तनहुँमा एक वर्षमा ७७१ उद्योग दर्ता

फाइल फोटो दमौली । आर्थिक वर्ष २०८०र८१ तनहुँमा सात सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा एक हजार एक सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा दुई सय ६२ उद्योग बन्द भएका छन् । त्यस अवधिमा वाणिज्यतर्फ आठ सय १७ नवीकरण र दुई सय ७० फार्म बन्द भएका हुन् । आव २०७९र८० मा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । सो आवमा रु ५१ लाख २१ हजार आठ सय राजस्व सङ्कलन भएको छ । आव २०७९र८० मा रु ६६ लाख चार हजार एक सय ६५ राजस्व सङ्कलन भएको थियो ।

उपभोक्ता संरक्षण विभागले गर्‍यो व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक वर्षको अवधिमा ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख रुपैयाँ जरिवाना गराएको छ । विभागले अनुगमनको क्रममा कैफियत भेटिएका ३७ व्यापारिक प्रतिष्ठानलाई ३ करोड ७५ लाख ७८ हजार रुपैयाँ जरिवाना गराएको हो । गत आर्थिक वर्षमा विभागले ४ हजार २ सय ६९ पटक अनुगमन गरेको थियो । अनुगमनका क्रममा १ करोड २६ लाख रुपैयाँ बराबरको गुणस्तरहीन र म्याद गुज्रिएका विभिन्न वस्तु जफत गरी नष्ट समेत गरिएको विभागले जनाएको छ । जरिवानातर्फ सबैभन्दा बढी खाद्य पदार्थ बिक्री गर्ने २३४ व्यापारिक प्रतिष्ठानलाई ८६ लाख १५ हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, १०१ रेडिमेड तथा थान कपडा पसललाई १९ लाख २२ हजार, अन्य पसललाई ४१ लाख ३५ हजार, किराना पसललाई १५ लाख ४५ हजार, होटेल तथा रेस्टररेन्टलाई ७३ लाख ९० हजार, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसललाई ८ लाख ६१ हजार, तरकारी पसललाई ५ लाख ३० हजार, मार्ट तथा मिनी मार्टलाई १५ लाख र फर्निचरलाई ४ लाख ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ । यसैगरी हार्डवेयरलाई ७ लाख ४० हजार, मिठाइँ पसललाई ११ लाख ७० हजार, डेरी उद्योगलाइृ १५ लाख र मदिरा तथा सूर्तिजन्य पसललाई १४ लाख ५० हजार रुपैयाँ जरिवाना गराइएको विभागले जनाएको छ ।

सञ्चालन खर्च धान्न नसकेर दाङमा ८७७ वटा व्यावसायिक फर्म बन्द

घोराही । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन खर्च धान्न नसकेर दाङमा आठ सय ७७ वटा व्यावसायिक फर्म बन्द भएका छन् । व्यवसाय बन्द गर्ने र खोल्नेको सङ्ख्या समान छ । घरेलु तथा साना उद्योग कार्यालयमा उत्पादनमूलक, कृषि तथा वनजन्य, ऊर्जामूलक, खनिज जन्य, निर्माण उद्योग, सेवामूलक र सूचना तथा प्रविधिसम्बन्धी उद्योग दर्ता भएका छन् । नयाँ दर्ता गर्नेको सङ्ख्या र बन्द गराउनेको सङ्ख्या उस्तै रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोषकुमार सुवेदीले बताए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वनजन्यमा वृद्धि भएको उनले बताए । सञ्चालन घाटा भएपछि उद्योगको लगत कट्टा गर्नुपरेको व्यवसायीले बताएका छन् । योे अवधिमा चार सय ७१ वटा उद्योग बन्द भएका छन् । समीक्षा अवधिमा पाँच सय ९६ वटा फर्म दर्ता भएकामा पाँच सय ९२ वटा निजी र चारवटा साझेदारी फर्म छन् । एक हजार चार सय ५७ वटा फर्मको नवीकरण भएको छभने दुई सय ९२ वटाले पुँजी वृद्धि गरेका छन् । एक वर्षमा पाँच सय १३ वटा उद्योग थपिएका छन् । थपिएका उद्योगमा पाँच सय ४८ जना नयाँ उद्यममा दत्तचित्त भएर लागेका छन्भने एक हजार पाँच सय ६२ जनाले रोजगारी प्राप्त गरेका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । एक हजार एक सय ५६ वटा उद्योगले नवीकरण भएका छन् । यो अवधिमा उत्पादनमूलक उद्योग ९८ वटा थपिएका छन् । कृषि तथा वनजन्य उद्योग दुई सय ३१ वटा थपिएका छन् । पर्यटन उद्योगतर्फ ६१ वटा थपिएका छन् । सेवामूलक उद्योगको सङ्ख्या एक सय २३ पुगेको छ ।