पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल
काठमाडाैं । कोभिड–१९ महामारीका कारण नराम्ररी थलिएको मुलुकको पर्यटन उद्योगलाई पुनर्जीवन दिन नेपाल पर्यटन बोर्डले ‘टुरिज्म रिभाइभल टास्कफोर्स’ गठन गरी कार्य प्रारम्भ गरिएको जनाएको छ । सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताकाबिचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले पर्यटनको सभाइभल र रिभाइभल को योजना अगाडि ल्याएको हो । प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) लगायत पर्यटन क्षेत्रका प्रतिष्ठित सङ्घ संस्था एवं अग्रजपर्यटन व्यवसायी समेतलाई सल्लाहकारको रुपमा समेटीबोर्डका कार्यकारी प्रमुखको संरक्षकत्वमा कार्यदल बनाइएको बोर्डले जनाएको छ । महामारीका कारण थलिएको पर्यटन उद्योगलाई पुनर्जीवन दिन समग्र पर्यटन क्षेत्रका संस्था तथा अगुवा व्यवसायिलाई एउटै छातामुनि ल्याएर पुनःरुत्थानको कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यदल बनाइएको बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले जानकारी दिए । उहाँनका अनुसार पर्यटन पुनःरुत्थानका लागि बोर्डले केही अगुवा पर्यटकीय संस्थाको प्रतिनिधित्व रहने गरी अहिलेसम्म गरिआएको कामलाई जिम्मेवारी दायित्व बोध हुने गरी बृहत् कार्यदल बनाइएको हो । बोर्डले तीन महिना अघि कार्यदल बनाएको थियो । सीमित सङ्ख्याको प्रतिनिधित्व रहेको कार्यदललाई व्यापक बनाई आगामी दिनमा पर्यटन क्षेत्रले गर्नुपर्ने कामको अन्तिम निष्कर्ष निकाल्ने गरी कार्यदलले काम गर्ने कार्यकारी प्रमुख डा रेग्मीले बताए । कार्यदलले वर्तमान अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनि अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरी आफ्ना सुझाव दिनेछ । सोअनुसार सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पु¥याउने जनाइएको छ । उक्त कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढङ्गले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निरास हुँदै गएका व्यवसायी तथा मजदूरलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने मार्ग पहिल्याउन सहयोग गर्नेछ । यस कार्यका निम्ति सम्पूर्ण पर्यटन क्षेत्रका व्यवसायी तथा सरोकारवालालाई सक्रिय भई सहयोग गर्नसमेत बोर्डले हार्दिक अपिल गरेको छ । देशको विदेशी मुद्रा आर्जनको भरपर्दो स्रोत एवं रोजगारी सिर्जना तथा सिङ्गो मुलुकको अर्थतन्त्रको भविष्यको बलियो आधारको रुपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्र यो महामारीको सबैभन्दा ठूलो शिकार बन्न पुगेको बोर्डले उल्लेख गरेको छ । रासस
‘पर्यटनलाई लयमा फर्काउन पाँच वर्ष लाग्छ, पुनर्जीवन दिन खर्च कटौतीको विकल्पै छैन’
काठमाडौं । कोभिड-१९ महामारी नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र जारी निषेधाज्ञाका कारण धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार/पाँच वर्ष लाग्ने व्यवसायीले बताएका छन् । महामारीले नराम्ररी असर पुगेको पर्यटन क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन कोरोना भाइरसको सङ्क्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वातावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘सेजन अर्थ नीति बहसअन्तर्गत पर्यटनको सम्भावना’ विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए । उनले कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो सङ्ख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । “अब मास टुरिजमको एरा गयो”, पूर्वप्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने । पर्यटन क्षेत्रका लागि सन् २०२० सबैभन्दा बढी नकारात्मक भएको र त्यसबाट माथि उठ्नुको विकल्प नभएको उनको भनाइ छ । त्यसैगरी पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार/पाँच वर्ष लाग्ने बताए । “सन् २०२४/२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न । अब, १२ लाख पर्यटक भित्र्याउन कम्तीमा पाँच वर्ष लाग्छ”, उनले भने । पर्यटन क्षेत्रलाई जीवन्त राख्न सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आवश्यकता पर्नेमा संयोजक शाक्यले जोड दिए । कोरोनाका कारण अर्थतन्त्रमै ठूलो समस्या भएकाले सरकारलाई पनि राजश्व उठाउन समस्या भइरहेका बेला सरकारको मुख मात्रै ताक्नुभन्दा व्यवसायीले पनि आफ्नो क्षेत्रबाट प्रयास गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसका लागि कर्मचारीको तलब, बैंकको ऋण र घर भाडालगायत खर्च कटौती गर्न पाउनुपर्ने बताए । पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि उनले बताए । रासस
होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब लगानी सङ्कटमा, अध्यक्ष भन्छन्- घाटा परिपूर्ति गर्न निकै गाह्राे भयाे
चितवन । चितवन जिल्लास्थित होटल तथा रेष्टुरेन्ट क्षेत्रको ३० अर्ब रुपैयाँ भन्दा बढी लगानी सङ्कटमा परेको छ । पर्यटकीय र सर्वसाधारणलाई सेवा दिँदै आएका जिल्लाका साना ठूला होटल रेष्टुरेन्ट कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द छन् । देशकै तेस्रो पर्यटकीय क्षेत्र सौराहासहित जिल्लाका एक हजार २५० होटल रेष्टरेन्ट गएको चैतयता बन्द छन् । पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान गर्दै आएका विश्व सुवेदीका अनुसार जिल्लामा पर्यटकीय होटलको सङ्ख्या २२५ वटा छन् । ती होटलमध्ये सबैभन्दा बढी रत्ननगरको सौराहामा ११० वटा छन् । सौराहाबाहेक रत्ननगर क्षेत्रमा पर्यटकीय होटल सङ्ख्या २९ वटा छन् । उहाँका अनुसार भरतपुर महानगरमा ६५ वटा, कालिकामा दुई वटा , खैरहनीमा तीन वटा, माडीमा तीन वटा, राप्ती नगरपालिकामा-३ वटा र ईच्छाकामना गाउँपालिकामा ११ वटा पर्यटकीय होटल रहेका छन् । ती होटलमा पर्यटकीय मौसममा दैनिक एक करोड ५० लाख रुपैयाँ बढी कारोबार हुने उनको भनाइ छ । अन्यमा त्यतिनै व्यापार हुने सुवेदीले बताए । यसका अतिरिक्त पर्यटकीय गतिविधि जीप सफारी, डुङ्गा सफारी, हात्ती सफारी, बसलगायतमा ३० लाख रुपैयाँ हाराहारी दैनिक कारोबार हुने व्यवसायी बताउँछन् । सुवेदीले जिल्लामा होटल रेष्टुरेन्टमा १६ हजार मजदूर कार्यरत रहेको अध्ययनले देखाएको जानकारी दिए । ती होटल रेष्टुरेन्टमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी छ । जसमध्ये ४० प्रतिशत भन्दा बढी बैंकिङ् ऋण रहेको सवेदीले बताए । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले यहाँ चैतदेखि असार १५ सम्म पर्यटकीय मौसम मानिन्छ । त्यसपछि भदौ १५ सम्मलाई पर्यटकीय मौसम मानिदैन । त्यतिबेला पनि आधा व्यापार हुने भट्टराईको भनाइ छ । भदौ १५ पछिको यो समय पर्यटकीय मौसम हो । उनले भने “यो मौसम पनि त्यत्तिकै जाने भो ।” गत वर्षमा यतिबेला सौराहामा पर्यटक राम्रो चहलपहल हुने गर्दथ्यो । अहिले होटल चौकिदारले कुरेर मात्रै बसेका छन् । भट्टराईले गुनासो गरे, “दशैंको समयमा स्वदेशी पर्यटक आउँछन् भन्ने आश थियो । त्यो पनि हरायो ।” क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेले बिचमा केही समय होटल खोल्दा झनै नोक्सान भएको बताए । वातावरण पूर्ण सहज नभएसम्म होटल खोल्न नहुने भन्दै उनले अहिलेको घाटा परिपूर्ति गर्न निकै कठिन भएको गुनासो गरे । उनले भने, “बैंकहरुले ऋण थप गरिदिए भने होटलको तिर्नुपर्ने चालु खर्च तिरेर स्तरोन्नति गर्ने तयारीमा छु ।” सबै होटल सञ्चालकको अवस्था घिमिरेको जस्तै रहेको छ । व्यवसायीको व्यवसाय मात्रै होइन, मजदूरको आवस्था पनि दयनीय बन्दै गएको छ । सबै बेरोजगार भएका छन् । उनीहरु दैनिकी कष्टकर बन्दै गएको छ । ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाले मजदूरको अवस्था निकै दयनीय भएको बताए । होटल रेष्टुरेन्टमा काम गर्ने मजदूरले तलब पाउन नसक्दा दैनिकी चलाउन नै मुस्किल परेको सापकोटाको भनाइ छ । जिल्लामा आन्तरिक र बाह्य पर्यटक कति आउँछन् वास्तविक तथ्याङ्क छैन । चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने वार्षिक दुई लाख हाराहारी छन् । निकुञ्ज नघुम्ने तर जिल्लामा आउने कूल सङ्ख्या पाँच लाखमाथि हुने गरेको व्यवसायी बताउँछन् । रासस