अब हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

फाइल फोटो काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इञ्जीनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए । पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । रासस

तारा एयर दुर्घटनामा परेका सबैको शव फेला

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ । विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौं पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए । कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार २०० मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिएका थिए ।

तारा एयर दुर्घटना : छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा एयरको विमान दुर्घटनाको छानबिन गर्न दुर्घटना जाँच आयोग गठन गरेको छ । मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष रहेको पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । आयोगको सदस्यहरूमा क्याप्टेन दीपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आइतबार कास्कीको पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको कलसाइन नाइन एन एइटी ट्विनअटर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा पर्ने सानोसुरेमा १४ हजार ५०० फिटको उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जना सवार थिए ।