सोनाम लामाको करोडौं लगानीमा मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै
काठमाडाैं । मुस्ताङमा रहेको प्रसिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ । तयार भएको गौतम बुद्धको मूर्ति र रिसोर्टको राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी शुक्रबार उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । त्यस्तै, नयाँ बन्ने विष्णु भगवानको मूर्ति निर्माणको शिलान्यास पनि राष्ट्रपति भण्डारीले सोही दिन नै गर्ने कार्यक्रम तय भएको लामाले जानकारी दिए । मुक्तिनाथ भगवान् विष्णुको जन्मस्थान रहेको भनाई छ । स्कन्द पुराणमा उल्लेख भए अनुसार करिव ८ सय वर्ष पहिले यहाँ साधुहरुले मन्दिर स्थापना गरेका थिए । हिन्दु र बौद्धमार्गीको साझा तिर्थस्तल रहेको मुक्तिनाथ क्षेत्रमा विभिन्न गुम्बाहरु पनि छन् । मुक्तिनाथ क्षेत्रको समुचित विकासका लागि तय गरिएको गुरु योजनाको एक अंशका रुपमा ३५ फिट अग्लो पत्थरको मूर्ति बनाइएको हो । पाटन औद्योगिक क्षेत्रमा तयार गरिएको मूर्ति मुक्तिनाथमा स्थापना गरिएको लामाले बताए । मूर्ति आसपास क्षेत्रमा ध्यान योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुने गरी पार्क तथा अन्य संरचना पनि बनाइएको लामाले बताए । पाँच स्तुप र ११ ढुंगेधारा पनि त्यहाँ बनेका छन् । ‘पाहुनालाई बुद्धमूर्ति आराधनाका लागि मात्र होइन ध्यान योग दृश्यावलोकनको स्वर्गीय आनन्द अनुभूत गर्ने गरी यो संरचना तयार गरेका हौ,’ लामाले भने । सन् २०१३ देखि यो परियोजनामा जुटेका लामाले आफ्ना श्रीमती र छोरा छोरी समेतको करिब ६ करोड रुपैयाँ लगानीमा पूर्वाधार निर्माण गरको बताए । मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवामा यी संरचना बनेका छन् । समुद्र सतहबाट करिव ३ हजार सात सय मिटरको उचाँइमा बनेका संरचना आसपासबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुष्यावलोकन गर्न सकिन्छ । भगवान विष्णुको मूर्ति निर्माण हुँदै गुरुयोजना अनुरुप भगवान विष्णुको पनि ढुंगाकै ठूलो मूर्ति बनाउन लागिएको छ । यो मूर्ति स्थापनाका लागि गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले पनि ५० लाख रुपैयाँ सहायता गर्ने लामाले जानकारी दिए । ३५ फिट अग्लो विष्णु मूर्ति र सम्बन्धित अन्य संरचना निर्माणका लागि करिव ९ करोड रुपैयाँ लाग्ने आँकलन उनको छ । विष्णु्को मूर्ति पनि पाटन औद्योगिक क्षेत्रमै निर्माण गरी त्यहाँ पु¥याइने लामाले जानकारी दिए । यो परियोजनाका लागि भने गैर आवासीय नेपाली लगायत अन्य दाताको सहायता पनि स्वीकार गरिने उनले बताए । पर्यटकलाई सुविधासम्पन्न बुटिक होटल सामाजिक सेवाको दुई परियोजना बाहेक मुक्तिनाथ क्षेत्रको विकासका लागि सोनामले धार्मिक तथा अन्य पर्यटक समेतलाई लक्षित गरी सुविधा सम्पन्न ‘लो मुस्ताङ हिमालय रिसोर्ट’ पनि निर्माण गरेका छन् । ‘कालिगण्डकी करिडोरमा सडक तथा अन्य पूर्वाधार पुगेसँगै पर्यटक आगमन पनि बढ्दो छ । तर स्तरीय र होटल संरचनाको अभाव रहेकाले त्यहाँ स्तरीय होटल बनाइएको हो,’ लामाले भने । बुटिक अवधारणामा बनेको होटल करिब १ सय रोपनी क्षेत्रफलमा फैलिएकाे छ । चारै दिशामा हिमाल अवलोकन गर्न सकिने रानीपौवा हाइटमा रहेको होटल क्षेत्रमै करिब ५ सय बोटको स्याउ फार्म पनि छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहे जस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना स्पा देखि घोडा चढी सुविधा उपलब्ध हुने लामाले जानकारी दिए । मुक्तिनाथ नजिकैको गाउँ थुराङमा जन्मिएका लामाले आफ्नै मातृभूमिको विकासका लागि पूर्वाधार थप्न लागि परेको बताए । स्थानीय समुदायसँग भाडामा जग्गा लिएर रिसोर्ट निर्माण गरिएको बताउँदै लामाले निश्चित अवधिपछि उक्त रिसोर्ट समुदायलाई नै हस्तान्तरण गरिने जानकारी दिए । