पर्यटकको रोजाइ बन्दै लमजुङको अक्टोपस र बुङ झरना

लमजुङ । बेँसीसहर–चामे सडकमै सङ्लो पानी झर्झर् गर्दै झरिरहेको छहरा छ । एक सय मिटरभन्दा बढी उचाइबाट झरेको पानी सडकमै खस्छ । छहरामा लहराउँदै झरेको पानीमा सूर्यको प्रकाशसँगै देखिने इन्द्रेणीले झनै सुन्दरता थपिदिन्छ । मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको त्यही सुन्दर अत्यन्त मनमोहक अक्टोपसको खुट्टा झैँ झरेको अक्टोपस झरना पनि हो । वर्षायामका कारण सुनसान रहेको विश्व चर्चित चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने यस झरनामा यतिबेला पर्यटकको भीडभाड हुन थालेको छ । यहाँ यतिबेला दैनिक सयदेखि दुई सयजनासम्म आन्तरिक तथा विदेशी पर्यटक आउन थालेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘पदमार्गमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएसँगै झरनामा आउने पर्यटक आगमनमा पनि वृद्धि हुन थालेको छ ।’ यतिबेला चुनावले अधिकांशको ध्यान केन्द्रित गरिरहे पनि पर्यटकलाई भने सो लगायतका झरनाले ध्यान केन्द्रित गर्दै लोभ्याइरहेको उनको भनाइ छ । सवारीसाधनमा मनाङ गएका पर्यटकसमेत त्यहाँ पुगेपछि एकै छिन भए पनि सवारी रोकेर झरनामा रमाउने गर्दछन् । छहराले त्यहाँ पुग्ने जो कसैलाई सहजै लोभ्याउँछ । छहरा हेर्दै फुरुङ्ग बनेका पर्यटक कोही धमाधम छहराको फोटो खिच्छन्, त कोही छहरालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् । पहिलोदेखि तेस्रो लहरको कोरोना सङ्क्रमणका कारण लामो समय सुनसान भएर उक्त सङ्क्रमण जोखिम कम भएसँगै दैनिक पर्यटकको सङ्ख्या बढ्न थालेकोे छ । यस झरनामा विशेषगरी अन्नपूर्ण पदमार्गमा आउने बाह्य पर्यटक तथा मनाङ घुम्न जाने आन्तरिक पर्यटक झरनामा आउने गरेको स्थानीय सरोज विश्वकर्माले बताए । उनी मात्र नभई उक्त झरनामा पुग्ने अधिकांश पर्यटकको भनाइ उस्तै हुन्छ । यो झरना बेँसीसहर–चामे सडकको बीच भागमै झर्ने भएकाले सवारी मोटरसाइकलमा जाने यात्रु तथा पर्यटकलाई त रुझाउने गर्दछ । यो झरनाको तस्बिर खिचेर सामाजिक सञ्जालमा अधिकांश पर्यटकले हाल्ने गरेको स्थानीयको भनाइ छ । केही समयसम्म सवारीसाधनमा मनाङ आवतजावत गर्नेमध्ये केही यात्रु दैनिक १०/१२ जना मात्र झरनामा रमाउने गरे पनि यतिबेला पर्यटक ह्वात्तै बढेकोे स्थानीयको भनाइ छ । यसरी पर्यटक आगमन हुँदा पर्यटन व्यवसायसमेत फस्टाउने यहाँका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताए । उनले भने, ‘पर्यटक लोभ्याउने यस्ता झरनाको थप प्रचारप्रसारका साथै व्यवस्थित गर्न सके बाह्रै महिना पर्यटकको आगमन हुने र व्यवसायसमेत राम्रो चल्नेछ ।’ त्यस्तै अन्नपूर्ण पदमार्ग नजिकै पर्ने सोही वडास्थित बुङ झरनामा समेत यतिबेला पर्यटकमा वृद्धि हुन थालेको छ । केही समयसम्म सुनसान रहेको यस झरनामा यतिबेला ८० देखि एक सयजनासम्म दैनिक पर्यटक आउने गरेका बताइन्छ । सदरमुकाम बेँसीसहरबाट ३२ किलोमिटर दूरीमा पर्ने यस छहराले पर्यटकको मन तान्न थालेको छ । तारे भिरमा छङछङ गर्दै झरेको छहरालाई पृष्ठभूमि पार्दै तस्बिर लिने, सेल्फी खिच्नेको भीडभाड हुनेगरेको स्थानीय पूर्णबहादुर गुरुङको भनाइ छ । रासस

