सार्वजनिक खरिद एेन विपरित हिमालय एयरलाइन्सलाई एयरपोर्टभित्र जग्गा, विमानस्थलभित्रै कार्यालय
काठमाडौं, २२ साउन । नागरिक उड्डयन प्राधिकरणले अवैधानिक रुपमा हिमालय एयरलाइन्सलाई विमानस्थलभित्र कार्यालय खोल्ने सुविधा दिएको खुलेको छ। यो विमानस्थलभित्रको अति संवेदनशिल क्षेत्र हो। हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ । हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । पुर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई दिएको हो। हिमालय एयरलाइन्सले कुनै प्रक्रिया पूरा नगरी सो जग्गा पाएको खुलासा भएको हो। एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ । तत्कालीन प्रधानमन्त्री ओलीले चीन भ्रमणमा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको विमान प्रयोग नगरेर उडान नै सुरु नगरेको हिमालयन एयरलाइन्सको जहाज चार्टर गरेर लगेका थिए । हिमालयलाई तीन महिना अगाडि नै अनुमति दिइएको पाइएको छ । एयरलाइन्सले अनुमति पाएपछि रातारात भवन बनाएर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
दुबई उडानबाट वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने निगमको लक्ष्य
काठमाडौ, २० साउन । खाडी मुलुकको महत्वपूर्ण गन्तव्य मानिने दुबई उडान बन्द भएको चार वर्षपछि पुनःउडान सञ्चालन गर्न लागेको नेपाल एयरलाइन्सले वार्षिक एक अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । आगामी भदौ २ गतेदेखि नियमित काठमाडौँ–दुबई सिधा उडान गर्ने तयारी गरेको निगमले एक वर्षमा ४० हजार बढी यात्रुलाई सेवा दिएर उक्त रकम आम्दानी गर्ने लक्ष्य लिएको हो । विसं २०४१ माघदेखि काठमाडौं–दुबई उडान प्रारम्भ गरेको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानको कमीका कारण सन् २०१२ अगस्टबाट सेवा बन्द भएको थियो । काठमाडौं–दुबई उडानबारे जानकारी दिन यहाँ आज आयोजित पत्रकार सम्मेलनमा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले सम्भावना बोकेको दुबई गन्तव्यको नियमित उडानका लागि सबै तयारी पूरा भएको बताए । उनले अन्तर्राष्ट्रिय उडानको प्रतिस्पर्धी बजारमा नेपाल एयरलाइन्सलाई खरोरुपमा उतार्न सम्पूर्ण क्षमताकासाथ लागिपरेकोे उल्लेख गरे । निगमले अबको १२ देखि १८ महिनाभित्र दुई वटा वाइड बढी विमान किन्ने तयारी गरेको छ । हाल मुलुकमा २७ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमका प्रवक्ता रामहरि शर्माले नेपाल एयरलाइन्सले व्यावसायिक सफलता गर्ने क्रममा रहेको र विमान खरिदका लागि कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष तथा ठूला बैंकले बजेट दिन आतुर रहेको जानकारी दिए । उनले दुबईमा धेरै नेपाली श्रमिक कार्यरत रहेका र युरोप तथा अमेरिका जाने मुख्यद्वार पनि भएकाले उडान प्राथमिकतामा परेको बताए । निगमका अनुसार काठमाडौंबाट आइतबार, मङ्गलबार र बिहीबार तथा दुबईबाट सोमबार, बुधबार र शुक्रबार उडान हुनेछ । काठमाडौंबाट दुबई उडान अवधि चार घन्टा ४० मि र दुबईबाट काठमाडौं चार घन्टा १५ मिनेटको हुने निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दुबई उडान प्रारम्भ भएपछि अन्तर्राष्ट्रिय गन्तव्य आठ पुग्नेछन् । नेपाल एयरलाइन्सले हाल हङ्कङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्बई र दोहामा उडान भर्दै आएको छ । रासस
