्यटकीय क्षेत्र एवं नेपालको एकमात्र सिकार आरक्षमा बैठक बसेर गरिएको छ । कोरोना महामारीले थला पारेको देशको पर्यटन व्यवसायलाई उठाउनका लागि आजैदेखि पर्यटकीय क्रियाकलाप गर्न सो निर्णय सहायक सिद्ध हुने अपेक्षा गरेका छौँ ।’ त्यसैगरी पर्यटकीय क्षेत्र ढोरपाटनको पनि प्रचारप्रसार र आवश्यक प्रवद्र्धन गर्नका लागि मुलुकका समग्र उद्योगी, व्यवसायीहरुको छाता संस्था महासङ्घले बागलुङको ढोरपाटनमा बैठक आयोजना गरेको अध्यक्ष ढकालले जानकारी दिए । ‘नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा विदेशी पर्यटकहरु सिकार खेल्न मात्रै आउने प्रचलन छ, यहाँको पर्यटन पूर्वाधार र प्रचारप्रसार गर्न निजी क्षेत्रले उत्सुकता देखाएको हो’, ढाकालले भने, ‘ढोरपाटनको भ्रमणमा छौँ, यहाँका सम्भावनाको खोजी गर्नेछौँ’, अध्यक्ष ढकालले भने । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन प्रचुर सम्भावना भएर पनि ओझेलमा पर्दै परेको छ । देशका उद्योगी व्यवसायी सम्मिलत यस बैठकपछि नेपालका एक सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको ढोरपाटनको थप विकास हुने आशा स्थानीयले गरेका छन् । बागलुङ उद्योग वाणिज्य सङ्घ बागलुङ र ढोरपाटन उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा ढोरपाटनमा बैठक आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । देशभरका निजी क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले ढोरपाटन अवलोकन गर्दा पर्यटनको विकासमा सहयोग पुग्ने उनको विचार छ । ढोरपाटनमा आवश्यक पर्यटकीय पूर्वाधार, सुविधा सम्पन्न होटलसहित अन्य व्यावसायिक योजनासमेत बन्नसक्ने अपेक्षा स्थानीयको रहेको पनि अध्यक्ष कँडेलले बताए । यो सिकार आरक्ष तथा प्रमुख पर्यटकीय क्षेत्र त हो नै यहाँको आलु पनि पश्चिमको बजारमा लोकप्रिय छ । यहाँ आलु र स्याउको प्रचुर सम्भावना रहेको छ । बैठकपश्चात् महासङ्घको कार्यसमितिमा रहेका सदस्य एवं पदाधिकारीहरुले ढोरपाटन क्षेत्रको अध्ययन, स्थलगत अवलोकन र सिकार आरक्ष कार्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको छ । बैठकमा ढोरपाटनको प्रसिद्ध ढोरबराह मन्दिरका साथै समग्र जिल्लाको पर्यटनका विषयमा समेत छलफल भएको ढोरपाटन उद्योग वाणिज्य सङ्घका अध्यक्ष ढालेन्द्र्र छन्त्यालले बताए । ढोरपाटनमा सिकार आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, स्याउ बगैँचा, ढोरबराह मन्दिर, देउराली, निशेलढोर, सिकार आरक्ष कार्यालयको सङ्ग्रहालयलगायत ढोरपाटनमा पर्यटक भुलाउने अनेकौँ स्थान रहेका छन् । सिकार खेल्नका लागि विदेशी पर्यटकमात्र आउने गरेको ढोरपाटनमा पछिल्लो समय आन्तरिक पर्यटकहरु पनि बढेका छन् । तर ढोरपाटन पुग्ने सडक र त्यहाँ सुविधा सम्पन्न होटल नहुँदा भने पर्यटकलाई समस्या भइरहेको छ । रासस