नेपालकाे हवाई सुरक्षा दर ७०.०१ प्रतिशत, एशियामै उच्च भएको दावी

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को अडिटबाट नेपालले हवाई सुरक्षा परिपालन दर ७०.०१ नतिजा हासिल गरेको छ । बुधबार प्राधिकरणले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गत अप्रिल १२ देखि २५ सम्म आइकाओको टोलीले नेपालको उड्डयन क्षेत्रको स्थलगत सुरक्षा अडिटमा हवाई सुरक्षा परिपालन दर ७०.०१ प्रतिशत उड्डयन सुरक्षा कायम रहेको देखाएको बताएको हो । प्राधिकरणले आइकाओ १० सदस्यले टोलीले नेपालको आठ क्षेत्रमा गरेको अडिट गरेको थियो । पत्रकार सम्मेलनमा प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले एशिया प्रशान्त क्षेत्र र विश्वको हवाई सुरक्षा परिपालनदर नेपालको उच्च रहेको बताए । उनले नेपालले आइकाओले नेपालले हवाई सुरक्षाको लागि परिपालना गर्नुपर्ने कार्यमा उच्च रुपमा सुधार भएको देखाएको बताए । ‘आइकाओको प्रतिवेदनले औंल्याएका कमी कमजोरी निर्मुल गर्न प्राधिकरणले गृहकार्य शुरु गरेको छ, प्राधिकरणले नेपालको हवाई सेवा विस्तारको लागि थप योजना पनि अघि सारेको छ,आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशतले कायम गर्ने उद्देश्यले काम गरिरहेका छाैं,’ उनले भने । उनले आइकाओको अडिटपछि प्राधिकरणले कर्मचारी सरुवा नगर्ने निर्णय गरेको पनि जानकारी दिए । ‘प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलगै बजेटको व्यवस्था पनि गर्न शुरु गरेको छ, आइकाओको अडिटमा कुनै कमजोरी नदेखिएकाले हवाई उडानमा नेपाली आकाश सुरक्षित रहेको छ,’ उनले भने । त्यस्तै, प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले आइकाओको अडिटले देखाएको सुरक्षा मापन दर एशिया प्रशान्तीय क्षेत्रमा नै नेपालको उच्च रहेको बताए । उनले एशिया प्रसान्तीय क्षेत्रको उड्डयन सुरक्षा दर ६४ प्रतिशत रहेको दाबी गरे । अधिकारीले नेपालले हवाई सुरक्षामा राम्रो काम गरिरहेको भन्दै अब पहाडमा हुने हवाई दुर्घटनालाई देखाएर आइकाओले कालोसूचीमा राख्न नहुने बताए नेपालमा अहिले ९ वटा फिक्सविङ र ११ वटा हेलिकोप्टर कम्पनीका सय वटा विमान सञ्चालनमा छन् । उडान सुरक्षा मापन गर्न सेफ्टी पर्फर्मेन्स इन्डिकेटरको प्रयोग शुरु गरिएको प्राधिकरणले बताएको छ । फिक्सविङ र रोटर विङ जहाज उडान सुरक्षा निरीक्षणका लागि प्राधिकरणले सम्वद्ध जहाज उत्पादक कम्पनीका प्रतिनिधि र विज्ञ परिचालन गर्दै आएको प्राधिकरणले बताएको छ ।

बिजनेसविहिन बन्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, जिम्मेवार निकाय नै दोषारोपणमा

काठमाडौं । गत जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरे । सोही दिन बिहान अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित जजिरा एयरवेजले विमानस्थलमा उडान पनि गर्यो । गत सेप्टेम्बर १६ देखि दैनिक उडान गर्दै आएको जजिराले असोज अक्टुबर १० गतेबाट भने आफ्नो उडानमा कटौती गरेको छ । अब जजिराले हप्तामा ३ दिन मात्रै उडान गर्ने जनाएको छ । यात्रु संख्यामा कमी भएपछि उडान कटौती गर्नुपरेको जजिरा एयरवेजका कन्ट्री म्यानेजर अमित नागरथले बताएका छन् । सो विमानस्थल बनेपछि गौतमबुद्धको जन्मभूमिमा आउने अन्तर्राष्ट्रिय पर्यटक बढ्ने अपेक्षा गरिएपनि अहिलेसम्म त्यसो हुन सकेको छैन । विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार अहिले विमानस्थलमा औसतमा २० ओटा आन्तरिक उडान हुने गरेको छ भने जजिरा एयरवेज बाहेक