मुस्ताङमा पर्यटकले होटलहरू भरिए, व्यवसायी भन्छन् : बल्ल उत्साह थपियो

काठमाडौं ।  हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि भएको छ । मुस्ताङको मुक्तिनाथमा घुमघामको सिजन बढेसँगै मुक्तिनाथ मन्दिरमा दर्शन गर्न जाने धार्मिक पर्यटक तथा ट्रेकिङ गर्ने पर्यटकमा वृद्धि भएको मुक्तिनाथ विकास समितिले जनाएको हो । यतिबेला मुस्ताङ घुम्ने र मुक्तिनाथ मन्दिरमा दर्शन गर्ने सिजन लागेसँगै आन्तरिक तथा विदेशी पर्यटन आगमनमा वृद्धि भएको छ भने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरुमा भरिभराउ छन् । वर्षको दुई सिजन मात्रै व्यापार गर्न पाउने मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटल तथा अन्य व्यवसायीहरुमा सिजनको समयमा पर्यटक वृद्धि हुँदा उत्साहित भएका छन् । मुक्तिनाथ दर्शन गर्न जाने धार्मिक पर्यटक र ट्रेकिङ गर्ने पर्यटनको संख्या बढेसँगै मुस्ताङका होटलहरुमा विदेशी र आन्तरिक पर्यटनहरुको भीड देखिन थालेको मुस्ताङका स्थानीय व्यवसायीहरु बताउँछन् । सामान्यतया अवस्थाको तुलनामा दशैँ तिहारपछि मुस्ताङका होटलहरुको अकुपेन्सी दर ८० प्रतिशत भन्दामाथि पुगेको मुक्तिनाथ क्षेत्रका होटल व्यवसायीहरुले बताए । इरिक इन होटलका सञ्चालक सुजन तुलाचनले तिहारपछि मुक्तिनाथ दर्शन गर्न जाने आन्तरिक,भारतीय र अन्य विदेशी पर्यटनहरुले मुस्ताङ मुक्तिनाथ क्षेत्रका होटलहरु भरिएको बताए । ‘नेपाली र भारतीय पर्यटकले होटलहरु फुल अकुपेन्सी चलेको छ. सञ्चालक तुलाचनले दुई वर्ष कोभिडको मार र यो वर्ष दशैँपछि अविरल वर्षाको कारण बाटोको समस्याको कारण अफ्ट्यारो परेपनि तिहारपछि भने पर्यटनको आगमन बढेकाले थप उत्साह थपेको छ,’ उनले भने । त्यस्तै, मुस्ताङ मुक्तिनाथमा रहेको ग्राण्ड समवाला होटलका सञ्चालक सुरज गुरुङले पनि तिहारपछि मुस्ताङका सबै होटलहरुमा आन्तरिक, भारतीय र विदेशी पर्यटनहरुले कोठा भरिभराउ रहेको बताए । ‘मुस्ताङमा अक्टोबर र नोभेम्बर महिना ट्रेकिङ र मुक्तिनाथ दर्शनका लागि पर्यटक बढ्छ, गुरुङले विगतका वर्षहरुको भन्दा अहिलेको सिजनमा होटल व्यवसायीहरुको लागि सन्तोषजनक रहेको छ,’ उनले भने ।  उनले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा धार्मिक भारतीय र आन्तरिक तथा ट्रेकिङ पर्यटनको लागि स्थानीय तथा केन्द्रिय सरकारले बाटो सहज बनाउनसके सबैखाले पर्यटक भित्र्याउन सकिने बताएका छन् । मुस्ताङ भ्रमणका लागि अहिलेको समय सबैभन्दा उपयुक्त भएकाले पनि आन्तरिक पर्यटन बढेको देखिन्छ । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङमा पर्यटकीय सिजनसँगै स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बाक्लो छ । पर्यटकहरुको चहलपहल बढेअनुसार पछिल्लो समय मुस्ताङको मुक्तिनाथ क्षेत्रमा होटल तथा अन्य पर्यटन पूर्वाधारको विकास र विस्तार पनि बढ्दै गएको छ । मुस्ताङमा पर्यटन पूर्वाधार विकास र बिस्तार तिब्र रुपमा हुँदै जाँदा मुक्तिनाथ क्षेत्र हिन्दु र बौद्ध धर्मालम्बीहरुको धार्मिक तिर्थस्थल तथा ट्रेकिङ पर्यटकको लागि प्रमुख गन्तव्य बन्नसक्छ । मुस्ताङका प्रमुख पर्यटकिय गन्तव्यहरू मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, कोरोला नाका, मार्फा गाउँ, ठिनी, धुम्बा ताल लगायतमा पर्यटक बढेका छन् । मुस्ताङ देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । पछिल्लो समय नेपालका सबै पर्यटकिय क्षेत्रमा पर्यटक बढेसँगै १० महिनाको अवधिमा नेपालमा झण्डै ५ लाख विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल आएको बोर्डले जनाएको छ । अक्टोबर महिनामा कोरोना भाइरस महामारी शुरु भएयताकै सबैभन्दा बढी संख्यामा पर्यटक भित्रिएका छन् । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा मात्र ८८ हजार ५८२ जना पर्यटक नेपाल भित्रिएका छन् । सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल आएका थिए ।

