चितवनमा एक अर्ब लगानीमा खुल्यो ‘सोल्टी वेस्टइन्ड रिसोर्ट’, सोल्टी समूहले व्यवस्थापन गर्ने
चितवन । सोल्टी समूहको चौथो होटल चितवनको पटिहानीमा सञ्चालनमा आएको छ । रिभर साइड रोयल गार्डेन रिसोर्ट प्रालिले निर्माण गरेको होटल सोल्ट्री समूहको व्यवस्थापनमा आजबाट औपचारिकरूपमा सञ्चालनमा आउने भएको हो । सोल्टी वेस्टइन्ड रिसोर्ट पटिहानीका नाममा सञ्चालन हुन लागेको हो । भरतपुर महानगरपालिका–२२ स्थित चितवन राष्ट्रिय निकुञ्ज नजिक राप्ती नदी तटीय क्षेत्रमा होटल रहेको छ । सोल्टी होटल समूहका उपाध्यक्ष सुदर्शन चापागाईँले सोल्टीको व्यवस्थापनमा चौथो होटल औपचारिक शुभारम्भ गर्न लागेको जानकारी दिए । सोल्टीको पहिलो द सोल्टी काठमाडौं, दोस्रो सोल्टी वेस्ट इण्ड प्रिमियर नेपालगञ्ज, तेस्रो सोल्टी वेस्ट इण्ड इटहरी सञ्चालनमा छन् । उनका अनुसार ५६ वर्षदेखि हस्पिटालिटी क्षेत्रमा प्राप्त अनुभवलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्ने योजनाका साथ व्यवस्थापन विस्तारको काम थालिएको बताए । नेपालका अन्य पर्यटकीयस्थलमा पनि सोल्टीले आफ्नो लगानी एवं व्यवस्थापन गर्ने योजना बनाएको उहाँले जानकारी दिए । पाँचतारे सुविधा दिने यो रिसोर्ट नेपालका व्यवसायीको एक अर्ब लगानीमा निर्माण गरिएको हो । रिसोर्ट सञ्चालन समितिका अध्यक्ष कल्याण जोशीका अनुसार होटलको व्यवस्थापन सोल्टीले गर्ने भएको हो । रिसोर्टमा १० अत्याधुनिक भिल्ला छन् । यीबाहेक दुई सुपरियर भिल्ला र ४० डिलक्स कोठा छन् । पाँच सय जना अट्ने एउटा, एक सय ५० जना अट्ने दुई, ७५ जना अट्ने तीन र २५ जना अट्ने दुई हलसमेत छन् । रेष्टुरेन्टमा एकपटकमा तीन सय जनाले बसेर खान सक्ने सुविधा छ । छुट्टै दुई सय ५० जना अट्ने सुविधासम्पन्न बार पनि छ । यससँगै हेल्थ क्लब रहने छ । बगैँचा र पौडी पोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा जमिनमा निर्मित रिसोर्ट नजिकै विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने छ । यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउने गर्न सकिने उनको भनाइ छ । यससँगै पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउने उनले बताए । शुभारम्भका अवसरमा कोठामा २० प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुटसमेत रहेको छ । रासस
२ करोडमा हेलम्बु हुँदै लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण
चौतारा । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बु हुँदै रसुवाको लाङ्टाङ र गोसाइँकुण्ड जोड्ने पदमार्ग निर्माण भएको छ । विभिन्न पर्यटकीय तथा धार्मिकस्थल हुँदै पुग्न सकिने गरी पुराना र नयाँ पदमार्ग निर्माण गरिएका हुन् । पुराना पदमार्गलाई मर्मतसम्भार गरिएको छ । नयाँ ट्रयाक खोल्ने कामपनि सँगसँगै गरिएको छ । पर्यटन प्रवद्र्धनका लागि पदमार्ग निर्माणलाई गति दिइएको छ । पर्यटन विभागले स्थानीय तहको समन्वयमा दुई करोड लागतमा हेलम्बु, सिमीसिदाङ हुँदै लाङ्टाङ पुगिने ३० किलोमिटर पदमार्ग