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १ सय बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी भईरहेको लामाले जानकारी दिए । ‘आफ्नै जन्मथलोको पर्यटकीय क्षमताको सदुपयोगमार्फत स्थानीय रोजगारी आयआर्जन हुँदै पर्यटनको राष्ट्रिय परिदृश्यमै सकारात्मक योगदान पुगोस भन्ने हेतुले मुस्ताङलाई अझै उझिल्याउने प्रयासमा म लागेको छु,’ उनले भने ।
हिमालयन एयरलाइन्सले कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पायो भने गौतमबुद्धमा जान तयार छ : उपाध्यक्ष श्रेष्ठ
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सातामा कम्तिमा ३ वटा अन्तर्राष्ट्रिय फ्लाईट गर्ने वायुसेवा सञ्चालकहरुलाई एउटा फ्लाइट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न भनेको छ । प्राधिकरणको यो निर्णयले काठमाडौं उडान भर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमाल एयरलाइन्ससहित पाँच विमान कम्पनीले भैरहवामा अनिवार्य उडान गर्नु पर्ने भएको छ । हिमालयन एयरलाइन्सले आफुले कमर्सियल ह्यान्डलिङ गर्न पाएमा तत्काल गौतमबुद्ध विमानस्थलबाट उडान गर्न सक्ने जनाएको छ । एयरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष बिजय श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि प्राधिकरणले पछिल्लो समयमा चालेको कदमलाई ‘कफी खान चाहेकालाई जर्बजस्ती चिया खुवाउन’ खोजेको बताए । ‘विमानस्थल भनेको सेवा बिक्री गर्ने उद्योग हो र एयरलाइन्स भनेको सेवाको क्रेता हो’, उनले भने, ‘हामी कहिँ गएर कफी खान गयौं भने कफी खाने मान्छेलाई कफी नभएको अवस्थामा चिया खाने हो भनेर सोध्न मिल्यो तर कफी भएको अवस्थामा कफी नै खान पाउन पर्यो नी’, उनले भने । यात्री र एयरलाइन्सको रोजाई अन्य विमानस्थल भन्दा त्रिभुवन बिमानस्थल भएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । कतिपय मुलुकका एउटै सहरमा पनि धेरै विमानस्थल हुने गरेको र त्यस्तो ठाउँमा यात्रुहरुको रोजाइका आधारमा एयरलाइन्सहरुले उडान भर्ने गरेको उनी बताउँछन् । पहिलो विमानस्थल पछि यात्रुको दोस्रो विमानस्थल रोजाई नेपालको सन्दर्भमा बनिनसकेको उनको भनाइ छ । गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारणले त्यसलाई सञ्चालन गर्नको लागि सबै क्षेत्रको दायित्व भएको उनी बताउँछन् । हिमालयनको तर्फबाट सो विषयमा अध्ययन भइरहको उनले बताए । ‘हाम्रो आशय त्यहाँबाट फ्लाइट गर्नुपर्छ भन्ने हो, हाम्रो तयारी पुगेको छैन’, उनले भने, ‘प्राविधिक, यात्रु, व्यवसायिक, सञ्चालन सम्बन्धी, लगायत कुनै पनि ठाउँमा विमान सञ्चालको लागि आवश्यक सम्पूर्ण पक्षको तयारी हामीले गर्नैपर्छ ।’ तर, यात्रु भएन भने त्यहाँबाट नियमित फ्लाइट हुन नसक्ने उनी बताउँछन् । ‘यात्रु भएन भने ग्राहक नभएको ठाउँमा पसल खोल्ने कुरा त भएन नी’, श्रेष्ठले भने । हिमालयन एयरलाइन्स सरकारबाट अन्यायमा परेको एयरलाइन्स भएको भन्दै उनले कानूनअनुसार त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्डिङको अधिकार पाएर पनि कार्यान्वयन गर्न नपाएको बताए । ‘हामीले सेल्फ ग्राउन्ड ह्यान्डलिङ गर्ने नेपाल सरकारको ऐन्, नियमावली र कार्यविधि अनुसार सम्पूर्ण पालना गर्नुपर्ने शर्तहरु पालना गरेर लाइसेन्स पाइसकेपछि पनि काम गर्न नपाएको स्थिति छ’, उनले भने, ‘नयाँ विमानस्थलमा जाने कुरामा कमर्सियल ग्राउन्ड ह्यान्डलिङ पनि हामीले गर्न पाउनुपर्छ भन्ने हाम्रो विषय छ ।’ सो कुरा हिमालयनले क्यानलाई स्पष्ट रुपमा राखिसकेको उपाध्यक्ष श्रेष्ठले बताए । ग्राउन्ड ह्यान्डलिङ तर्फ संकेत गर्दै उपाध्यक्ष श्रेष्ठले आफूहरुले सरकारसँग कुनै सहुलियत मागेको नभएर नेपालको कानूनले दिएको अधिकार अनुसार माग गरेको बताए । ‘कानूनले दिएको अधिकार, नेपालको ऐन, वैदेशिक लगानी, वैदेशिक लगानी नियमावली लगायत सबैले नेपालमा काम गर्नेलाई कुनैपनि भेदभाव गरिने छैन भनेर लेखेको छ, सोही अनुसार लगानी भएको छ’, उनले भने, ‘हामीले ग्राउन्ड ह्यान्डलिङ पाउनुपर्यो, त्यसपछि गौतमुद्ध विमानस्थलमा कर्मसियल ग्राउन्ड ह्यान्डलिङ हामीले पाउनपर्यो ।’ गौतमबुद्ध विमानस्थलबाट फ्लाइट गर्ने सन्दर्भमा हिमालयन सकारात्मक भएको बताउँदै उपाध्यक्ष श्रेष्ठले क्यानले भनेको कुरा स्वभाविक भएको तर आफ्नो विषय पनि आफूहरुले राख्न पाउनुपर्ने बताए । ‘पसल राख्न गयो तर ग्राहक आएन भने त पसल नै उठाएर हिँड्नुपर्छ नी, पसल त चल्दैन’, उनले भने । विमानस्थल भनेको सेवा उद्योग र दीर्घकालीन भएकाले यस्तो क्षेत्र सञ्चालन हुनको लागि लामो समय लाग्ने उनको भनाइ छ ।
मुक्तिनाथ मन्दिरमा डिजिटल दानपत्र !
काठमाडौं । मन्दिर परिसरमा चन्दाका लागि चन्दा वाकस राखेको धेरैले देखेको होला तर आधुनिकतासँंगै चन्दा बाकससँंगै डिजिटल दानपत्र पनि देख्न थालिएको छ । देशकै प्रख्यात मुक्तिनाथ मन्दिर यस्तो डिजिटल दानपत्र राखेको देखिएको हो । मन्दिर पुगेका इच्छुक भक्तालुहरुले डिजिटल प्रविधिबाट सोही साधनबाट दान दिने कार्य गरिन्छ । आफूलाई इच्छाए अनुसार डिजिटल प्रविधिबाट त्यहाँं दान दिन सक्ने व्यवस्था गरिएको छ । रा जधानीबाट दर्शनका लागि मन्दिर पुगेका इन्जिनियर कृष्णभक्त दुवालले डिजिटल दानपत्रमार्फत पहिलो पटक दान गर्न पाउँंदा रमाइलो अनुभव भएको सुनाए । ‘फर्ष्ट टाइम डिजिटल दानपत्रबाट दान गर्न पाउँंदा अनौठो र खुशी महशुस भयो,’ उनले भने । आधुनिकतासँंगै आधुनिक प्रविधिको प्रयोग हुन थालेकोमा उनले हर्ष प्रकट गरे । भ्रमण टोलीमा सहभागी युवा बैंकर प्रदीप सुवेदीले डिजिटल प्रविधिको प्रयोगलाई हरेक क्षेत्रमा बढावा दिनुपर्ने बताए । यसो हुनसके मात्रै समयसँंगै मानिसले सेवासुविधा पनि पाउनसक्ने उनको भनाई छ । नीलगिरि हिमाल, मुक्तिनाथ हिमाल र दामोदर हिमालको काखमा अवस्थित मुक्तिनाथ मन्दिर प्राकृतिक हिसाबले एकदमै सुन्दर र मनमोहक छ । समुन्द्र सतहबाट तीन हजार सात सय १० मिटरको उचाईमा रहेको यो मन्दिर धार्मिक एवम् ऐतिहसिक हिसाबले पनि उति नै विशेष ठाउँ हो । हिन्दूहरूका लागि भगवान विष्णुका १०८ दिव्योपदेशहरुमध्ये १ मुक्तिनारायण मन्दिर तथा बौद्ध धर्मावलम्बीहरूको लागि २४ तान्त्रिक ठाउँहरूमध्येको १ झ्युमिग–ग्यात्शा दुवै एकैठाउँमा भएको हिन्दू तथा बौद्ध समुदायमा एकदमै प्रख्यात तीर्थस्थल हो मुक्तिनाथ । हिमालपारिको जिल्ला मुस्ताङको प्राकृतिक सुन्दरता र मुक्तिनाथको धार्मिक महत्वले गर्दा त्यहाँसम्मको यात्राले मन लोभ्याउने गर्दछ ।