हेटौंडा औद्योगिक क्षेत्रका तीन उद्योगको सम्पत्ति लिलाम गरिँदै, चर्चित व्यवसायी नै सम्पर्कविहीन
बागमती । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन/चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । नेपाल ब्रुअरी प्रालि व्यवसायी भुवन भट्टको हो । विभिन्न कारणले बन्द रहेका ती उद्योगका सञ्चालकलाई सम्पर्कमा आउन पटकपटक पत्राचार गर्दै आए पनि सम्पर्कमा आउन नचाहनेले कारबाही अघि बढाइएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख सङ्गीता कुँवरले बताए । ‘हामीले उद्योग सञ्चालकलाई निरन्तर फोन गरेर र पत्रचार गरेर बोलायौं,’ प्रमुख कुँवरले भने, ‘तर उहाँहरू आउनुभएन, त्यसैले सम्झौता रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएका हौं । सम्पत्ति लिलामीका लागि सूचना जारी भइसकेको छ, छिट्टै प्रक्रिया पुर्याएर लिलामी गर्छाैं ।’ यसैबीच हेटौंडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा आएका छन् । योसँगै औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगको सङ्ख्या एक सय ४६ पुगेको औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पछिल्लो पटक थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कट पाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका स–साना बाकस उत्पादन गर्न सुरु गरेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए । अमेरिकी सरकारको आर्थिक सहयोगमा २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् । कूल तीन हजार दुई सय २८ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र हाल १० उद्योग निर्माणाधीन अवस्थामा छन् । कूल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार एक सय ७८ रोपनी, खाली जमीन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निमार्ण क्षेत्रफल पाँच सय ९७ रोपनी रहेको छ । औद्योगिक क्षेत्रभित्र कार्यालयबाट निर्मित औद्योगिक भवन १०, गोदाम ११ र अन्य भवन ३४ रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले औद्योगिक क्षेत्रहाताभित्र रहेका उद्योग प्रतिष्ठानको आवश्यकता र मागका आधारमा औद्योगिक भवन, गोदाम, क्वाटर भवन र जग्गाको भाडा लिँदै आएको छ ।
मापदण्डविपरीत ३ खानी क्रसर उद्योग बन्द, विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुले
काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका क्षेत्रमा सञ्चालित ३ वटा खानी तथा क्रसर उद्योग बन्द गराएको छ । नगरको वडा नं २ र १२ मा मापदण्डविपरीत नवीकरण नगरी सञ्चालन भएका ३ खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । वडा नं २ स्थित डाइमण्ड स्टोन माइनिङ प्रालि, वडा नं १२ को भालेश्वर रोडा ढुङ्गा उद्योग प्रालि र दीपलक्ष्मी एग्रिगेट एण्ड माइनिङ प्रालिलाई अर्को आदेश नभएसम्मका बन्द गरिएको छ । नगरप्रमुख रामशरण भण्डारीका अनुसार खानी तथा भूगर्भ विभागबाट जारी उत्खनन अविध समाप्त भइसकेको र पटकपटक ताकेता गर्दासमेत बिनाइजाजत सञ्चालन गरेको देखिएकाले अर्को निर्णय र आदेश नभएसम्मका लागि ती उद्योग गराइएको हो । नगरले बिहीबार बिहान ती उद्योग अनुगमन गरी बन्द गर्ने निर्णय गरेको थियो । नगरप्रमुख भण्डारी, नगरउपप्रमुख गीता बन्जारा, सम्बन्धित वडाध्यक्ष तथा इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मीको टोलीले अनुगमन गरी तीन उद्योग बन्द गराएको हो । गत माघ ९ गते जिल्लास्तरीय अनुगमन समितिको बैठकले नदी तथा खानीजन्य क्रसर उद्योग र भौगोलिक विषमता नै बाढीपहिरोको मुख्य कारण रहेको निष्कर्ष निकाल्दै गैरकानुनी रूपमा सञ्चालित ढुङ्गा तथा क्रसरबाट ठूलो धनजनको क्षति भएको जनगुनासो आएकाले नियमविपरीत सञ्चालित उद्योग बन्द गराउने निर्णय गरेको थियो । पनौतीमा १४ वटा क्रसर तथा खानीमध्ये विपद्पछि ८ खानी र ५ क्रसर उद्योग खुलेका छन् । त्यसमध्ये तीन खानी तथा क्रसर उद्योग बन्द गरिएको हो । समितिले गत माघ ३ गते जिल्लाका सबै स्थानीय तहलाई गैरकानुनी रूपमा सञ्चालित ढुङ्गाखानी र क्रसर बन्द गर्न पत्राचार गरिए पनि कार्यान्वयन नभएपछि ९ गते नियमविपरीतका उद्योग बन्द गराउने निर्णय गरेको हो । सोहीअनुसार पनौतीले अनुगमन गरेर आज तीन उद्योग बन्द गराएको जनाइएको छ । यसैबीच समितिको निर्णयलाई कार्यान्वयन नगरी अन्य स्थानीय तहमा रहेका खानी तथा क्रसर उद्योग सञ्चालन भइरहेको पाइएको