धुलिखेल जिपलाइनमा अब विदेशीलाई पनि नेपाली सरह शुल्क

काठमाडौं । अब धुलिखेलमा जिपलाइनमा विदेशी पर्यटकलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने भएको छ । यसअघि नेपाली, सार्क देशका नागरिक र अन्य देशका नागरिक का लागि ३ प्रकारको छुट्टाछुट्टै शुल्क लाग्ने गरेकोमा अब विदेशीलाई पनि आन्तरिक पर्यटक सरह शुल्क लाग्ने निर्णय गरिएको धुलिखेल जिपलाइनका अध्यक्ष केदार थापाले बताए । नेपाली र अन्य सवै देशका नागरिकलाई समान आर्थिक व्यवहार गर्नका लागि यसो गरिएको धुलिखेल जिपलाइनका सिईओ भुपेश श्रेष्ठले बताए । यसअघि क्लासिक ९साधारण० जिपलाइनको नेपालीका लागि २५ सय, सार्क देशका नागरिकका लागि ३० डलर र अन्य देशका नागरिकलाई ३५ डलर राखिएको थियो । यस्तै सुपरम्यान जिपलाइनको नेपालीका लागि ३ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकका लागि ४० डलर र अन्य देशका नागरिक ३५ डलर थियो । यसैगरी टेन्डम ९जोडी० जिपलाइनका लागि नेपालीलाई ४ हजार ५ सय रुपैयाँ, सार्क देशका नागरिकलाई ५० डलर र अन्य देशका नागरिकः ६० डलर तोकिएको थियो । कम्पनीको यो निर्णयसँगै अब सबै देशका नागरिकले क्लासिक २५ सय, सुपरम्यान ३५ सय र टेन्डम जिपलाइन ४ हजार ५ सयमा खेल्न पाउने भएका छन् ।

तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक पर्यटकको दैनिक भीड लाग्न थालेको छ । बिदाका दिन होस् या अन्य दिन जीपलाइनको मज्जा लिन विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल पनि परिवारसहित उक्त स्थानमा पुगे । आफूलाई यस्ता साहसिक खेलप्रति रुचि भएकोले बिदाको समय मिलाएर खेलको मनोरञ्जन लिन आएको उनले बताए । यसअघि प्याराग्लाइडिङ गरिसकेको बताउँदै प्रजिअ अर्यालले सहजै खेलमा भाग लिई मनोरञ्जन लिएपछि भने,’सुरक्षित तरिकाले बनाइएकोले खासै डराउनुपर्दैन् । यस्ता खेलले जिल्लाको पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्छ ।’ त्यसैगरी गोरखादेखि आएकी सुविना भण्डारीले जीपलाइनको यात्रा मनोरञ्जन हुने भएकोले दोस्रो पटक खेलमा सहभागी हुन आएको बताए । पहिलो पटक चितवनमा रहेको जीपलाइनमा सहभागी भए पनि त्यहाँको भन्दा यहाँको लामो भएकोले थप अनुभव लिन आएको उनले बताए । यही कात्तिक ३ गतेदेखि जीपलाइन सञ्चालनमा ल्याइएको सञ्चालक विवेक सापकोटाको भनाइ थियो । भारतको दिल्लीस्थित द एड्भेन्चर प्लान्टले  एक करोड दश लाखको लागतमा ठेक्का सम्झौता गरी उक्त जीपलाइन निर्माण गरेको हो । उनले भने,’करिब पाँच महिनाको अवधिमा सबै जडान कार्य सम्पन्न भ्एपछि जीपलाइन सञ्चालनमा ल्याइएको हो ।’ जीपलाइन सञ्चालन भएदेखि हालसम्म दुईसय पचास जना साहसिक खेलमा सहभागी भइसकेको सञ्चालक साप्कोटाले बताए । जीपलाइनमा एक हजार पाँच सय रुपैयाँ शुल्कमा खाजासेट र अन्य रमणीय दृश्यवलोकनसमेत हेर्न पाइने गरी व्यवस्था मिलाइएको छ । एक पटकमा एकै पटक दुई जनासम्मले खेलमा सहभागी हुन सक्ने छन् । सुरु स्टेशनबाट मादी नदीका साथै रमणीय डाँडा, फाँटको मनोरञ्जन लिँदै ल्याण्ड स्टेशन करिब ४५ सेकेण्डमा पार गर्न सकिन्छ । ल्याण्ड स्टेशनबाट पैदलमा करिब पाँच/सात मिनेटमा पुनः वारिको स्टेशनमा आउन सकिन्छ ।