र गाञ्जालापास हुँदै रसुवाको लाङ्टाङ पुगिने ४० किलोमिटर बाटो निर्माण गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । लाङ्टाङ जोड्ने यी दुई पदमार्ग मात्रै हुन् । हेलम्बुको कुटुङ्साङ, ठाडेपानी, गोसाइँकुण्ड, रसुवाको स्याफ्रुबेँसी जोड्ने पदमार्ग निर्माणाधीन अवस्थामा भए पनि चलिरहेको छ । शेर्पाले भने, ‘हेलम्बु हुँदै लाङ्टाङ अनि पवित्रस्थल गोसाइँकुण्ड पुग्ने पदयात्रीलाई सुरक्षाका लागि पनि पदमार्ग निर्माण गरिएको हो ।’ उनले सिन्धुपाल्चोक र रसुवाको पर्यटन प्रवद्र्धनका लागि हेलम्बु सेतु बन्ने विश्वास व्यक्त गरे । ह्योल्मोभूमि र धार्मिकस्थलका रूपमा चर्चित हेलम्बु कलात्मक मौलिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पदमार्ग निर्माण गरिएको हो । योजनाअनुसार हेलम्बुलाई पदमार्गले घेर्ने लक्ष्य छ । पहिले चलनचल्तीमा रहेका पदमार्ग भूकम्पले क्षति पु¥याएको थियो । भत्किएका पदमार्ग हुँदै गन्तव्यसम्म पुग्नका लागि पर्यटकले कष्टकर यात्रा गर्नुपर्ने भएकाले क्षतिग्रस्त भएकालाई पनि मर्मत गरिएको हो । झण्डै एक सय किलोमिटर दूरीमा रहेको काठमाडौंको सुन्दरीजल हुँदै नुवाकोट र सिन्धुपाल्चोकको सीमा गाउँ कुटुङ्साङबाट ठाडेपानी, मेलम्चीघ्याङ, नाकोते, तार्केघ्याङ, घ्याङगुल, शेर्माथान, ककनीसम्म जोड्ने पुरानो पदमार्ग अहिले चलिरहेको स्थानीय गोपाल लामा बताउँछन् । ‘पुराना पदमार्ग मेटिन लागिसकेको थियो, अहिले हेलम्बु गाउँपालिकाको समन्वयमा पदमार्ग निर्माणले तीव्रता पाएपछि पर्यटक आउने क्रम बढेको छ’, उनले भने । प्राचीन गुम्बैगुम्बाको सहर शेर्माथान, ह्योल्मो बस्ती हेर्न पाइने मेलम्चीघ्याङ, घ्याङ्गुल, झिचेन मिलेरेपा गुफा, ढुकु, महागुरू रेन्पोछे छापसम्म पदमार्ग बनाउँदै लगिएको छ । रासस
कोरोना कम भएपछि होटल बाराहीको बिजनेसमा छलाङ, एक वर्षमा ५२९ प्रतिशतले बढ्यो आम्दानी
काठमाडौं । पोखरामा रहेको होटल बाराहीले एक वर्षमा पौन ११ करोड रुपैयाँ आम्दानी गरेको छ । होटलले सन् २०२२ मा १० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा यस होटलले १ करोड ७० लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको समयमा होटलको आम्दानी कम भए पनि विस्तारै कोरोना कम भएपछि होटलको बिजनेस पनि बढ्दै गएको देखिन्छ । अघिल्लो वर्षको तुलनामा यस होटलको आम्दानी ५२९ प्रतिशतले बढेको देखिएको छ । बाराही ग्रुपद्वारा सञ्चिालित बाराही होटलका अध्यक्ष हरि प्रसाद पौडेल हुन् । चार तारे यो होटल पोखराको लेकसाइड नजिकै सञ्चालनमा छ । होटलमा ८० वटा कोठा छन् । बाराही ग्रुपले पोखरामा बाराही होटलसँगै चितवनको बाराही जंगल लज सञ्चालन गरिरहेको छ भने साराङ्कोटमा साराङ्कोट माउण्टेन लज पनि सञ्चालन गरिरहेको छ । सन् १९९२ मा खुलेको यो होटल लेकसाइडको सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको होटल पनि हो । यस होटलले ९४ करोड रुपैयाँ ऋण सुविधा लिनका लागि इक्रा नेपालबाट रेटिङ पनि गराएको छ । कम्पनीले बि प्लस रेटिङ पाएको छ ।