छ । गत असोज दोस्रो साताको बाढीपहिरोपछि खोलाको बहावले धार परिवर्तन गरेको, बस्ती जोखिममा परेको, वरिपरिका भूभागसमेत भत्किएको र बगाएको तथा पहिरो गएको, डस्ट ९धुलो० र गेग्य्रानले खोलाको सतह बढेको उल्लेख गर्दै हालको अवस्थामा बस्ती, खानी, खोला वन क्षेत्र भौगर्भिक अवस्थालगायत सरोकार राख्ने सबै पक्षमा गम्भीर एवं विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अध्ययनका लागि समितिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको थियो । विशेषगरी बाढी प्रभावित रहेका स्थानीय तह पनौती, रोशी, बेथानचोक र नमोबुद्धमा बढी क्रसर तथा खानी छन् । विपद्अघि जिल्लाका १३ स्थानीय तहमध्ये पनौतीमा १४, रोशीमा पाँच, नमोबुद्ध र भुम्लुमा चार, बेथानचोकमा तीन, मण्डनमा दुई, बनेपा, तेमाल र चौरीमा ११ खानी तथा क्रसर सञ्चालनमा थिए ।
आइएमई ग्रुपको कागज उद्योग प्रधानमन्त्री ओलीले गरे उद्घाटन, नयाँ उद्योगले आयात प्रतिस्थापन गर्ने
काठमाडौं । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ । उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए । अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गरे । उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गरे । औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराए । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिन थालेको छ । अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गरे । उनले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गरे । स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताए । सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गरे । ताप्लेजुगका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताए । काम सुरु भए लगत्तै जिल्ला भन्दा बाहिरबाट गएर अवरोधको प्रयास भएको र यस्तो प्रवृतिले भोलिका दिनमा लगानीको अवस्था के हुन्छ र लगानीकर्ता यस्तो अवस्थामा थप लगानीका लागि तयार हुन्छन् कि हुँदैनन भन्ने कुरा निजी क्षेत्र र राज्यले सोच्नुपर्ने अवस्था आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए । पूर्वाधार निर्माणजस्तो काममा देखिएको अवरोध सूचना प्रविधिको विकासले साँघुरो बनिरहेको संसार भरि पुग्दा त्यसले विश्वका लगानीकर्ताहरुमा कस्तो सन्देश सञ्चार गर्ला भन्ने चिन्ता निजी क्षेत्रमा बढाएको पनि अध्यक्ष ढकालले बताए । बदलिदै गरेको विश्व परिवेशमा विदेशी अनुदान तथा सहायता घट्दै गएको यथार्थ मनन गरेर स्वदेशी उद्यमी, रोजगारी र राजश्व सृजना गर्ने कर्मशिलहरुलाई प्रोत्साहन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले प्रकृतिले दिएका अपार सम्भावनाहरुलाई उपयोग गर्दै समृद्धि तर्फको यात्रामा सँगसँगै अगाडि बढ्न आह्वान समेत गरे । सबै राजनितिक दलका नेताहरु, सबै संघ संस्थाका नेतृत्व वर्गलाई पूर्वाधार विकास, रोजगारी सृजना, आम नागरिकले पाउने सेवा र राज्यले प्राप्त गर्ने राजश्वको मुख्य श्रोत सृजना गर्न सबै पक्ष एकै ठाउँमा उभिनु पर्ने आवस्यकता पनि अध्यक्ष ढकालले औल्याए । पूर्वाधार निर्माण, आर्थिक विकास र आम नागरिकले प्राप्त गर्ने सेवा, सुविधा र आवश्यकताका विषयमा नकारात्मक राजनिति नगर्न र पूर्वाधार विकास भयो भने मात्र नागरिकको जीवनस्तर सुधार हुने रोजगारी सृजना हुने, राजश्व वृद्धि हुने हो र मुलुक सम्मृद्ध हुनेमा कसैको दुईमत नरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । आज उद्घाटन भएको उद्योगको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अव त्यो अवस्था नरहने बताए । मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन । साना तथा हाते कागज उद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि प्रयाप्त छैन् । सो अवसरमा अध्यक्ष ढकालले आइएमई समुहको व्यावसायिक अभियानका प्राथमिकताका बारेमा पनि उल्लेख गरे । पहिलो,राष्ट्रले प्राथमिकतामा राखेको क्षेत्रमा लगानी गर्ने, दोस्रो, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्ने क्षेत्रमा लगानी गर्ने र, तेस्रो मुलुकको दीर्घकालीन र सबैको खाँचोको व्यवसाय बन्न सक्ने क्षेत्रमा लगानी गर्ने बताए । रेमिटेन्स, बैंक, बिमा, सूचना प्रबिधि जलविद्युत र पर्यटन पूर्वाधार सबै व्यवसाय यसै प्राथमिकतामा आधारित छन् । यस कारखानाले प्राथमिकता पूरा गर्न सक्दछ ।