अन्यले उडान गरेका छैनन् । उनका अनुसार बुडापेस्ट हंगेरीमा प्रधान कार्यालय रहेको विज एयरले गौतमबुद्ध विमानस्थलमा उडान गर्नको लागि अनुमति मागेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम मन्त्रालय र नेपाल आयल निगमका कारण अन्तर्राष्ट्रिय जहाजहरुको नियमित सञ्चालनमा कठिनाई भएको बताएका छन् । विमानस्थलमा अलजजिराले गरिरहेको नियमित उडान कटौती गरेको विषयमा जिज्ञासा राख्दा महानिर्देशक अधिकारीले सो कुरा बताएका हुन् । ‘विमानस्थल निर्माण गर्ने र सञ्चालन गर्ने निकाय भनेको नेपाल नागरिक उड्डयन प्राधिकरण हो’, उनले भने, ‘श्रम स्वीकृति दिने काम काठमाडौंमा नै नआई नहुने व्यवस्था छ ।’ सबै क्षेत्र मिलेर मात्रै विमानस्थलको सफलतापूर्वक सञ्चालन हुनसक्नेमा त्यसो नभएको महानिर्देशक अधिकारीले बताए । ‘एउटा सामान्य श्रम कार्यालयको अफिस भैरहवामा नखोलेको विषयमा मेरो गुनासो छ’ महानिर्देशक अधिकारीले भने -‘भैरहवामा श्रम कार्यालय खोल्नुपर्छ भनेर मैले भन्ने कुरा हो ?’ गौतमबुद्ध विमानस्थल बनायो चलेन भनेर उठेको प्रसंगप्रति महानिर्देशक अधिकारीले असहमति जनाउँदै भने ‘गौतमबुद्ध विमानस्थल बनायो चलेन, बनाउनु गल्ती हो कि  श्रम कार्यालय नखोल्नु गल्ती ?’ श्रम कार्यालय खोल्ने र आयल निगमले इन्धनको मूल्य समायोजन गरेपछि विमानस्थल राम्रोसँग सञ्चालन हुने अधिकारीको जिकिर छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिेरे मन्त्रालयले लुम्बिनी प्रदेशमा श्रम कार्यालय सञ्चालन नगरेको विषय स्वीकारर्छन् । तर अहिले अनलाइन प्रणाली भएकाले श्रम स्वीकृतिको काम अनलाइनमार्फत् नै गर्न सकिने उनले बताए । वैदेशिक रोजगारमा जाने नेपालीहरु काठमाडौं आउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘पहिलाको शिक्षा कार्यालय बसेको कार्यालयलाई मर्मत सम्भार गरेर हामीले श्रम कार्यालय राखेका छौं, त्यहाँ वैदेशिक रोजगारीमा जानेहरुको श्रम स्वीकृति दिने अड्डाको रुपमा अधिकार प्रत्यायोजन गरेर खोलिएको छ’, उनले भने । पहिलो पटक वा दोस्रो पटकको श्रम स्वीकृति लिन काठमाडौं आउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । मेडिकल चेकअप गर्ने संस्थाहरु र मेनपावरहरुलाई उनीहरुको संस्थामार्फत प्रदेश स्तरमा जानको लागि मन्त्रालयले पत्रमार्फत निर्देशन गरेको प्रवक्ता घिमिरेले बताए । तर, अहिलेसम्म भने शाखाको अनुमति लिएका अधिकांश म्यानपावरहरु प्रादेशिक स्तरमा गएका छैनन् । त्यस्तै प्रदेशस्तरमा मान्यताप्राप्त मेडिकल चेकअप स्थापना गर्ने कुरामा पनि मन्त्रालयले चासो दिएको छैन। तर, प्रवक्ता घिमिरेले श्रम सम्बन्धी नयाँ ऐनको प्रक्रिया अगाडि बढेकोले त्यसले धेरै विषयलाई सम्बोधन गर्ने बताए । उनले श्रम मन्त्रालयको कारणले गौतम बुद्ध विमानस्थलको सञ्चालनमा समस्या भएको भन्ने भनाइमा आफ्नो असहमति रहेको जिकिर गरे । एउटा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण गरिसकेपछि त्यसको अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरमा प्रचारप्रसारको काममा नागरिक उड्डयन प्राधिकरणले उच्चस्तरको पहल नगरेको विषय पनि केही पक्षले उठाएका छन् । बुद्धको जन्मभूमिमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माण भएको विषयमा अन्तर्राष्ट्रिय जगतमा प्रचार प्रसारमा कमी भएको देखिएको छ । तर, महानिर्देशक अधिकारीले भने श्रम कार्यालय राख्नेले नराख्ने र पर्यटन बोर्डले पर्यटन क्षेत्रको प्रचारप्रसार नगर्ने हो