वाइवडि खरिद प्रस्ताव अर्थमा रोकियो, निगम भने व्यापारिक योजना बनाउँदै
काठमाडौं, २० साउन। नेपाल वायुसेवा निगमले लामो दूरीको अन्तर्राष्ट्रिय उडानका निम्ति वाइडवडि जहाज खरिद गर्नका लागि पठाएको प्रस्ताव अर्थ मन्त्रालयमा अड्किएको छ । करिब ४ महीना अघि नेपाल वायु सेवा निगमले अर्थ मन्त्रालयमा वाइडवडि जहाज खरिद गर्ने सहमतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाएको निगमका प्रवक्ता रामहरि शर्माले बताए । उनका अनुसार अर्थ मन्त्रालय अहिले जहाज खरिदका लागि ग्यारेन्टी वस्ने प्रक्रियामा छ । दुई ओटा वाइडवडि खरिदका लागि करीब २५ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान छ । यो रकम सरकारले व्यवस्था गरिदिने हो भने तीन वर्ष भित्रमै नेपाली आकासमा जहाज उडाउँन सकिने उनले बताए । निगमले आवश्यक रकम जोहो गरिदिन अर्थ मन्त्रालयमा प्रारम्भिक प्रस्ताव पठाएको हो । सरकारबाट सहमति आएमा आवश्यक पर्ने रकम कर्मचारी सञ्चयकोषसँग आग्रह गर्ने निगमको योजना छ । उता, अर्थ मन्त्रालयले भने निगमबाट आएको प्रस्तावमा कुनै ठोष आधार नभएको बताइएको छ । ठोस योजना नभइ सहमति दिन नसकिने अर्थको भनाइ छ । जहाज खरिदको लागि पठाएको फाइल (प्रस्ताव) अर्थमै अड्किए पनि निगम भने अबको ६ महीनाभित्र जहाज खरिद गर्नका लागि जहाज निर्माता कम्पनीसँग सम्झौता गर्ने भएको छ । जहाज खरिज गर्नको लागि निगमले अबको केही दिनमै व्यापारिक योजना तयार पार्ने र सञ्चालक समितिबाट स्वीकृत गराएर जहाज खरिदको प्रक्रिया अगाडि बढाउने गृहकार्यमा निगम जुटेको छ । ‘नयाँ जहाज खरिदको विषयमा बनिरहेको प्रतिवदेन अन्तिम चरणमा पुगेको वायुसेवा कर्पोरेट निर्देशक समेत रहेका शर्माले बताए । निगमले तयार पार्ने प्रतिवेदनमा जहाजको प्रकृति, जहाज खरिद गर्ने कम्पनी, आवश्यक लागत, जहाज आइपुग्ने समय, जहाज संचालन हुने गन्तव्य, नयाँ जहाजले गर्ने आम्दानी र खर्चसहितको पूर्ण विवरण सम्लग्न गरिने शर्माले जानकारी दिए । निगमको योजनालाई समयमै कार्यान्यन गर्न सकिएको अवस्थामा निगमले तत्काल दुई ओटा वाइडवडि जहाज पाउँने छ । पर्यटन मन्त्रालयले तयार पारेको दुई वर्ष रणनीतिक योजनामा पनि निगमको वाइवडि जहाज खरिदको लागि नै प्राथमिकता दिएको छ । यस्तो जहाज नेपालबाट सीधै अमेरिका र युरोपसम्म पुग्नसक्ने उल्लेख गरिएको छ । तीन वर्ष भित्र दुईओटा वाइवडि र अहिले नियमित उडानमा रहेको एयरवसको न्यारोवडि जस्तैे अर्को दुई जहाज ल्याउने गरि निगमले योजना निर्माण गर्दैछ । यो योजनालाई भरसरक एक साताभित्र अन्तिम रुपम दिने र निगम सञ्चालक समितिको बैठकबाट स्वीकृत गराएर सरकारलाई पठाउने शर्माले बताए । निगमले २०४६ साल अगाडि पनि वाइडवडि जहाज सञ्चालन गरिसकेकोले अहिले कुनै संकोच विना नै जहाज ल्याए मज्जाले नाफामा सञ्चालन गर्न सक्ने दाबी गरेको छ । उनका अनुसार अहिले नेपालमा विदेशी वायुसेवा मज्जाले नाफामा सञ्चालन भइरहेका छन् । ‘निगमले आफ्नो पुरानो गन्तवमा मात्रै पनि उडान गर्ने हो भने नाफा गर्न सक्छ,’ उनले भने ‘नयाँ गन्तव्यमा जाने हो भने पनि जहाज उडाएर नाफा गर्न सकिने आधार प्रशस्तै छन् । ’