बैंकहरुले ब्याज घटाउन थालिसके, ठूला परियोजना सञ्चालनको तयारीमा छौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् ।  गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए ।  मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनु पर्ने धारणा राखे । युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको उनको भनाइ छ ।  त्यसैका लागि महासङ्घको अगुवाइमा गत वर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनले बताए ।  अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा छ । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए ।  बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पुँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे । 

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ ।  औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।  ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ,’ उनले भने । 

स्टाइल सुजले पठायो बजारमा नयाँ २५ मोडल, जुत्ता खरिदमा १५ प्रतिशत छुट

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा स्टाइल सुजले आफ्ना ग्राहकहरूका लागि छुट र अफरका योजना सार्वजनिक गरेको छ । झण्डै एक दशकदेखि नेपाली बजारमा बच्चादेखि बृद्धसम्मका लागि जुत्ता उत्पादनदेखि बजारीकरण गर्दै आएको कम्पनीले ग्राहकहरूका लागि नयाँ वर्ष लक्षित अफर ल्याएको हो ।  स्टाइल सुज ब्रान्डको उत्पादक कम्पनी स्टाइल सुज इण्डष्ट्रिज प्रालिले हरेक जुत्ता खरिदमा १५ प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस्तै कम्पनीले नयाँ वर्षका लागि दुई दर्जनभन्दा बढी नयाँ पार्टी सुज, स्पोर्ट्स, बुट र क्याजुयल सुज सार्वजनिक गरेको छ ।  अहिलेसम्म साढे तीन सय मोडलका जुत्ता बजारमा पठाइसकेको स्टाइल सुजले नयाँ वर्षलाई लक्षित गर्दै थप २५ मोडल बजारमा ल्याएको कम्पनीले जनाएको छ । साथै वैशाखदेखि सुरु हुने विभिन्न स्कुलमा नयाँ भर्नासँगै छात्रछात्रालाई आवश्यक पर्ने जुत्ता उत्पादन गरेर बजारमा ल्याएको स्टाइल सुज इण्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक कुमार न्यौपानेले बताए ।  पछिल्लो समय स्टाइल सुज युवापुस्ताको विशेष रोजाइमा पर्ने गरेको भन्दै उहाँले बताउनुभयो । नेपालमा उत्पादित जुत्ताहरू आधुनिक युवायुवतीभन्दा पनि अलि उमेर ढल्केकाहरूको लागि मात्र हो भन्ने आम धारणालाई चिर्न पनि कम्पनीले उनीहरूको इच्छानुरूप नयाँ-नयाँ डिजाइन उपलब्ध गराएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।  कम्पनीले हरेक किसिमका ग्राहकका लागि पार्टी सुज, स्पोर्ट्स सुज, क्याजुयल सुज, अफिसियल सुजका साथै स्कुल र कलेज पढ्ने विद्यार्थीलगायतका अन्य डिजाइन रहेको कम्पनीले बताएको छ ।  देशका ६५ जिल्लाका मुख्य बजारमा उपलब्ध स्टाइल सुजमा छ महिनाको वारेन्टी दिइएको छ । करिब एक दशकअघि स्वदेशी उद्योग प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टाइल सुज ब्रान्ड बजारमा ल्याइएको प्रबन्ध निर्देशक न्यौपानेले बताए ।