भने विमानस्थलको प्रचारप्रसार गरेर मात्रै विमानस्थल नचल्ने बताएका छन् । विमानस्थलले सो विमानस्थलबाट उडान भर्ने जहाजलाई ल्यान्डिङ पार्किङमा एक वर्षसम्मको लागि छुटको व्यवस्था पनि गरेको छ । सो विमानस्थललाई सफलतापूर्वक सञ्चालन गर्न सबै जिम्मेवार निकायले आ–आफ्नो जिम्मेवारी पूरा गरेमा मात्रै सम्भव हुने विषय दोहोर्याउँदै उनी भन्छन्, ‘राज्यले तोकेअनुसार सबैले काम गरेमा विमानस्थल राम्रोसँग सञ्चालन हुन्छ’, उनले भने, ‘प्राधिकरणले एयरपोर्ट बनायो, श्रम मन्त्रालयले कार्यालय खोल्दिने, नेपाल आयल निगमले तेलको उचित मूल्य कायम गर्ने र पर्यटन बोर्डले प्रवद्र्धनको काम गरे पुग्छ ।’ नेपाल पयर्टन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनन्जय रेग्मीले आफूहरुले आफ्नो तर्फबाट प्रवद्र्धनको क्षेत्रमा गर्नुपर्ने काम गरेको तर विमानस्थललाई सही ढंगले सञ्चालन गर्ने विषयमा क्यानको भूमिका नै सकारात्मक नरहेको बताएका छन् । रेग्मीले भियतनामले उडान गर्नको लागि इच्छुक भएकोमा क्यान सकारात्मक नरहेको बताए । ‘क्यानले आइकाओसँग अनुमति नलिने, आज भियतनाम नेपाल आउन तयार छ, कोरियाले प्लेन चलाउन माग गरिरहेको छ, तर क्यानबाट एउटा चिठी समेत गएको छैन’, उनले भने, ‘क्यानले कुनै इनिसियसन नलिने, एयरपोर्ट बनाउन र ठेक्कापट्टाभन्दा माथि रुची नभएकोले नेपाली एयरपोर्टहरु नचलेका हुन् ।’ अदूरदर्शी ठेक्कापट्टामा रमाउने मान्छेहरुले धमाधम एयरपोर्ट बनाउने तर त्यसको पहिला कुनै अग्रिम योजना नबनाउने गर्दा सो अवस्था आएको रेग्मीले प्राधिकरणलाई आरोप लगाए । गौतमबुद्ध एयरपोर्ट सञ्चालनको लागि नेपाली एयरलाइन्स बौद्धमार्गी मुलुकहरुमा पहिला किन नचलाएको भन्ने प्रश्न सीईओ रेग्मीको छ । पर्यटन बोर्डले लुम्बिनीको लागि बौद्धमार्गी देशहरुमा प्रवद्र्धन गर्ने तर अरबियन मुलुकहरुमा जहाज उडाएर पर्यटक नआउने उनले बताए । ‘बोर्डले पर्यटन प्रवद्र्धन बौद्धमार्गी देशहरुमा गएर गर्ने हो, कतारबाट जजिरा एयरलाइन्स चलाएर बुद्धिष्ट पर्यटक आउँछन’, उनले प्रश्न गरे, ‘के लुम्बिनी मक्कामदिना हो र ?’ लुम्बिनी एयरपोर्ट बनाएको गौतम बुद्धको जन्मभूमी हो बौद्धमार्गी पर्यटकहरु आउँछन भनेर बनाएको हो, त्यो अनुसार सम्बन्धित निकायले भूमिका नखेलेको सिइओ रेग्मीले बताए । ‘नेपाल पर्यटन बोर्डले आफुले गर्ने प्रचारप्रसारको काम राम्रोसँग गरेको छ, तर एयरलाइन्स बनाउने र सञ्चालन गर्ने निकाय चाहिँ सिरियस छैनन्, ठेक्कापट्टामा रमाएका छन्, कारण यही हो’, उनले भने । नेपाल आयल निगमले इन्धनको मूल्य अन्तर्राष्ट्रिय स्टान्डर्डअनुसार नलिएको कारणले पनि समस्या देखिएको महानिर्देशक अधिकारीको भनाइ छ । ‘नेपाल आयल निगमले इन्धनको मूल्य संसारकै सबैभन्दा महंगो लिएको छ’, उनले भने, ‘१ लिटर तेलमा ७०/७५ रुपैयाँ नाफा खाएर बेच्ने यो अन्याय नै भएको छ वास्तवमा भन्ने हो भने ।’ अधिकारीका अनुसार विमानस्थलको निर्माण अन्तर्राष्ट्रिय मापदण्डअनुसारको भएकै कारणले अलजजिराले उडान भरेको र यात्रु अभावको कारणले मात्रै उसले आफ्नो उडान कटौती गरेको हो । सो विमानस्थलमा यात्रु वृद्धि गर्नको लागि श्रम स्वीकृति कार्यालय खोल्नुपर्ने, मेडिकल सर्टिफिकेट दिने व्यवस्था हुनुपर्ने र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय स्तरको मूल्य कायम गर्नुपर्ने महानिर्देशक अधिकारीले बताए । सम्बन्धित समाचार : यात्रु नभएको भन्दै जजिराले रोक्यो दैनिक उडान, भन्यो : खर्च पनि नउठ्ने ठाउँमा विमान चलाउँदैनौं

