सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ८० हजार ३ सय
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलाको एक लाख ८० हजार रुपैयाँभन्दा माथि पुगेको छ । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ८० हजार ३०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आजभन्दा अगाडिको उच्च मूल्य चैत १९ गते प्रतितोला एक लाख ७९ हजार ७०० रुपैयाँ कायम थियो । सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ९९५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘अनादीको खट्टे’ उत्पादन
डुम्रे । भानु नगरपालिका–१२ कवाचितस्थित रुप एण्ड अर्गानिक एग्रो फार्मले रैथाने खाद्यान्नको ‘ब्राण्डिङ’ गरी ‘भानुको अनादीको खट्टे’ उत्पादनमा जुटेका छन् । अनादीको चामललाई प्रवद्र्धन र आम्दानीसँग जोड्ने उद्देश्यले फार्मले भानुको अनादीको खट्टे बजारमा ल्याएको हो । जिल्ला तथा नगरपालिका क्षेत्रमा उत्पादित अनादीको धानखेतीमा प्रोत्साहन पुर्याउने लक्ष्यका साथ ब्राण्डिङ गरी अनादीको खट्टे बजारमा ल्याइएको फार्मका सञ्चालक रामकृष्ण अधिकारीले बताए । भानु नगरपालिकाको समन्वयमा अनादी धानलाई खट्टे बनाएर बजार पठाइएको हो । अनादीको धानखेती लोपोन्मुख भएकाले यसको प्रवद्र्धनका लागि अनादीको खट्टे बनाइएको उनले बताए । 'अनादीको धानखेती कम हुने गरेको छ, बढी उत्पादन लिने लक्ष्यका साथ स्थानीयले अन्य प्रजातिका धान लगाउने गर्दछन्', सञ्चालक अधिकारीले भने, 'रैथाने धान संरक्षण, प्रवद्र्धन तथा ब्राण्डिङ गरी आयसँग जोड्न अनादीको खट्टे बजारमा ल्याएका हौँ ।' भानु नगरपालिका कृषि विकास शाखाका प्रमुख विनोद थापा मगरले नगरपालिकाले रैथाने बाली कार्यक्रमअन्तर्गत ब्राण्डिङ र प्याकेजिङमा नगरपालिकाको सहयोग रहेको बताए । उनले भने, 'खाना, प्रविधि र गुणस्तर नियन्त्रणको विभागीय परीक्षण नगरपालिकाले गरेका छ, उत्कृष्ट ठहरिएपछि अनादीको खट्टे बजार पठाउन स्वीकृति दिइएको हो ।' नगरपालिकाका १३ वटै वडा तथा जिल्लाका किसानले उत्पादन गरेका अनादीलाई खट्टे बनाएर बजार पु¥याउने गरिएको कृषि शाखाले जनाएको छ । रासस
बहुउद्देश्यीय प्लास्टिक उद्योगमा आगलागी, साढे ८ लाखको क्षति
काठमाडौं । मकवानपुरको छुट्टा छुट्टै स्थानमा आज भएको आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेलीस्थित बहुउद्देश्यीय प्लास्टिक उद्योग (नेपाली सेनाले हेण्ड ग्रिनेड बनाउने ठाउँ) को जवान ब्यारेकमा आगलागी हुँदा करिब साढे ८ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए । विद्युत् सर्ट भई आगलागी हुँदा ब्यारेकमा रहेका नेपाली सेनाका लत्ताकपडा, फर्निचर, कागजात तथा दराज जलेर नष्ट भएको प्रहरी निरीक्षक ढकालले बताए । हेटौंडा उपमहानगर पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ढकालको भनाइ छ । हेटौंडा उपमहानगरपालिका–१२ स्थित आल्दमार सुवेदी टोल निवासी पुरुषोत्तम ढुङ्गानाको गाई गोठमा आज आगलागी हुँदा करिब १ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको छ ।