८७ करोड लागतमा पर्यटकीयस्थल नमोबुद्धको गुरुयोजना तयार

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीयस्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड रुपैयाँ लागतको विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसीटिभी क्यामेरासमेत जडान गरिएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिए । डिपीआरअनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको लामाले बताए । लामाका अनुसार ‘नमोबुद्ध भगवान घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ । जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती बेहोर्दै आएकाले यसप्रति विशेष ध्यान दिइएको लामाले बताए । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिम शृखङ्ला देख्न सकिन्छ । बौद्ध धर्मवालम्बीले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । यस्तै ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध नगरपालिकाको ११ वडास्थित आफ्नो क्षेत्रको नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्न नगरले यसअघि जनप्रतिनिधिलाई आग्रह गर्दै आएको थियो । नगरले सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटेको छ । साथै नगरले युनेस्कोका नेपालस्थित प्रतिनिधिलाई औपचारिकरुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको छ । सूचीकृतका लागि प्रदेशस्तरबाटसमेत पहल भएको र सूचीकृतका लागि प्रशासनिक काम अघि बढिसकेको जनाइएको छ । हाल उक्त स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत रहेको छ ।

नेपाल–हंगेरी सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न

काठमाडौं । नेपाल हंगेरी चेम्बर अफ कमर्सको आयोजनामा भएको नेपाल–हंगेरी ऐतिहासिक सांस्कृतिक कार्यक्रम भव्यताको साथ काठमाडौंमा सम्पन्न भएको छ। अन्तरदेशीय कला संस्कृति आदानप्रदान तथा कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल–हंगेरी सांस्कृतिक आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो। बरिष्ठ चलचित्रकर्मी तथा नेपाल हंगेरी चेम्बर अफ कमर्सका संस्थापक अध्यक्ष कृष्ण मल्लको सभापतित्वमा तथा हंगेरी कन्सुलर जनरल तथा उधोगपति अरुण कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिसेष अतिथिहरु हंगेरी राजदुताबास बाट मरियन यार्दो, चलचित्र द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, समाजसेवी लायन महेन्द्र पौडेल, समाजसेवी अर्जुन खड्का, गीतकार चलचित्र निर्माता अनु शाह, कलाकार देबी थापा ओली, नेपाल हंगेरी चेम्बर अफ कमर्सका उपाध्यक्ष टंक नाथ पौडेल, महासचिब शान्त कुमार श्रेष्ठ, कोषाध्यक्ष राजेन्द्र कुमार बिसुराल, सदस्यहरु चेत बहादुर सिंह, सुमन महर्जन, अम्बर बहादुर रायमाझी, काजि बहादुर श्रेष्ठ, दुर्गा बिसुराल, प्रतिक्षा पोखरेल, संदिपा थापा, नरेन्द्र कुमार मूल र सुरेश डंगोल लगायत अन्य बिशिष्ठ व्यक्तित्व, पत्रकार तथा दर्शकहरुको बाक्लो उपस्थित रहेको थियो। मौलिक कला संस्कृति आदानप्रदान कार्यक्रमले गर्दा दुइ देशीय अन्तर सम्बन्धलाइ प्रगाड बनाउने कुरा बक्ताहरुले कार्यक्रममा राखेका थिए भने नेपालमा संस्कृतिक कार्यक्रम गर्न पाउँदा हंगेरियन कलाकारहरुले खुशी ब्यक्त समेत गरेका थिए । लगातार १ घण्टा लामो प्रस्तुति दिएका हंगेरियन कलाकारहरुले उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए। उक्त कार्यक्रममा नेपालका कलाकारहरुले नेवारी तथा गुरुङ नृत्य प्रस्तुत गरेका थिए। आगामी दिनहरुमा दुइ देश बीच यस्तै मौलिक कला संस्कृतिलाइ प्रोत्साहन गर्दै अघि बढ्ने तथा दुइ देश बीचको ब्यापार प्रबर्धनलाइ अझ सुदृड बनाउने र पर्यटनलाइ समेत टेवा पुग्ने कुरा नेपाल हंगेरी चेम्बर अफ कमर्सका महासचिब शान्त कुमार श्रेष्ठले बताएका थिए।