बाह्रसिङ्गा हेर्न शुक्लाफाँटा घुम्न जाऔँ

दोधारा चाँदनी । सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान फाँट छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । यहाँ घुम्न आउने पर्यटकलाई फाँटमा बाह्रसिङ्गाले स्वागत गर्छन् । बाह्रसिङ्गाको टाउकामा सिङका छ–छ वटा हाँगा हुन्छन् । आखै अगाडि देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ । बाह्रसिङ्गाको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ । स्थानीय पर्यटन व्यवसायी परमानन्द भण्डारीले शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडा र चराचुरुरङ्गीका लागि प्रख्यात ठाउँ भएको बताए । उनले यहाँको घाँसे मैदानमा देखिने विभिन्न जीवजन्तु पर्यटकको रोजाइँमा पर्ने गरेको बताए । ‘पर्यटनका लागि शुक्लाफाँटा सम्भावनाको खानी नै हो यसको प्रचारप्रसार हुनसकेको छैन’, उनले भने, ‘बिभिन्न प्रजातिका लोपोन्मुख चरा र बाघ र गैँडा पनि यहाँ देख्न सकिन्छ ।’ कञ्चनपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष जङ्गबहादुर मल्लले बाह्रसिङ्गाको बथान हेर्नकै लागि पर्यटक शुक्लाफाँटा पुग्ने गरेको बताउँछन् । ‘शुक्लाफाँटाको घाँसे मैदानमा देखिने बाह्रसिङ्गाको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ’, उनले भने,’यसको प्रचारप्रसार हुनसके यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुन्छ ।’ शुक्लफाँटाको सुन्दरताबारे राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरे मात्रै यहाँको पर्यटन व्यवसाय फस्टाउने उनले भनाइ छ । यहाँको भीमदत्त नगरपालिकाले बाह्रसिङ्गाको प्रचारप्रसार गर्न बाह्रसिङगको नगर भनेर घोषणा समेत गरेको छ । बाह्रसिङ्गाको बथान देखिने फाँटमा राजा महेन्द्रले २०२४ सालमा सिकार खेलेको थिए भने एक रात बास समेत बसेका थिए । शुक्लाफाँटामा रहेको घाँसे मैदान विश्वको सबै भन्दा ठूलो मैदान रहेको मानिन्छ । घाँसे मैदानमा बाह्रसिङ्गाको बथान चरिरहेका हुन्छन्, घाँसे मैदानमा मयुर नाचेको दृष्यले त पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटाको पूर्वीतर्फ बग्ने चौधर खोला, बर्कौला र घाासे फाँटमा पाटेबाघ देखिने महत्वपुर्ण ठाउँ हुन । होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशप्रसाद भट्टले यहाँ पर्यटनको ठूलो सम्भावना रहे पनि प्रचारप्रसारको अभावले पर्यटक यहाँ आउन नसकेको बताए । ‘समृद्धिको प्रमुख आधार भनेकै पर्यटन हो यसको प्रचारप्रसारमा सबैले लाग्नुपर्छ’,उनले भने, ‘शुक्लाफाँटामा रहेका तालतलैया र यहाँ देखिने जीवजन्तुले यहाँ आउने पर्यटकको मनै लोभ्याउने गरेको छ । शुक्लाफाँटा घुम्ने मुख्य सिजन फागुनदेखि असासम्म हो । वसन्त ऋतुमा त शुक्लाफाँटामा फुल्ने रङ्गीविरङ्गी फुलले आगन्तुकलाई स्वर्गको आभास दिलाउछ ।’ निकुञ्जभित्र ठुलो घाँसे मैदान संगै ठाउ–ठाउमा अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ । निकुञ्जको पूर्वी सेक्टरमा रहेको हीरापुर फाँटमा कृष्णसार संरक्षण गरिएको छ । फाँटमा पर्यटकका लागि काठका चार वटा मचान बनाइएका छन । पर्यटकका लागि मचानबाट शुक्लाफाँटाको दृश्यावलोकन गराउने व्यवस्था गरिएको छ । शुक्लाफाँटाभित्र रहेको रानी ताल र अन्य स–साना तालमा प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्न पाइन्छ । निकुञ्जको महाकाली नदी छेउ पिपरियामा हात्तीसार बाट हात्ती चढ्ने व्यवस्था छ । आगन्तुकको समय अनुसार हात्तीमा जङ्गल सफारीको समेत सुविधा छ । पछिल्लो समय शुक्लाफाँटा आउने पर्यटक पनि बढ्न थालेका छन् । राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०७५ सालमा दुई सय ६६ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । बि।