क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको सिमाङ्कन अन्तिम चरणमा

काठमाडौं । कैलालीको धनगढीस्थित गेटा विमानस्थल विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक जग्गा अधिग्रहणका लागि सिमाङ्कन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणका लागि सिमाङ्कनको कार्य चाँडो सक्न निर्देशन दिएका थिए । अहिले उक्त कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित नेपाल नागरिक उड्डयनको कार्यालयले जनाएको छ । जग्गा अधिग्रहणका लागि गरिएको सिमाङ्कन तथा चार किल्लाको निरीक्षणका लागि काठमाडौंबाट त्यसतर्फ प्राविधिक टोली जाने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पुगेको गेटा विमानस्थलस्थित उड्डयन कार्यालयका प्रमुख रामकृष्ण भट्टले बताए । उनले भने, ‘हामीले जग्गा अधिग्रहणको चार किल्लाको सिमाङ्कन कार्य अन्तिम चरणमा पु¥याएका छौँ, आज प्राविधिक टोली आएर हेर्नेछन् ।’ गेटा विमानस्थलको विस्तार तथा क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि गएको पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको थियो । विमानस्थलका अनुसार पूर्वतर्फ खुटिया सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७०० मिटर, पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट १०० मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुङ्गो लागेको जनाइएको छ । जग्गा अधिग्रहण हुने क्षेत्रमा अहिले माटो खन्नेदेखि जग्गाको स्वरुप बिगार्ने काम भएको गुनासो आएपछि गेटा नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्नसमेत सम्बन्धित जग्गाधनीलाई आग्रह गरेको छ । रासस

आजदेखि बुद्धको बनारस उडान सुरु

काठमाडौं । निजी क्षेत्रकोे लगानीमा सञ्चालित बुद्ध एयरले आजदेखि काठमाडौं–बनारस सिधा उडान सुचारु गरेको छ । कोरोना महामारीका कारण २०७६ फागुन ३० गतेदेखि बन्द गरेको बनारस उडान आजबाट पुनः सुचारु भएको हो । सोमबार र शुक्रबार गरी सातामा दुई दिन उडान गर्ने बुद्धले जनाएको छ । सुरुवाती चरणमा सातामा दुईृ उडान गर्ने तयारी गरेको बुद्धले उडान सुरू भएको केही समयपछि बुधबार समेत उडान गर्ने जनाएको छ । ५० मिनेटको काठमाडौं–बनारस बिहान ७ः१५ र बनारस–काठमाडौं भारतीय समय ८ः३० मा उड्ने कम्पनीले जानकारी दिएको छ । बुद्धले २०७५ को असारदेखि बनारस उडान गर्दै आएको थियो । बुद्धले उक्त गन्तव्यमा एटीआर–७२ विमानबाट उडान गर्नेछ । ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक सयभन्दा बढी उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट समेत गरिरहेको छ ।

हिमालय एयरलाइन्सकी एयरहोस्टेस डंगोलले गरिन सगरमाथा आरोहण

काठमाडौं । हिमालय एयरलाइन्समा कार्यरत एयरहोस्टेस (विमान परिचालिका) ले सगरमाथा आरोहण गरेकी छिन् । हिमालयमा कार्यरत एयरहोस्टेस ॐनिका डंगोलले जेठ २ गते बिहान साढे ७ बजे सगरमाथाको सफल आरोहण गरेकी हुन् । थामसेर्कु ट्रेक्स एण्ड एक्सपिडिसनबाट उनले आरोहण गरेको एयरलाइन्सले जनाएकोे छ । कम्पनीले आरोहण सम्पन्न गरेर काठमाडौं फर्किएको डंगोललाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । हिमालयले आफ्नो ऐतिहासिक परियोजना ‘हिमालय एअरलाइन्स् एभरेष्ट एक्सपिडिसन बाई फ्लाइट अटेन्डेन्ट’ नेपालमा पर्यटन प्रवद्घर््न गर्ने उद्देश्यले सुरु गरेको थियो । कम्पनीको उक्त योजनालाई साथ दिदै डंगोलले आरोहण गरेकी हुन । उनले यसअघि मेरा, आइल्यान्ड र लोबुचे गरी तीनवटा चुचुरो आरोहण गरिसकेकी थिईन ।