स। २०७८ मा यहाँ आउने पर्यटकको सङ्ख्या बढेको छ । एक हजार ६ सय ५१ जना विदेशीले निकुञ्जको भ्रमण गरेका छन् भने एक हजार २० जना सार्क मुलुकमा नागरिकले शुक्लाफाँटा भ्रमण गरेका छन् । त्यसैगरी २६ हजार तीन सय ८२ जना नेपालीले शुक्लाफाँट भ्रमण गरेका छन् । शुक्लाफाँट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख किशोरकुमार मेहताले पर्यटकका लागि शुक्लाफाँटा आकर्षक गन्तव्य रहेको बताए । ‘पर्यटकको सहजताका लागि निकुञ्ज कार्यालयले बाटो मर्मत मचान निमार्ण र सरसफाइ जस्ता कार्यक्रम गरिरहेको छ’, उनले भने, ‘यहाँको फाँटमा देखिने बाह्रसिङ्गाको बथाननै पर्यटकको मुख्य आकर्षण हो ।’ उनले शुक्लाफाँटाको प्रचारप्रसारका लागि विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको बताए । शुक्लाफाँटा छेउमै रहेको रानाथारु समुदायले पनि सुविधा सम्पन्न होमस्टे सञ्चालनमा ल्याएका छन । होमस्टेमा आउने आगन्तुकका लागि परम्परागत पहिरनमा राना थारु नृत्य र खानाका परिकारले स्वागत गर्ने गरेका छन । यो बाहेक महेन्द्रनगर सदरमुकाममा एक दर्जन बढी सुविधा सम्पन्न होटेल सञ्चालनमा छन ।शुक्लाफाँटा निकुञ्ज भ्रमणको लागि सार्कमुलुकका नागरिकका लागि सात सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ भने विदेशीका लागि एक हजार ५ पाँच सय र नेपालीका लागि एक सय रुपैयाँ प्रवेश शुल्क राखिएको छ । २०७३ साल फागुन ९ गते शुक्लाफाँटा वन्यजन्तु आरक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गरिएको हो । विसं २०१३ को गणना अनुसार वन्यजन्तु मात्रै नभइ दुर्लभ वनस्पतिको लागि पनि प्रसिद्ध ठाउँ हो शुक्लाफाँटा निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् । यस्तै २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतली, ८०–९० वटा निलगाई र चार सय २४ प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिम तित्रा, राजधेश र लेसर भूडिफोर जस्ता पछी पनि छन् । स्तनधारी वन्यजन्तुमा ५३ भन्दा बढी प्रजाती रहेका छन् । जसमा पाटेबाघ, एकसिङ्घे गँैडा, हात्ती बाह्रसिङ्गा, कृष्णसार, सालक, निलगाई, चितुवा चित्तल, लगुना, रतुवा, हिसपीड खरायो, बँदेल छन् । जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तल, जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन । रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी चार सय २४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । कसरी पुग्ने शुक्लाफाँटा ? काठमाडौँदेखि महेन्द्रनगर छ सय ९७ किमिको दुरीमा रहेको शुक्लाफाँटा सडक यातायातबाट करिब १६ घण्टाको यात्रपछि महेन्द्रनगर सदरमुकाम पुगिन्छ । महेन्द्रनगर सदरमुकामबाट सात किमिको दूरीमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेको छ । काठमाडौंंबाट धनगढीका लागि करिब एक घण्टाको हवाइ यात्रामा धनगढी विमानस्थल पुगेर शुक्लाफाँटा पुग्न सकिन्छ । त्यसैगरी विदेशी पर्यटकका लागि पश्चिमी सिमानाका गड्डाचौकीबाटसमेत सहज रुपमा महेन्द्रनगर पुग्न सकिन्छ । पश्चिमी सिमानाका गड्डाचौकीबाट आठ किलोमिटर यात्रा गरेपनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुगिन्छ । रासस